कोरियाको चिसोमा एउटा न्यानो साँझ
घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ।
दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यति धेरै नेपालीको जक्सन हुने थलो हो त्यो। ‘दोङ्देमुन मात्रै?’ कसैले सोधे भने!
‘आन्सान पनि हो।’ मैले यति नभनेर सुखै छैन।
यिनै दुई सहरमा त हो, नेपाली व्यवसायीहरूको विशेष बसोबास। नेपाली रेस्टुरेन्ट टन्नै छन् जहाँबाट नेपाली परिकारहरूको बास्ना पर बाटोमा हिँड्दै गर्दा पनि नाकैमा ठोकिन आइपुग्छ। नेपाली उपहारहरू पाइने ठाउँ विशेष यतै त हो। नेपाली स्वादका खानेकुरा किन्न पाउने मार्ट पनि यतै धेरै। र, मलाई यतिबेला त्यही नेपालीको भीडभाड हुने एउटा सहर दोङ्देमुन पुग्नुछ। त्यहीँ छ आज कोरियामा श्रम बेच्दै बाँकी समय सिर्जनशीलताको क्षेत्रमा लगाउने कवि ऐश्वर्य श्रेष्ठको एकल सृजना वाचन कार्यक्रम ‘ऐश्वर्य साँझ’।
‘किन नि ऐश्वर्य साँझ?, एकल कविता वाचन किन नभनेको?’ मैले सोधेको थिएँ, यो कार्यक्रमका आयोजक तथा रंग र क्यान्भाससँग खेल्ने कलाकार भीम सुब्बा तामाङ उर्फ ‘बाबु साइँला’लाई।
‘ऐश्वर्य श्रेष्ठ एउटा राम्रो मुक्तककार हो। गजलकार, गीतकार हो। संगीत सिकेको छैन भन्छ, तर राम्रो गाउँछ, केही गीत आफ्नै आवाजमा रेकर्ड पनि गराएको छ। कविता त लेख्छ नै त्योभन्दा धेरै उसले पत्रकारितामा कलम चलाएको छ– अक्षर भएर। रेडियोमा बोलेको छ– आवाज भएर। टेलिभिजनमा देखिएको छ– दृश्य भएर।
उसको केही भोगाइ पनि सुन्ने अनि सृजना वाचन त छँदैछ। अनि त ‘ऐश्वर्य साँझ’ नभनेर भो?’ बाबुले मलाई स्पष्ट पारेको थियो। यो केही दिनअघि साँझको कुरा हो। उसले थपेको थियो– तपाईं विशेष अतिथि है हाम्रो, जसरी पनि आउनुपर्छ।’ सायद म आउन्न भन्ने परेको थियो कि उसलाई? ‘अरे यार बाबु कला, साहित्य र संस्कृतिको कार्यक्रममा त अतिथि भनेर बोलाउनुपर्दैन मलाई। थाहा पाए र भ्याएसम्म मुन्टोले टेकेरै पनि पुग्छु नि बूढा!’
‘हैट…, बूढा त नभनूम् होला, कलाकारहरू अलि सनकी हुन्छन् भन्ने सुनेको छु। फेरि ऊ पनि सन्कियो भने! तरुनै छ नि त। कताको बूढा? ल भैगो, यार भन्छु– ‘अरे यार बाबु, बूढा भने पनि मायाले पो भनेको त’ मलाई फकाउन पनि आउँछ। तर, थाहा छ मैले फकाउनै पर्दैन बाबु उत्ति सनकी छैन। ऊ रंगहरूको मुटु फुटालेर असाध्यै सुन्दर चित्र कोर्ने राम्रो कलाकार हो। कलाकारहरूको कोमलता बु‰नु हुन्छ नि तपाईं!
डिसेम्बरको पहिलो साता सकिएको तीन दिन भएको थियो। चिसो छ बाहिर, असाध्यै। यो वर्षमा केही साताअगाडि दुई पटक हिउँ परिसक्यो। ‘आज पनि पर्ला?’ नाइँ, गुगलले कुनै नोटिफिकेसन देखाएको छैन। परे त गज्जब हुन्थ्यो। हिउँका सेता कपास फुरुरुरु झरेको मोहक दृश्य हेर्नु कम्ता आनन्द आउँदैन। न्यानो कपडा त लाएकै छु। आफैले लगाएको लुगा छाम्छु म।
अन्य समयमा लगाउने भन्दा दुई गुणा बढी लुगा लगाएको छु। र, त्यसको माथि बाक्लो ज्याकेट पनि भिरेकै छु। टाउकामा उनीको टोपी र नाइकी ब्रान्डको न्यानो जुत्ता दुई गोडामा घुसारेको छु। जुत्ता अलि साँघुरो परेछ। दुवै गोडाका बूढी औँला थोरै दुखिरहेछ। कुरेको सात मिनेट १६ सेकेन्डमा ट्रेन आयो। मैले मेरो शरीर लुसुक्क ट्रेनभित्र छिराएँ। सर्पले दुलोभित्र आफूलाई छिराएझैँ।
ट्रेनमा फ्रि वाईफाई छ, भाइबर खोलेँ गणेश अनलाइन रहेछ। भनेँ–’जाम कार्यक्रममा।’
‘काम छ भ्याउन्न।’ फुत्त लेख्यो र अफलाइन भइहाल्यो।
सरोजलाई भनेँ– ‘भाइ जाने हो?’
‘म भ्याउन्न काका।’ तोइट फेरि काका भन्यो। बजारमा पनि क्याक्या थेगो आउँछन् यार!
हिजै थाहा पाएको भए त जान्थेँ नि दाजी। उसलै लेख्यो– ‘१० बजेसम्म काम छ, फान्जाङले (सुपरभाइजर) छुट्टी दिँदैन। सायद मिल्दैन।’
लौ भो, अब अरुलाई भन्ने जाँगर चलेन। ट्रेन गुडिरह्यो छकछक, स्वाइँइँइँ, घडघडघड…!
साँझको सवा नौ बजेतिर कार्यक्रम हलमा पुग्दा झन्डै ५० जना साहित्यप्रेमीको भीड जम्मा भैसकेको थियो। अग्रभागमा सानो, तर सुन्दर मञ्च। त्यसैको पछाडि भित्तामा टाँसिएको थियो एउटा ब्यानर, जसमा लेखिएको थियो– ‘ऐश्वर्य साँझ’ कविता वाचन र सांगीतिक कार्यक्रम। आयोजक– नेपाल ललितकला मञ्च, दक्षिण कोरिया र छन्देरी ग्रुप। १० डिसेम्बर २०१६, दोङ्देमुन, सउल।’
मेघप्रसाद वाइबाले कार्यक्रम सुरु गरे। अनि बहुमुखी प्रतिभाका धनी ऐश्वर्य श्रेष्ठले एक घन्टा निरन्तर गीत–गजल गाए, कविता– मुक्तक सुनाए। कोरियाको आफ्नो बसाइको तीतामीठा अनुभव सुनाए। उनले आफैले रचना र स्वर दिएको गीत– ‘हरमा हर ए कान्छा, थोन मन्ही फर, हरमा हर ए कान्छा, पैसा धेरै कमाउ’ भन्ने कोरियन शब्द मिसिएको गीत गाए। उक्त गीतलाई दर्शकदीर्घाबाट निकै समय वान्समोर गुन्जिएपछि उनले नदोहोर्याइ धरै पाएनन्। उनलै लेखेको तथा छिट्टै रेकर्ड हुन लागेको गीत ‘हितैको मायालु, छम्छमी छम्छमी नाच न, बारुले कम्मर भाँच न’ भन्ने गीत गाउँदासम्म वातावरण निकै तातिसकेको थियो। उपस्थित अधिकांशले गीतमा भनेझैँ कम्मर भाँच्न थालिसकेका थिए।
कलाकार बाबु साइँलाको कविता र गजलले पनि वाह्वाही पायो। साथमा अमन थिङ, अमन तामाङ, सुनिल थापाको सांगीतिक प्रस्तुतिले पनि रौनकता थप्यो। अन्तिमतिर आयोजकका तर्फबाट ऐश्वर्य श्रेष्ठलाई सम्मानको कार्यक्रम पनि भयो। उनलाई सम्मानपत्र प्रदान गर्नुका साथै कलाकार बाबु, पत्रकार रन्जनराज कँुवर, लिलु डुम्रे, नेत्र पौड्याल, कृष्ण बस्याल, गजलकारहरू पूर्वेली गाउँले, उमेश सेरालुंग, विनोद बान्तवालगायतले ऐश्वर्य श्रेष्ठलाई खादा पहिर्याइदिए। तिनीहरू यदि माला हुन्थे भने, उनको काँधले ती मालाको भार सायद थेग्ने थिएन! तर, खादाको तौल कति नै हुन्छ र?
यसरी रातको झन्डै दुई बजेसम्म त कविता, गजल र गीत गायनमा उपस्थितहरू जमिरहे, नाचिरहे। कोरियाको जाडोलाई उनीहरूले लोप्पा ख्वाइरहे। कोरियामा निरन्तर हुने साहित्यिक कायर्यक्रमभन्दा फरक यो कार्यक्रमको पृथक प्रस्तुति र जोशले मलाई लागिरह्यो– नेपाली कला, नेपाली गला, नेपाली साहित्यका अक्षरहरू, संस्कृतिका बान्कीहरूले जहाँ पुगे पनि नेपालीलाई लोभ्याइरहन्छन्। एकताको मालामा गाँसिरहन्छन्। जहाँ पुगे पनि नेपाली आफ्नो संस्कृति र कलाको पक्षमा एक जुट हुन्छन्। आफ्नो व्यस्त समय कटाएर भए पनि कलाको सम्बर्द्धनमा खट्छन्। दिनभरि काम गरेर आएकाहरूको जोश राति अबेरसम्म देख्न पाउनु यसैको उदाहरण हो। तर, कोरियाकै कलाकारहरूका माझमा पनि हाम्रो कला पुर्याउन सके, झन् कति जाती हुँदो हो भन्ने मनमा लाग्दै गर्दा हातको घडीमा पुलुक्क नजर पुग्यो। बिहानको तीन बजेछ। सोचेँ– ‘अब सुत्नुपर्छ। निदाउनुपर्छ।’