काठमाण्डु
कविता/
हरेक दिन
मुर्दा धानहरु रोपेर
सर्बप्रथम
म नक्कली टाईसुट लगाउँछु,
र तयार हुन्छु-
एउटा सदाबहार
नाटकको अभिनयका निम्ति!
म रोईरहेको हुन्छु-
तिमी मुस्काईरहेको हुन्छौ,
म टुक्रा-टुक्रामा च्यातिएको हुन्छु-
तिमी झन् झन् मजबुत् हुन थाल्छौ,
मेरो मुटुलाई
म मायाले स्पर्श गर्छु,
बिस्तारै लुगा फुकाल्छु,
खुट्टाले थिचिएको खिया लागेको कत्ति निकाल्छु,
अनि बेप्रवाह प्रहार गर्छु छातिमा;
र कवाडीमुल्यमा बेचिदिन्छु-तात्तातो वाफिलो मुटु!
मेरो छातिमा
पुराना चप्पलहरु गाउँले मायाजस्तै धुन बोकेर पस्छन्,
र कर्कश ध्वानीको
पजेरे,प्राडे हर्नहरु झोलाभरी बोकेर फर्किन्छन्-
जो मन्दीर पसिरहेका हुन्छन् ,तर पुन्य कमाईरहेका हुन्नन्!
मेरै आङमा,
मुर्दाघाटबाट उडेर आउँछन् चीलको हुल
र चल्लाजस्तै टिपेर
लान्छन्-लालुपाते भविस्यका पालुवाहरु,
जो जेमराजको घरबाट
अधिकतम कहिल्यै फर्किदैनन्!
आकाश गर्जिन्छ,
र मेरो आँखाबाट तपतप
अनवरत केवल चुहिरहन्छ-त्यही आकाश !
भुईचाल आउँछ,
र मेरो ओठ च्यातेर फर्किन्छ!
मृत्यूहरु-
मेरै फाँटहरुमा सँधै
मज्जाको मजाक गर्दै मुस्काईरहन्छ !
म प्राय:
होस्, मद्होस,अर्धहोस् र बेहोस् मा
मरिरहेको हुन्छु,
अर्थात् बाँचिरहेको हुन्छु,
तिमी फेरि-
मलाई सराप्छौ, वा ढोग्छौ;
म तिम्रो आफ्नै
अर्थात् पराई उहीँ काठमाडौ हुँ,
जो सबैले घृणा गर्छन्-
तर उसैको काँध चढेर धेरै धेरै माथी उठ्छन्,
अर्थात धेरै धेरै तल भासिन्छन्!
मसँगै
हिँड्न चाहने तिमी-“ओ यात्री!”
के म अर्थात्
काठमाडौजस्तै अभिनय गर्न सक्छौ?
जो हरेक दिन
मुर्दा धानहरु रोपेर
सजिव अभिनयको लागि नक्कली टाईसुट
लगाउन तयार हुन्छ !!