कोरियामा तमु ल्होसारको तयारी
सौल, कोरियामा तमु जातिको महान सांस्कृतिक पर्व तमु(लोला) ल्होसारको तयारी पूरा भएको छ । कोरियामा रहेर विभिन्न पेशाव्यवसायमा आवद्ध रहेका स्याङजाली तमुहरुको संस्था स्याङजा तमु समाजले यहि २४ तारिख शनिबार तमु ल्होसार मनाउन लागेको हो । बेलुकी ८ बजे दोङदेमुनस्थित लक्ष्मी रेष्टुरेन्टमा गर्ने हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी गराउदै समाजसेवी युवराज गुरुङले यसपाली बाँदर(प्रल्हो) वर्गको बिदाइ र चरा(च्यहल्हो) वर्गको स्वागत गरिने ल्होसार स्याङजाली तमुहरु एकठाउँ भेला भइ मनाउन लागिएको बताए ।
प्रवासमा ल्होसारको तिथिमिति नमिल्ने कारणले स्याङ्जा तमु समाजले डिसेम्बर २४ तारिख नेपालमा ल्होसारको तिथि अगावै मनाउन लागिएको स्याङ्जा भिरकोट आर्थर तमु समाजका अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । स्याङ्जाली तमुहरुले यसपालि सामुहिक रुपमा ल्होसार मनाउन आग्रह गरेकोले त्यसैअनुरूप सामुहिकरुपमै ल्होसार मनाउन लागिएको उहाँले जानकारी गराए ।
कार्यक्रमलाई भब्य बनाउन विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको छ । तमु ल्होसार आयोजक समितिको संयोजकमा सम गुरुङलाई चयन गरिएको छ । खाना ( रोटी विशेष ) ब्यवस्थापनमा युवराज, बिपना, मञ्जु र ललिता , पच्यु चिवाबाट रुपा लगाई स्याईँ स्याईँ ,रोधीँ ब्याण्ड ब्यवस्थापन संयोजक दिलिप गुरुङ, साउण्ड सिस्टम र हल ब्यवस्थापन युवराज, लेसन र नर कुमार, अतिथि ब्यवस्थापनमा नर कुमार र युवराज, स्वागत ब्यवस्थापनमा हरि माया,दिब्या, धनु, माया, आर्थिक संकलनमा देवेन्द्र ,सागर र विक्रम, कार्यक्रम सञ्चालन धन र जीवन कुमारी, पोष्टर डिजाइनमा लेसन, प्रचारप्रसारमा बोम्जन र लेसन र साँस्कृतिकमा सतिश गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
ल्होसार कार्यक्रमलाई भिन्नै किसिमले मनाउने सोचका साथ कोरियाको चर्चित ब्याण्ड रोधीँ लाईभ प्रस्तुतिसंगै रोधीं बस्ने ब्यवस्था गरिएको छ । तमु जातिको लोपोन्मुख रोधीँको झझल्को दिलाउने प्रयास हाम्रो रहनेछ रोधीँ ब्याण्डको संयोजक दिलिप गुरुङले बताए । त्यसैगरी ल्होसारको अर्को विशेष पच्यु चिवाको हातबाट रुपा लगाई स्याईं स्याईँ गर्दै टीका ग्रहण गर्ने ब्यवस्था गरिएको तमु ल्होसार संयोजक सम गुरुङले बताए ।