परदेशी
‘घर छाडेर हिडेपछि सबै परदेशी ।’ बाजे केही कुरा गर्न पर्यो कि यसै भन्थे । ‘म पनि नेपाल गएँ । सात दिन हिडेर । लामुसाँगुबाट तीन दिन लाएर नुन बोकेँ । के के गरिन ? तेरो आनी(फुपू) बलिङमा थिइ । त्यहाँ पनि म गएँ । कम्ता दुःख भएन । पाकेटमारले रेलमा झन्डै नमारेको । मान्छे भए पछि कता कता पुग्नु पर्छ । तर जता पुगे पनि फर्र्केर आफै जन्मेको ठाउँमा आउनु पर्छ । गाउँघर सम्झेर आउनु पर्छ ।’ बाजेले भनेको बलिङ भारतको उत्तराप्रदेशको कुनै ठाउँ हुनु पर्छ । र उनले भनेको नेपाल अहिलेको काठमाडौ ।
बाजेले घुमेको बिदेशको कथा रमाइलो छ । हाम्रो घर मुल बाटैमा थियो । मुल बाटोको घरमा रातको समय आपतमा बास बस्ने बटुवा धेरै हुने नै भयो । कति मान्छे आउँथे बस्थे जान्थे । फुपूको एउटा बटुवासँग मन बसेछ । यता पहाडतिर आफन्त घर कोही नभाको । इन्डियातिर जागिर भाको परदेशी । नेपालको आफ्नो पुर्खेउली गाउँ हेर्न आउँदा फुपुसँग माया बसेछ । अर्को बर्ष लिन आउने बाचासम्म गरेर बटुवा फर्केछ । उमेरमा जवानीले धपक्क बलेकी फुपूलाई त्यस्ता कसम सुनाउने धेरै थिए होलान् । फुपूले हुन्छ तिमी आउ म जाउँला भनिछन् ।
परदेशीका कुरा कति पत्याउनु ? मनको कुनामा माया भए पनि फुपूले पत्याइनछन् । बिस्तारै सम्झना खाटो बस्नै लाग्दा परदेशी टुप्लुक्क आफ्नो मायालु(फुपू)लाई लिन आएछ । परदेशी बटुवाले छोरी मागे पछि बाजेलाई आपत । छोरी नदिउँ परदेशी फर्कि फर्कि आफ्नो मायालु लिन आको । छोरीको मनमा बसेको मान्छे । दिउँ आफ्नो भएको एउटै छोरी ठाउँ ठेगना केही थाहा नभएको परदेशीलाई कसरी दिनु ?
बाजेलाई अप्ठ्यारो पर्नु परेछ । ‘उमेर पुगेको छोरीलाई दिँदा राम्रो ।’ बज्यैले भनिछिन् । मनमा अप्ठ्यारो लागे पनि मायाकै जित भएछ । बाजेले परदेशीलाई छोरी दिएछन् ।
एक बर्ष बित्यो । दुई बर्ष बित्यो । हुँदा हुँदा दस बर्ष बितेछ । परदेशीसँग गएको छोरी फर्केको होइन । कुनै समचार पनि छैन । सञ्चो बिसञ्चो थाहा छैन । बज्यैले मुलबाटोमा हिड्ने मान्छेलाई छोरीका बारेमा सोधेको सोधेकै गरिछिन् । कसैले के कसैले के बज्यैको मन राख्नैका लागि बटुवाहरु उत्तर दिदा रहेछन् । बज्यैको यस्तो अबस्थाबाट वाक्क भएका बाजेले छोरी खोज्न परदेश जाने सुर कसेछन् । सके भेटौला नसके जे त होला ।
बाजे र बज्यै परदेश जाने नै भए पछि छोराहरुको बिहे गर्दिएछन् । अंशबन्डा गरेछन् । अनि खाजासामाल बोकेर हिडेछन् ।
बज्यै तामाङ भाषामा मात्र कुरा गर्थिन । बटुवासँग खस (तामाङहरु नेपाली भाषालाई खसभाषा भन्थे ।) भाषा बोले पनि शुद्धशुद्धि हुदैनथ्यो । धेरै कुरा त बुझ्दैथिन् । बाजे खस भाषा पनि राम्रो बोल्थे तर हिन्दी बोल्दैनथे । बुझ्दैनथे । अरु मान्छेको साथ लागेर छोरी खोज्न हिडेछन् ।
आफैले आफ्नो काम गर्न नसक्ने भए पछि दुःख कति पाइन्छ पाइन्छ । बाटो खर्च भनेर लगेको रुपैया पैसा पनि रेल चढ्दा खल्ति काटेर चोरले निकालेछ । बाजेले देखेछन् । एक लात बाजेले चोरलाई के हानेकाथे चोरको सरदारले बाजेलाई बन्दुकको कुञ्जाले हानेछन् । पैसा त लाग्यो लग्यो कुटाइ पनि खाए छन् । धन्न बज्यैले छोरीको लागि भनेर राखेको रुपैया खर्चिएर तीन चार महिनामा फुपू भएको ठाउँमा बलिङ पुगेछन् । दस बर्ष पछि फुपूलाई भेट्दा पहिलो नाति नै आठ बर्षको भैसकेको थियो रे । अरु साना उमेरका दुई नाति र एक नातिनी पनि भैसकेको रे ।
‘हाम्रो गाउँ भन्दा राम्रो आम्दानी हुन्थ्यो । जंगल फाँड्यो घर बनायो । बस्तुभाउ पाल्यो । सजिलै जस्तोथ्यो जिन्दगी । त्यसरी बस्ने धेरै मान्छे थिए । तर हामीलाई राम्रौ लागेन । मलाई ‘ध्याङाली काइला कर्मी’ बनेर हिड्नु पर्ने मान्छे । कताको गोठालो बनेर बस्नु ? तेरो फुपूलाई र परदेशी ज्वाईसमेत लिएर घर फर्कियौ । फर्कदा आठ जना हुने भएकोले अर्को नाती हुँदा सम्म जसो तसो बस्यौ । हामीलाई त परदेशको पानी नै नमिठो । बोल्ने भाषा लाउने भेष पनि नमिल्दो ।’ बाजे मलाई सुनाउँदा यस्तै भन्छन् ।
……………………….
पहिले नेपाली भाषा आउँदैनथ्यो । नेपाली भाषा सिकेँ । बाजेलाई नआउने अंग्रेजी भाषा सिकेँ । हिन्दी त भन्नै परेन । हुँदा हुँदा कोरियन पनि थोरै सिकेँ । पहिले पहिले अंगे्रजी पढ्दा बाजे भन्थे ‘परदेशी हुन जाने भाषा हो । सिक्नु त सकेको सबै सिक्नु पर्ने रैछ । सिकेर केही बिग्रिदैन । नसिकेर दुःख पाइने रैछ । तर आफ्नोपन चाहि परदेशी भएर बिर्सनु हुदैन । गाउँघर बिर्सनु हुदैन ।’
पास गरेर आएको पनि तीन बर्ष बितेछ । दिन गन्दा हिजो जस्तै लाग्छ । निलो इपियसको जाकेट र इपियस लेखेको क्याप लगाएर एयरपोर्ट छिरेको । घरछाड्दा बाजेलाई अर्को बर्ष आउँछु बाजे भनेर हिडेको यत्रो समय भएछ । सबै हिजो जस्तै लाग्छ । बाजे आउन सक्ने भए अहिले पनि आउँदा हुन् । फुपूलाई झै मलाई पनि लिन । ती अहिले त बयानब्बे बर्षका पो भए । हैट सम्झेर ल्याउँदा पनि मन दुख्छ ।