पत्रकारको योग्यताको सवाल
केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभावबारे महाभारत नै उल्लेख थियो ।
त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको व्यापकता र औषधी व्यवसायिकता माथि मिडियाहरुले भूईपाताल पसेर केस्राकेस्रा केलाए । त्यसबेला पाइलट, इन्जिनियर, शिक्षक, लगायत थुप्रै पेसाहरुको व्यक्तित्व माथि योग्यताको बहस नेपाली मिडियाले खुलेरै चलाए ।
तर यहाँ अचम्म लाग्दो भ्रमीत तस्विर देख्छु । जुन मिडिया र तिनका प्रतिनीधिहरुले यावत पेशाहरुको योग्यता र अवैधानिकता माथि प्रश्नहरुको पहाड खडा गर्छन् तिनै प्रतिनीधिहरुको चाहीँ योग्यताको चियागफसम्म कहिल्यै सुनिन्न ।
दश कक्षामा पढ्दा पहिलो चोटि पत्रकारिता र पत्रकार के हो भन्ने साक्षात्कार गर्ने भाग्य जुरेको थियो । त्यसबेलासम्म मलाई लाग्थ्यो समाचार बन्न आकाश नै खस्नु पर्छ होला, खोलामा बाढी आएर गाउँ नै बगेको हुनुपर्छ होला वा कुकुरले मान्छे जन्माउनु पर्छ होला । तर पत्रकार दाईहरुको पुच्छर समात्दै हिड्दा थाहा पाए पत्रकारिता र समाचारको दायरा चार पाँचवटा पृथ्वी भन्दा पनि निकै भिमकाय रहेछ । र सगँसगैँ त्यसैबेला बुझेँ देशको चौथो अगं भनेकै संचार माध्यम रहेछ ।
एउटा डाक्टरले एकपल्टमा सायद एकजना मात्रै विरामीको जीवन दाउँमा लगाएको हुन्छ । एक पाइलटसगँ एक उडान भर्दा सायद एक जहाज यात्रुहरुको मात्रै ज्यानको चुनौती रहन्छ । सर्टिफिकेट नभएको एक कथित शिक्षकले सायद एक ब्याच मात्रै विध्यार्थिहरुको भविष्य माथि खेलवाड गर्छ। तर एकपल्ट सोचौँ त चौथो अगं कहलिएको संचार माध्यमका पत्रकारले गलत समाचार सम्प्रेषन गर्दा कयौँलाई कति कालखण्डसम्म राम्रो र नराम्रो असर पर्न जान्छ ।
गाँस, वाँस र कपास पछि वर्तमान समयमा मान्छेको अत्यन्तै आधारभुत आवश्यक्ता संचार माध्यम हो । सन्चार माध्यमले पस्केका खुराकले हामी आआफ्नो मस्तिष्क तृप्ति गर्ने पर्यत्न गर्छौँ । राम्रो खबरको वाही वाही गर्छौँ । नराम्रो खबरबाट खिन्न पर्छौँ ।
समाचारमा मन नपरेको विषयमा खेदो गरेको भेटियो भने हाम्रो मन सन्तुष्ट हुन्छ । मन परेको क्षेत्रको नराम्रो पक्ष मन्थन गरेको पाइयो भने हामी गालीगलौजको ओइरो खन्न थाल्छौँ । समग्रमा बिहानीको चियाको चुस्कीबाट सुरु भएको समाचारको प्रभाव साझँको ठर्रामा समेत मिसिएर हाम्रो मन(मथिङगललाई हल्लाई रहेको हुन्छ ।
गुदी कुरो भन्नुपर्दा संचार माध्यममा प्रकाशित सबै खाले सामाग्रीहरुमा हामी जस्ता अवोध पाठकहरुले समाजको आकृति खोज्ने कोशिस गर्छौँ । अर्को पाटोमा हाम्रो जस्तो देश जहाँ नेताहरुलाई विश्वास नै गर्दैनौ त्यस्तो अवस्थामा देशको परिस्थिति, समाजको बेथिति र गाउँघरको रीतीतिथि बुझ्न संचार माध्यममालाई भरपुर विश्वास गर्छौ ।
यस्तो सवेंदनशील फाँटमा काम गर्ने आम पत्रकारहरुको शैक्षिक योग्यता, क्षमता, र कार्य गहनता प्रति किन कसैले आवाज उठाउदैनन् । म एउटा सानो दिर्घाको मान्छेले अन्डर एसएलसी र एसएलसी मात्रै शैक्षिक योग्यता भएका थुप्रै पत्रकारहरु चिनेको छु, देखेको छु । उहाँहरु सम्प्रेषित गर्नु भएको सूचनाहरुको गहनता कुन हदसम्मको होला ? के पत्रकार हुन योग्यता नै नचाहिने हो र ? साधारण लेखपढ गर्न आउने र राम्रो सम्पर्क सुत्र हुदैमा सबै व्यक्ति पत्रकार बन्ने ल्याकत राख्छन् र ?
मैले बुझे अनुसार सम्पादकका हकमा मात्रै स्नातक तहको शैक्षिक योग्यताको चर्चा प्रेसका दफाहरुमा वर्णित रहेको छ । तर सम्पादकका पोल्टामा सूचना थिग्रियाउने व्यक्तिको शैक्षिक योग्यताको कुनै मापदण्ड शिलालेख भएको छैन । वास्तवमा पत्रकार बन्न कस्तो योग्यता चाहिने कुरोको स्वयम पत्रकारहरु नै रनभुल्लमा देखिन्छन् ।
हावादारी पत्रकारिताको उपजले जिउदै रहेका अम्बर गुरुङको हताहतार मृत्यु घोषणा भयो । अव्यवस्थित सन्चार जालोको प्रतिफलले तरकारीवाली जन्मिईन् । र अहिले आएर त्रुटीयुक्त एकोहोरो पत्रकारिताको नमूना बन्न पुगेको छ ( कन्चन रेग्मी (सुमन भाइ ह्यास ट्याग) ।
व्यवसायिक पत्रकारितामा देखिएको अस्वस्थ प्रतिस्पर्धाले सबै पत्रकारहरुलाई आफ्नो संचार गृहको उन्नतीको मात्रै ध्याउन्न छ । समाचारको छनौट पक्ष ओझेल पर्दै गईरहेका छन् । उहाँहरुलाई लाग्छ अहिले समाचारको खडेरी छ । त्यहिभएर उहाँहरु अनावश्यक अर्थहिन सामग्री प्रशारण र प्रकाशन गरेर वेमौसमी बाजा बजाउन व्यस्त हुनुन्छ ।
के नकरात्मक कुरो मात्रै समाचारका विषय बन्न सक्छन् ? महिला हिशां, उत्पिडन, घरेलु हिशां, भ्रष्टचार, तरकारीवाली, कन्चन रेग्मी, बलत्कार, हत्या बाहेक पनि थुप्रै विषय(वस्तु छैनन् र?
म सगँ एउता अर्को तितो अनुभव पनि छ । नकरात्मक समाचार रिपोर्टीङ गर्न पत्रकारहरुलाई कुनै निम्तो दिनुपर्दैन । तर यदि समाजमा केहि सकरात्मक काम गर्दै हुनुन्छ र उक्त कार्यको रिपोर्टीङ निम्ति पत्रकारलाई बोलाउनु पर्दा आदार पूर्वक निम्तो पठाउनु पर्छ । निम्तो मात्रै होइन, कार्यक्रमको आर्थिक हैसियत हेरेर चिया खर्च पनि कुईनाको चेपमा सुटुक्क टसाइदिनु पर्छ ।
दुई वर्ष अगाडी दाङको फुलवारी र दुरुवा गाविसमा बाढिपिडितहरुलाई जाडोयाममा सिरक डसना बाड्न जादाँ हामीले स्थानिय पत्रकारहरुलाई गुहारेका थियौँ । कार्यक्रम राम्रै भयो । भावविभोर हुदै पिडितहरुलाई सिरक डसना बाड्यौँ । तर अन्त्यमा पत्रकार समुहलाई रिपोर्टिङका निम्ति आईदिए वापत चिया खर्च टक्रयाउनु पर्दा टर्रो अनुभव रह्यो । वास्तवमा हामी सिरक डसना बाड्न त्यसबेला कुनै सघंसंस्थाको डोनेशनमा गएका थिएनौ । साथीभाइको खल्तीको रकम बटुलेर आफ्नै खर्चमा सिरक डसना बाडेका थियौँ ।
एउटा कुरा ठोकुवा गरेर भन्न सक्छु यदि नेपाली पत्रकारहरुले पश्चिममा कर्णाली, तराईमा सिराहा(सप्तरी र पूर्वमा ताप्लेजुङ(ओलाङचुङ्गोला गएर तीन महिना मात्रै खोज पत्रकारिता गर्ने हो भने उहाँहरुले तीन दशकलाई पुग्ने प्रकाशन योग्य खुराक भेट्न सक्नुहुन्छ । अनि काठमाण्डौँमा बसेर हुम्लाको समाचार सम्प्रेशण गर्ने परिपाटी मात्रै हटाउने हो भने पनि कुवाको भ्यागुता झैँ झर्को ट्वारट्वार युक्त समाचारहरु आउने बाटो सदाको लागि अन्त्य हुने थियो ।
सुमन खरेल सर जस्तो परिपक्कव अनुभवी योग्य पत्रकारबाट त कन्चन रेग्मीका सन्दर्भमा केही त्रुटी हुन गयो । आफैँ सोचौ कुनै शैक्षिक मापदण्ड बेगर नै पत्रकारिताको ख्यागु कहलिएका व्यक्तिबाट दिनहु कति दिग्भ्रमित सूचना सम्प्रेषण हुदो हो ।
सबै पत्रकारज्युहरुलाई मेरो विनम्र अनुरोध छ ( आफ्नो आङ्गको भैसीँ नदेख्ने अर्काको आङ्गको जुम्रा देख्नेू घडी नजन्माउनु होस । तपाईहरुको पनि कमिकमजोरी चुलिदै गएको छ । तपाईहरुको आफ्नो पत्रकारिता अरु माथि लाद्नु पूर्व आफैँ माथि एकपल्ट लाद्ने समय आएको छ । अर्थात आफ्नै कार्य क्षेत्रको पहिला अनुसन्धान गर्नुहोस । अनि मात्रै निर्धक्क तपाईहरु अर्काको खोज पत्रकारिता गर्न सक्नुहुन्छ ।
हाम्रो समाजमा एउटा सि.एम.ए. ले सिटामोल बेच्दा पत्रकारले भेउ पायो भने त्यस व्यक्तिको निद् हराम गर्छ । तर त्यहि समाजमा मास कम्युनिकेशनको सट्टा बिबिएस पढेको व्यक्तिवाट सम्प्रेशित समाचारमा हामी मन्त्रमुग्ध हुन्छौँ । के पत्रकारको चाहिँ कुनै शैक्षिक दायरा नै छैन र ?
यदि यहि बेथिति कायम रहदै गयो भने छिटै नै प्रत्येक घरमा एक न एक जना पत्रकार भेटिने छ । जो कोही जन्मदै पत्रकारको स्वाद चाख्ने छ । मनमनै पत्रकारिताको लड्डु घ्युको सट्टा विर्यसगँ मुछेर खाने परम्परा बस्ने छ ।
[email protected]