‘सबिना सबिना’ भन्दै गीतकार अनुराग
फोनिज कोरिया सम्वाददाता
‘मत तिम्रो दिलको चन्द्र तिमी मेरी ढुकढुकी हौ सबिना
आजकल टाढा हुँदैछौ माया, बाँच्न सक्छौ र ? म बिना’… बोलको फरक शैलीको गीत लिएर गीतकार तथा समाजसेवी चन्द्र लामा अनुराग नेपाली साँगीतिक आकाशमा छाएका छन् । चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीत विशेषत स्टेज कार्यक्रमहरुमा दर्शकलाई नचाउन लक्षित गरी बनाइएकोले अन्य समयमा पनि सुन्न उत्तिकै रमाइलो हुने गीतकार स्वयम बताउँछन् ।
मकवानपुर हेटौँडाका स्थायी बासिन्दा उनले “जब तिमीले साथ छोडेउ जुनेली रातमा”, त्यस्तै “पैसा भए सबथोक यहाँ किन्दो रहेछ” नामक गीत पनि बजारमा पुर्याई सकेका छन्। जसमा संगीतकार बालन्द राईको संगीत रहेको छ भने, क्रमश प्रमोद खरेल र शिब परियारको आवाज रहेको छ।
कोरियामा लामो समय ड्यूटी गरेर पनि आफूले नेपाली गीत संगीतलाई केही गर्न सकेकोमा उनी खुसी छन । यसअघि कोरियामा रहेका साहित्यकार कलाकारहरूले संयुक्त रुपमा प्रकाशन गरेको साँगीतिक एल्बम “सहयात्रा”मा पनि उनले गीत समावेश गरेका छन्। कोरियामा रहेर समाज सेवाको काममा पनि उत्तिकै समय दिने गीतकार अनुरागले गायकहरू सागर संसार राई, रोबिन रेगम लगायत सँग सहकार्य गरेर “अनुराग” एल्बमको तयारी गरेको र केही हप्तामै मुक्तक संग्रह प्रकाशन हुने समेत जानकारी दिए ।
परोपकारी कार्यमा सक्रिय लामाले कम्पनी परिवर्तन गर्ने ,कम्पनीमा पिडित भएका नेपालीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन् । इ ७ भिषामा कार्यरत लामाले धेरै नेपाली कामदारलाई उद्धार पनि गरेका छन् ।
लामाको सक्रियतामा थेगुमा व्यवस्थित शेल्टर पनि संचालित छ । थेगुमा संचालित शेल्टरमा लेडिजको लागि छुट्टै एउटा कोठाको व्यवस्था गरिएको छ । दक्षिण कोरियामा रहेका धेरै पुरुष सेल्टरहरु मध्ये महिलाहरुको लागि छुट्टै कोठाको व्यवस्था गरिएको सम्भवत यो नै पहिलो शेल्टर हुनसक्छ । महिला र पुरुष गरि ५० जना बढीको क्षमता भएको सो शेल्टरमा आर्थिक सहायता पनि लामाले गर्दै आएका छन ।
थेगु नेपाली सेल्टरका संयोजक रहेका लामा नेपाली साहित्य समाज दक्षिण कोरियाका सल्लाहकार पनि हुन् । सेवक नेपालको अभियन्ता समेत रहेका लामा थेगु हुमन राइट्सको सदस्य पनि हुन् ।