बीर गोर्खाली भन्न पनि लाज लाग्छ
खोई किन हो ? पूर्खाले देखाएको बिरताको प्रतिक बहादुर अनि वीर गोर्खाली भनेर चिनिन पनि लाज लाग्न थालेको छ आजभोली मलाई । हामी सोच्छौ, हामी नेपाली स्वाभिमान छौ । बहादुर छौ । वीर छौ । हो, हाम्रा पुर्खाहरु स्वाभिमानी थिए, बहादुर थिए र वीर साहसी थिए । तर अहिले तिनै पुर्खाका सन्तान हामी ठिक उल्टो भएका छौं ।
किनकी हाम्रा पुर्खा अहिलेका हामी जस्ता फटाहा, देश बेचुवा, भष्टचारी थिएनन् । तिनीहरू त कर्मठ, निस्ठावान, देशप्रति मायाममता भएका निश्वार्थी थिए । र पो बिश्वलाई हल्लाए अनि वीर बने र विश्वमा वीरगोर्खालीको नाम चिनाए । तिनै पुर्खाले गर्दा अझै पनि हामी नेपालीको सम्मान र सान छ । अहिलेका हाम्रो पुस्ताले गर्दा आएको सान होईन यो । हामीले देशका लागि के गर्न सकेका छौ र? खालि हामीले त पुर्खाले कमाएको इज्जत पनि जोगाउन सकिरहेका छैनौ । पुर्खाले बहादुरि देखाएर कसैको अधिनमा नबसेर स्बाभिमानको साथ कमाएको देशलाई पनि आज राजनितीको फोहोरि खेलमा राखि भागबन्डा गर्दै बेच्दै छौ । कति त बेचि सक्यौ पनि । अनि हामीलाई कस्ले भन्छ बहादुरी ?
जानत हाम्रो पुर्खाहरू पनि बिदेश जान्थे । तर जहाँ गएपनि बिश्वको सामु आफ्नो शिर ठाडो बनाएर गोर्खालीको नाम राख्थे । तर आज हामी त बिदेश आएका छौ दुनियाँको हेपाई खाएका छौ । २१औँ शताब्दीमा पनि तल्लो बर्गको काम गरेका छौ । अर्काको दास भएका छौ । अनि अझै भन्छौ । नेपालमा केही छैन । नेपालमा केही गर्न सकिँदैन । छि नेपाल त त्यस्तो फोहोर, छि अबिकसित भन्दै हामी आफ्नै आमालाई धिक्र्काछौं ।
यो कहाँसम्मको बिडम्बना हो । हामी सबैले गरे पो बन्छ त नेपाल, हामी नै खाते भएर बिदेशीकै गुलामी भएपछि कसरी बन्छ नेपाल ? युवाहरु नै बिदेशीय पनि कसरी हुन्छ त देशको विकास ? अनि नेपालमा त्यहि खाते बुढाबुढिलाई राजनिती गर्न दिएर तिनकै पछाडि झण्डा बोकेर भुक्रोको बन्छ नेपाल ।
जबसम्म नेपालमा बैदेशिक रोजगारको सुबर्ण अबसर भन्ने शब्दको अन्त्य हुदैन तब सम्म नेपाली वीर होईन कायर नै रहनेछन । खालि एकले अर्कालाई आरोप लाको छ । फलानोले यो गरेन ,फलानोले यो गर्यो । उसले बिहे गर्यो ,उसले गरेन भनेको छ बसेको छ । अरुको कुरा काट्ने, यस्तो गरे हुने त्यस्तो गरे हुने भन्ने आफुले केही नगर्ने खाली अरुको आशमा बस्ने अनि बन्छ त नेपाल ?
पहिलो कुरा त हामी युवाले नै राजनिती सम्हाल्नु पर्छ । र देशको चाबी हातमा लिनुपर्छ । किनकी हामीलाई अनुभव छ कि ,बिदेशमा नेपालीको साच्चै कुनै इज्जत छैन । हामी नेपालीलाई बिदेशीले हेर्ने नजर फेर्न सक्ने काम गरेर देखाउनुपर्छ ।
पुर्खाले त उ बेलामा निडर भएर अरुको सामु नझुक्ने बहादुरी देखाएर सारा विश्व हल्लाए भने हामी जाबो एउटा नेपाल हल्लाउन सकेका छैनौ । त्यसैले त म भन्छु, छाती फुलाएर वीर गोर्खाली भन्न पनि लाज लाग्छ ।