मलेसियामा ६ म्याग्निच्यूटको भूकम्प
फोनिज कोरिया संवाददाता
काठमाडौं-मलेसियामा शुक्रबार बिहानै ६ म्याग्निच्यूटको भूकम्प धक्का गएको छ ।
मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाब्लुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।
भूकम्पपछि माउन्ट किनाब्लु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।
अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाब्लुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।
सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री मसिदी मनजुनले ४ हजार ९५ मिटर अग्लो कोटाकिनाब्लु पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।
भूकम्पपछि कोटा किनाब्लु पहाडमा उद्धार जारी रहेको जनाउँदै त्यहाँकै आकर्षण केन्द्र ‘गधाको कान’ आकारको चट्टानलाई भूकम्पले क्षति पुगेको बताइएको छ । भूकम्पले कोटा किनाब्लु चढ्न गएका आरोहीहरु घाइते भएपछि उद्धार थालिएको छ |
मलेसियामा लाखौं नेपालीले रोजगारी गरिरहेको छन् | हालसम्म कुनै नेपाली कामदार हताहत नभएको त्यहाँ रहेका नेपाली संचारकर्मीहरुले जनाएका छन् |-एजेन्सी