आर्लराम जिन्दगी
ढकढक ढोका ढकढकियो ।
‘ओइ सुति राको ?’
‘अँ ।’ कोरियन ब्लाङकेट मुखबाट नहटाइ नै भने ।
‘मुला अनि काममा आउनु पर्दैन ?’
‘काममा ?’
‘अँ, काममा । डाक्न पठाएर आको । छिटो आइज । कराउँदै छ फुजाङनीम ।’ साथी त्यति भन्यो । कोठामा नछिरि नै फर्कियो । उसको काम मलाई उठाउने थियो ।
०००
कोठा बाहिरको मौसम माइनस सात डिग्री छ । जता हेर्यो त्यतै हिउँ जतिकै देखिने तुसारो छ । झन् बेला बेलामा हावा पनि चल्छ । अनि जाडोको के कुरा गर्नु ? दिन त कम्पनीले सिरक झै बाक्लो टाउजर दिएको छ । त्यस भित्र पनि दुई जोर कपडाको पाइन्ट लगाउँदा पनि जाडो कताबाट छिर्छ छिर्छ ।
टाउकोमा पनि नेपालबाटै मगाएको ऊनीको काने टोपी छ । गलामा गलबन्दी पनि ऊनीकै छ । आफ्नै करङ भन्दा धेरै पत्र त ज्यानमा कपडाको पत्र छ । त्यही पनि कोरियाको जाडोले थला राख्छ ।
तुसारे बिहानको के कुरा गर्नु ? उस्तै गफाडी भेटे गफै तुसारो झै जम्थ्यो होला जाडोले ।
यस्तो जाडोको बेला बिहान ढिलोसम्म सुत्नुको मज्जा दुनियामा कुनै कुरा पनि छैन होला तुलना गर्न । काम भएको बिहान जसरी पनि उठ्नु नै पर्छ । निन्द्राले आँखा पुरै नखुले पनि जे काम गर्नु पर्ने हो त्यो यन्त्रवत रुपमा सही तरिकाले गर्नु पर्छ । निन्द्राले नियमित काममा सिन्काको पनि फरक पर्नु हुदैन ।
कहिले कही लाग्छ बिहानको निन्द्रा टुटाउने आलाराम भएको मोवाइल फुटाऔ । अनि फेरी खुट्टा तन्काएर सुतौ । थरि थरिका रंगीन सपना देखौ । यी सबै लाग्ने कुरा हुन् । यर्थाथ बिहान साँढे सातबाट सुरु गर्नु पर्ने कामका लागि छ बजे नै उठ्नु पर्छ । लुगामाथी लुगा अनि फेरी कम्पनीको लुगा लगाएर हिड्न तयार हुनु पर्छ । त्यसो नगरे काम हुदैन । काम नहुँदा आनासुकी कमाइ हुदैन । कमाइ नभएको मान्छे हुनु नहुनु उस्तै मान्छन् समाज । त्यसैले प्यारो निन्द्रालाई माया मारेरै कमाउनु पर्छ । बिहान सुत्ने रंगिन सपना मात्रै हुन्छ ।
हप्ताको एक दिन आइतबार विहान सुतेको सुतेकै गर्ने दिन जुर्छ । त्यस्तो मौकामा कहिले कही साथीभाइले फोन गरेर, कहिले कही अनेक थरिका कुराले मोबाइल बजेर भंग गर्न सक्छ । एकदुइ पटक यस्तो भएको पनि छ । त्यसरी कुबेलै उठ्नु पर्यो भने त्यसको क्षतिपूर्ती दिन भरि हुँदै हुदैन । त्यसैले शनिबार बेलुकी नै सुत्ने बेला फोन अफ गरिन्छ । इन्टरनेटको तार थुतिन्छ । अनि ‘वोइलर’ चलाएर सुतिन्छ । मस्तराम ।
एक्काइसौ सताब्दीमा पनि सम्पर्क बिहीन । कसैले इमेरजेन्सी परे कोठामै आउनु पर्छ । नत्र म कलियुगको कुम्भकर्ण नै हुँ । सुतेको सुत्यै । हप्ता दिनको नपुगेको निन्द्रा पनि आइतबारै पुरा गर्नु पर्छ ।
कहिले कही कम्पनीमा धेरै सामानको अर्डर आए आइतबार पनि काम गर्नु पर्छ ।
‘म काम गर्र्दिन ।’ बल्ल बोल्न जानेको सबै कोरियन शब्दलाई मिसाएर भन्छु ।
‘हुदैन । काम गर्नु पर्छ ।’ सबै दाँत देखाउँदै मलाई काम लाउने कोरियन हाकिम भन्छ ।
‘मेरो मुडै छैन । थाकेको छु ।’ मेरो अडान बाँकी नै हुन्छ ।
‘तिमीहरु कहाँ कहाँबाट हाम्रो देशमा काम गर्न आएका छौ । कमाउन आएका छौ । काम गरे पो कमाइ हुन्छ । झन् आइतबार गरे बढि पैसा पाइन्छ ।’ ऊ अरु बेला भन्दा झन बढि मर्किदै दाँत देखाएर हाँस्छ ।
म केही बोल्दिन ।
‘आइतबार काम गर्नेलाई म चिकेन ख्वाउँछु । पिज्जा ख्वाउँछु । कोक पनि ख्वाउँछु । सोजु, माकली पनि ल्याउँला ।’ उसको कुरा सुनेर बच्चा हुँदा काम गर चकलेट दिन्छु भनेको सम्झन्छु ।
म फेरी पनि केही बोल्दिन । ऊ मैले काम गर्ने भनेको सम्झन्छ । काम नभएको दिन त्यसरी ऊ हाँस्दैन । न हाम्रो कमाइको फिक्रि नै गर्छ ।
०००
हिजो सुत्ने बेलामा आज काम छ याद गरेकोथेँ । त्यसैले झन छिट्टै बेडमा पसेको हुँ । मनमा जाँगर र निन्द्रा आइ नसकेको भए पनि । अरु दिन तीनवटा आलाराम बज्थ्यो । पहिलो बज्दा कता कता बजे जस्तो लाग्छ । दोस्रो बज्दा अब त बजेकै हो भन्ने हुन्छ । निन्द्रा खुल्छ तर उठ्ने जाँगर हुदैन । तेस्रो बज्दा सिधै उठेर लुगा लगाइन्छ । अनि कुदिन्छ । आज बिहानको लागि एउटा मात्र आलाराम सेट गरेकोथेँ । नियमित आलारामको डोज नपुगेर सुतेको सुतेकै भइएछ । सुन्दै सुनिएन । सेट गरेको आलाराम बज्यो त होला । यस्तै छ यताको आलारामले चल्ने जिन्दगी । आलाराम बजेन सब खतम ।