छोरीले सोध्छे, ‘कहाँ दुख्यो आमा ?’
कोरियामा विवाह गरेर आएका विदेशी महिलालाई सरकारी निकायद्धारा संचालित धामुन्ह्वा सेन्टर(बहुसाँस्कृतिक परिवार सहायता केन्द्र) बाट निशुल्क भाषा सिकाइन्छ । घरमै पनि छ महिनासम्म शिक्षिका आएर कोरियन भाषा सिकाउछन् । आफ्ना छोराछोरीको लागि भएपनि विदेशी आमाले चाँडै भाषा सिकोस् जानोस भनेर विभिन्न सेन्टरहरुमा भाषाका कक्षाहरु संचालन गरिएका छन् । कोरियन भाषाको साथै कम्प्युटर तालिमदेखि विभिन्न सिपमूलक तालिमहरुको समेत व्यवस्था गरिएको हुन्छ ।
त्यसैले बच्चा जन्मेपछि पनि बच्चालाई कसरी हुर्काउने, स्याहार सुसार कसरी गर्ने, शिक्षादिक्षा कसरी दिने जस्ता विषयमा घरमै शिक्षिका आएर पढाउने गर्छ । सोही अन्तर्गत हप्तामा दुई दिन घरमा मिससँग पढ्छु दुईदिन धामुन्ह्वा सेन्टरमा पढ्न जान्छु ।
जाडो सुरु भएर पनि होला छोरीलाई रुघाले सताएको छ । त्यसैले अरिनीचिब(शिशु कक्षा) पठाइन । संयोग पनि मिस आउने दिन नै परेछ ठिकै लाग्यो । मिस आउनसाथ भनें, ‘मिस, आज मलाई होइन छोरीलाई पढाउनुस् है ।’
मिसले हाँस्दै भनिन्, ‘आमाछोरीलाई नै पढाउला नि ।’
पढाइमा भन्दा चित्र कोर्न र रङ भर्न बढी रुचाउछे मेरी छोरी । हुनत पाँच वर्षको बच्चालाई अक्षर भन्दा रंगीचंगी चित्रतिर नै बढी ध्यान जानु स्वभाविक हो । १५ महिनाको उमेरदेखि नै स्कुल पठाउन थालेको मेरो छोरीले बल्लतल्ल मुस्किलले कोरियन सावाँअक्षर, अंक र एबिसिडि लेख्न सक्छे । तर कोरियन, अंग्रेजी र केही नेपाली बालगीत उसलाई कन्ठै छ ।
त्यसो त कोरियामा बाबुआमा दुबै काम गर्ने अभिभावकले आफना बच्चालाई छ महिनादैखि नै बच्चाको स्कुलमा राख्छन् । बच्चा गर्भमा बसेदेखि नै सरकारबाट बच्चाको चेकअपको लागि पैसा आउँछ । बच्चा जन्मेपछि पनि महिनैपिच्छे पैसा आउने भएकोले उसको नाममा बैंक खाता खोल्नुपर्छ । बच्चा स्कुल पठायो भने त्यो पैसा स्कुलमै जान्छ । त्यसैले स्कुलको अतिरिक्त क्रियाकलापको शुल्क बाहेक अरु पैसा तिर्नु पदैन ।
कोरियन बच्चाहरु छ महिनादेखि स्कुल गएपनि उनीहरुलाई पढन, लेख्न सिकाइदैन । सात वर्षको उमेरसम्म उनीहरुलाई कोरियाको संस्कार, संस्कृति, अनुशासनसँगै खेल्न, गीत गाउन, चित्रमा रंग भर्न जस्ता क्रियाकलापहरु सिकाइन्छ । बालबालिकाहरु खेलेर, गीत गाएर अक्षर चिन्छन् पढ्छन् । चार या पाँचवर्षको उमेरसम्म अरिनिचिब(शिशुकक्षा), त्यसपछि युछिवन(किन्डरगार्डेन) जान्छन् । युछिवनमा पुगेपछि मात्र बल्ल अक्षर लेख्न सिकाइन्छ ।
सातवर्षको उमेरमा बल्ल प्राथमिक तहको शिक्षा सुरु हुन्छ । कोरियामा प्राथमिक तह छ वर्ष, माध्यामिक तह तीन वर्ष र उच्च माध्यामिक तह तीन वर्ष पढ्नुपर्छ । तर प्राथमिक तह र माध्यामिक तह गरेर नौ वर्ष कोरियाको अनिवार्य शिक्षा हो ।
विश्वको अन्य विद्यालयका विद्यार्थीहरुको तुलनामा कोरियाका विद्यार्थीहरुले धेरै पढ्नुपर्ने भएकोले उनीहरुलाई धेरै तनाव पर्ने विभिन्न रिसर्जहरुमा उल्लेख गरिएको छ ।
कोरियाको शैक्षिक प्रणाली र नेपालको शैक्षिक प्रणालीमा धेरै भिन्नता छ । नेपालमा कम उमेरका र बढी उमेरका विद्यार्थी एउटै कक्षामा सँगै पढन पाउँछन् भने कोरियामा उमेर अनुसार कक्षा चढाइन्छ । अर्थात् कक्षा १ मा सात वर्षका, कक्षा २ मा आठवर्ष उमेरका मात्र बच्चाहरु पढन पाउँछन् । कोरियाको उमेर र अरु देशको उमेरमा पनि फरक छ । कोरियामा जन्मदै एकवर्ष पुगिसकेको हुन्छन् । अर्थात् गर्भमा बसेदैखि कै उमेर गनिन्छ ।
त्यस्तै अर्को पक्ष हो, कक्षामा कोहि विद्यार्थी फेल नहुनु । तपाइलाई लाग्ला विश्वकै विद्यार्थीहरुको तुलनामा कोरियाको विद्यार्थीहरुले धेरै पढ्नुपर्छ, गाह्रो छ तर किन फेल हुँदैनन् ? किनकी पढाइमा राम्रो, अब्बल विद्यार्थीहरुले राम्रो विद्यालयमा पठाइन्छ भने पढाइमा मध्यम विद्यार्थीहरु ठिक्क कै स्कुलमा पढछन् ।
फेरी माथिकै प्रसंग जोडें । बालबालिकालाई कसरी हुर्काउने कस्तो शिक्षा दिने खराब बानीबाट कसरी छुटाउनेलगायतका सैद्धान्तिक कुराहरुको बारेमा मिससँग पढ्छु । तर व्यवहारमा उतार्न अलि कठिन नै हुने रहेछ । कहिलेकाही असल आमा बन्न नसक्ने पो हो कि भन्ने चिन्ताले भित्रभित्रै खान्छ । कहिले चाँही किन पो आमा बनेछु भन्ने पिँडाले सताउँछ ।
मिसले छोरीलाई कापीमा परिवारको चित्र कोर्न लगाइन् । उसले परिवारको चित्र नकोरेर उसको स्कुलको मिसको चित्र कोर्यो । अनि आफ्नो र साथीहरुको । मिसले छोरीलाई सोधिन्, ‘तिम्रो परिवारमा कतिजना सदस्यहरु छन् ?’ छोरीले सजिलै जवाफ दिई, ‘आमा, बाबा, हजुरआमा र म ।’
‘हो, त्यहि परिवारको चित्र कोर भनेको’, मिसले बुभाउन खोज्यो । तर छोरीले चित्र कोर्न मन गरिन । फेरी मिसले बालबालिकाको कथाको पुस्तक छोरीलाई पढेर सुनाइन् । छोरीको ध्यान अन्तै थियो ।
मिसले भनिन्, ‘मैंले बच्चालाई किन चित्र कोर्न लगाएको भने उसले बढी कसलाई माया गर्छ भनेर बुझ्नलाई हो । छोरीले त बढी आफ्नो स्कुललाई महत्व दियो । यसरी पनि बच्चाको मनोविज्ञान बुझ्न सकिन्छ ।’ मिसको कुरा मलाई वाइयात झैं लाग्यो । बच्चा न हो जे मन लाग्छ त्यहि गर्छ । कतै चित्र कोर्न लगाएर बाल मनोविज्ञान बुझ्न सकिन्छ र ? नचाइदो वकबास मनमनै मिसमाथि जाइलागें ।
मिस भन्दै थिइन्,‘घरमा छोरीलाई पुस्तक पढेर सुनाउदैनौ रहेछ होइन ? सानैदेखि आमाबाबुले बच्चालाई पुस्तक पढाएर नसुनाएको बच्चाले पुस्तकमा त्यति ध्यान दिन्नन् ।’ मिसको गेस सहि थियो । बच्चा सानो हुँदा मलाई कोरियन अक्षर प्रस्टसँग पढन आउदैन थियो । त्यहि माथि अल्छि लाग्थ्यो । अहिले पढेर सुनाउछु भन्दा आफै पढन थाल्छे चित्र हेर्दै आफ्नै तालमा ।
‘बच्चालाई सानैदेखि बेसरी पुस्तक पढेर सुनाउनुपर्छ । उसले अक्षर नबुझे पनि पुस्तकको रंगीचंगी रंगहरुसँग रमाउछ, सुन्छ । अहिले पढाएन भने पछि पनि पढदैनन् ।’ मेरो जेठी आमाजु पनि विद्यालयको शिक्षिका कहिलेकाही हाम्रोमा आउदा भनिरहन्छिन्, ‘बच्चालाई दिनमा एक घण्टा पुस्तक पढेर सुनाउनु अहिले पढाएन भने ठुलो भएपछि बच्चाले पढ्न मन गर्दैनन् ।’
मलाई पनि आमाले तीनवर्षको उमेरमै विद्यालय पठाइन् । गाउँको एकजना दाईले बोकेर लगे, चक्लेट दिन्छु भन्दै फकाउदै । कक्षामा सबै मभन्दा दाईदिदीहरु मात्र थिए । गाउँकै भए पनि लाजले कोहिसँग बोल्दिन थिएँ । शिक्षकले कक्षामा आएर हाजिर गर्थे । मेरो नाम आउदा म टाउको निहुँरिएर बस्थें । म एकशब्द नबोल्ने भएकोले तीन वर्ष एउटै कक्षामै बसें । मेरो पछाडि एकजना क्षेत्री केटा बस्थ्यो । उसले जहिले पनि मलाई पछाडिबाट ढुंगाले हान्थ्यो । फर्किदा मुख बिगारेर जिस्काउथ्यो । म डरले थुरथुर । त्यसैले गर्दा पनि मलाई स्कुल जान मन लाग्दैनथियो । स्कुल नजाँदा आमाको हातमा कि त सिस्नोको बोट हुन्थ्यो कि त लठ्ठी । स्कुल जाउँ त त्यो केटाले जहिले पनि जिस्काउने ।
कहिलेकाँही मेरो छोरी पनि स्कुल जान मान्दैन । मलाई मेरो बाल्यकालको याद आउँछ । उसका पनि कतै खराब साथी पो छन् कि ? उसको मनमा डर पैदा गराउने । मैंले मेरो आमासँग कहिल्यै आफ्नो मनको कुरा पोख्न सकिन । थाहा छैन किन ? ठुलो भएपछि त झन् आमासँग खुल्नै सकिन । तर आमा न हो मैंले नभने पनि उनी मेरो हर पिँडा बुझिथिन् । पखेटा पलाएपछि आफ्नो गुँड छाडेर उड्ने चरी झैं म पनि आमासँग टाढै रहें अहिले त झन् टाढा छु । आफु आमा बनेपछि मात्र आमाको महत्व अझ बढी थाहा हुने रहेछ ।
मलाई एउटै कुराले जहिले पनि सताउँछ । म बिदेशी आमा त्यहिमाथि भाषाको अन्तर । न मलाई उसको भाषा नै राम्ररी आउँछ न उसलाई मेरो भाषा । मनको कुरा साट्नै गाह्रो । आमा छोरीबिचको दूरी बढने त होइन ?
मेरो कुरा सुनेर मिस मनदेखि नै हाँस्छ । अनि भन्छ, ‘धत् कस्तो कुरा गरेको होला ? त्यस्तो सोच्दै नसोच । भाषा नै समस्या होइन । तिमीले माया दिन सक्नुपर्छ, राम्रो व्यवहार र सहि वातावरण मिलाउन सक्नुपर्छ । माया शब्द होइन अभिव्यक्त हो । छोरीले छिटो बुझ्छे पछि उसले नै तिमीलाई हरेक कुरा सिकाउछे साथ दिन्छे चिन्ता नगर । आमा नै छोरीका लागि असल साथी हुन् । तर उनलाई साथीको अनुभूति गराउन सक्नुपर्छ । बालबालिकाका लागि प्रेरणा र उर्जा अभिभावक हुन् । उनीहरुलाई कहिल्यै अरुसँग तुलना गर्नुहुन्न । कहिल्यै हतोत्साहित गर्नुहुन्न ।’
मिसको कुराले केही राहत मिले झैं लाग्छ । छेउमै खेलिरहेकी छोरीलाई काखमा लिन्छु । छोरी खुशीले लुटपुटिदै लाडिन्छे । आमालाई सम्झन्छु, मनमा गाँठो परेर आउँछ । अनायसै रसिन लागेको आँखा पुछिदिदै छोरीले सोध्छे, ‘कहाँ दुख्यो आमा ?’