विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ
दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् ।
नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेष शिक्षा अन्तर्गत अटिजम विषयमा विद्यावारिधी गर्दै गरेका एक नेपाली युवा हुन् शरणहरि श्रेष्ठ । शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपूरमा २०६३ सालदेखि उपप्राध्यापक रहदै आएका श्रेष्ठ लुपिक प्रोजेक्ट अन्र्तगत कोरिया आएका हुन् । विद्यार्थीहरुलाई खान, बस्न र केही पकेट खर्च सहित हरेक सुविधा दिदै आएको युनिभर्सिटीले विद्यार्थीलाई सप्ताहान्त २८ घण्टा काम गर्न पाउने अनुमति समेत दिएको छ । एक छोरा र श्रीमतीसहित युनिभर्सिटीकै हातामा रहेको प्रोफेसर बस्ने फ्यामिली क्वाटरमा बस्दै आएका श्रेष्ठ युनिभर्सिटीमा बाल विशेषज्ञका रुपमा काम पनि गर्छन् ।
युनिभर्सिटीकै किन्डरगार्डेन (अरिनीचिब) मा सातामा एक दिन बालबालिकाहरुलाई अंग्रेजी सिकाउने तथा कथा सुनाउने गर्छन् । ‘हप्तामा दुई दिन मात्र क्लास भएपनि असाइन्मेन्ट धेरै हुन्छ । अध्ययनअनुसन्धान गर्नुका साथै कक्षामा प्रेजेन्टेसन गर्नुपर्ने हुँदा अलि ब्यस्त नै भइन्छ’, उनी सुनाउँछन् । ‘श्रीमती पनि यहि युनिभर्सिटीमा कोरियन भाषा सिक्दैछिन् । छोरा यहिको किन्डरगार्डेनमा पढ्छ । ठुलो छोरा र छोरी नेपालमै बोर्डस गरेका छौं कान्छा छोरालाई भने कोरियाकै शिक्षा दिन पाए हुन्थ्यो’, उनी भन्छन् ।
फुलब्राइट स्कुलरसिपमा तीन वर्षको लागि कोरिया आएका शरणहरि श्रेष्ठ विशेष शिक्षा अन्तर्गत अटिजमलाई छानेका छन् । उनका अनुसार अटिजम नेपालको सन्दर्भमा विलकुलै नयाँ विषय हो । नेपालमा २०७३ ले अटिजमलाई सम्वोधन गरेको छ । यो नीतिले अटिजम पनि अपाङगताको एक प्रकार हो भन्ने पहिचान भएको छ । यस अघि अटिजमलाई बौद्धिक अपांगताभित्र हेरिन्थ्यो । अझै पनि अटिजम सम्वन्धि जनचेतना छैन । नेपालमा अटिजम भएकालाई पढाउने दुई वटा मात्र स्कुल छन् । अटिजम भएका बालबालिकाको कुनै तथ्यांक छैन । विश्वको रेकर्ड अनुसार कुल जनसंख्याको एक प्रतिशत बालबालिकामा अटिजम भएको देखिएको छ ।
कोरियामा पढ्ने र पढाउने शैली नेपालको तुलनामा धेरै राम्रो भएको बताउदै श्रेष्ठ अगाडि थप्छन्, ‘यहाँ स्रोत साधन प्रसस्त छ । प्रविधिको अभाव छैन । नेपालको शिक्षा सैद्धान्तिक खालको छ । लेक्चरल मेथोड । प्रोफेसर आयो पढायो गयो । कोरियाको व्यवहारिक खालको छ । प्राक्टिकल बढी, आफैं रिसर्च गर्नुपर्ने । नेपालमा विश्वविद्यालयमा पनि प्रोफेसरले नै पढाउनुपर्छ भन्ने छ तर यहाँ प्रोफेसरले पढाउदैन । विद्यार्थी आफैं सक्रिय हुनुपर्छ । शिक्षकले मूल्यांकन गर्छ । नपुगेको कुरा थपिदिन्छ ।’
नेपालमा झण्डै एकदशक लामो प्राध्यापकीय पेशामा आवद्ध भएपनि कोरियामा आएर एकवर्षको अवधिमा उनले धेरै कुरा सिक्ने मौका पाएका छन् । विशेषत प्राध्यापन शैली अनि विद्यार्थीले प्रोफेसरलाई गर्ने सम्मान । लक्ष्मी माबि गोर्खाबाट एसएलसी गरेर गोर्खा क्याम्पस गोर्खाबाट आइएड गरेपछि महेन्द्र रत्न क्याम्पस ताहाचलबाट अर्ली चाइल्ड एजुकेशनमा बिएड गरेपछि युनिसेफको छात्रवृत्तिमा एकवर्ष विभिन्न विद्यालयमा गएर बालमनोविज्ञका रुपमा काम गरे । त्यहिबेला उनले पाँचवर्ष मुनिका बालबालिकालाई कसरी पढाउने भन्ने विषयमा लेखिएको शिक्षण विधि, बालविकास र सिकाइ, शैक्षिक मनोविज्ञान जस्ता पुस्तक समेत लेखिसकेका छन् ।
ताहाचलबाटै पाठ्यक्रम मुल्यांकन बिषयमा स्नातकोत्तर गरे पछि नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा केही समय प्राध्यापन समेत गरे । सानै उमेरमा त्रिविमा शिक्षाशास्त्र केन्द्रिय विभागमा उपप्राध्यापक भएका उनी एकवर्ष अघिमात्र त्रिवि सेवा आयोगबाट स्थाइ भएका हुन् । ३८ वर्षिय श्रेष्ठ कोरियाबाट विद्यावारिधी गरेर नेपालमा विशेष शिक्षालाई प्रर्वद्धन गर्ने सोच बनाएका छन् । उनले विशेष शिक्षा विषयमा नेपालमा एमफिल पिएचडि गराउने वातावरणको विकास गर्ने तथा विशेष शिक्षा क्षेत्रमा राज्यलाई महत्वपूर्ण योगदान पुर्याउने जस्ता कामहरु गर्ने योजना बनाएका छन् ।