कोरियाको चौबिस घन्टा
चौध घन्टे ‘खेसोक’ कामबाट फर्कियो । नुवाइधुवाइ गर्दा आधा घन्टा भन्दा बढि लाग्छ । भोक र थकानको के कुरा ?
बिहानै पकाएको ‘तातोबासी’ भात कुकरमा ठसक्क परेर बसेको छ । फेसबुक तिर ‘प्लास्टिकको चामाल’ भनेर देखाए जस्तै । तरकारी फ्रिजमा छ डिप फ्रिजमा । तरकारी के भन्नु हप्ता दिनको लागि आइतबारै गालेको दाल हो । सानो सानो प्लास्टिकको बट्टामा हालेको छु । हामीले खाने दाल जतापायो त्यतैको पसलमा पाइदैन । एसियन मार्टबाट किनेर ल्याएको । कोरियन पनि झोल त खान्छन् दाल खाँदैनन्क्यारे । खान्छन् कि थाहा नभएको पनि हुन सक्छ । डीप फ्रिजको दाल आइस भएर बस्छ । तेलमा प्याज काट्यो । त्यसैमा दाल ततायो भात निकाल्यो खायो । भाँडा माझ्नै पर्यो । माझेन फेरी भोली झ्याउ हुन्छ । डबल काम । अर्को आधा घन्टा ४५ मिनेट गैहाल्छ ।
भात खाने बितिक्कै भकलक्कै सुतिदैन । छेउमा भएको मोबाइल चलाउन पर्यो । कता कताबाट भाइरल भिडियो छ्यापछ्याप्ती छन् । साथीहरुले नामै तोकेर ट्याग गरेका छन् । म्यासेजमा पनि पठाएका छन् । एक छिन त हो जस्तो लाग्छ भुसुक्कै एक डेढ घन्टा गएको थाहै हुँँदैन । यो फेसबुकको के कुरा गर्नु ? ब्याचलर पढ्दा एउटा कथा पढ्नुपथ्र्यो । एक जहाजमा कतै मानिस घुम्न जान्छन् । तिनले टिभी झै लाग्ने अनौठो बस्तु फेला पार्छन् । अनौठो बस्नु रमाइलो हुन्छ । सबै हेर्छन् । त्यसैको वरिपरि झुमिन्छन् । हुँदा हुँदा यस्तो दिन आउँछ मानिसहरु आफ्नो दैनिकी पुरै भुल्छन् । अनौठो बस्तुको वरिपरि बसेको बस्यै हुन्छन् । हुँदा हुँदा ती मानिसहरु बाँदर बन्छन् । अर्को थरि मान्छे पनि हुन्छन् । ती अनौठो बस्तुको छेउमा बस्दैनन् । किताब पढ्छन् । दैनिक काम गर्छन् । ती मान्छेका मान्छे नै हुन्छन् । कहिले कही म यो फेसबुक चलाउँदा चलाउँदै बाँदर हुन्छु कि जस्तो लाग्छ । थाकेको भए पनि चलायो । निदाएर उठ्यो कि चलायो । फेसबुक फेसबुुक ।
‘रातको दुई बज्नै लाग्छ । यति रातसम्म मोबाइल चलाएर बस्ने मुर्ख ।’ आफैले आफैलाई धिक्र्काछु । सुत्नु पर्यो । मनमा के के आउँछ आउँछ । कहिले गाउँको कुरा । बुढाबुढी बाआमाका कुरा । कहिले कसमै कसमको चाङ लगाएर फुत्त छोडी जाने निष्ठुरीका कुरा । यस्ता कुरा सम्झिएर कति बस्छु थाहा हुँदैन । भुसुक्क निदाउँछु ।
टड्याङ टड्याङ । कानैमा आर्लराम बज्छ । यस्तो मस्तको निन्द्रा लागेको बेला । डिस्टर्ब हुन्छ । बन्द गर्छु । दस मिनेट पछि अर्को बज्छ । फेरी बन्द गर्छु । फेरी दस मिनेट पछि अर्को बज्छ । एक सासमा उठ्छु । हिजो खोलेर फालेको कपडा टपक्कै टिप्छु । लाउँछु । पानीले अनुहार भिजाउँछु । कुकरमा चामाल पानी हालेर लाइन अन गर्दिन्छु । भागदौडको जिन्दगी सुरु हुन्छ ।
कहिले कही पहिलो आर्लराममै उठिन्छ । कफि बनाइन्छ । बिहान बिहान मिठो कफि खाँदा मन आनन्द हुन्छ । तनमा जाँगर बढेर आउँछ जस्तो लाग्छ । दोस्रो आर्लराम बज्दा उठे कपडा लाउन मुख धुन फ्रेस हुन सजिलै भ्याइन्छ । तेस्रो र अन्तिम आर्लराम जिन्दगीको दौडको हो । जे पनि छिटो छिटो नत्र भ्याइदैन ।
कहिले कही के हुन्छ । तीन तीन वटा आर्लराम पनि सुनिदैन । आफै अचम्म पर्छु । कसरी नसुनिएको होला ? हामी सानैमा हुँदा मान्छे निदाउँदा मर्छ भन्थेउँ हो कि झै लाग्छ ।
बिहानको ७ बजेर ५० मिनेट जाँदा कम्पनीमा हाजिर भैसक्नु पर्छ । काममा पालो दिन पर्छ । दिइन्छ । यसरी नै कट्दैछ समय । दिन, महिना र बर्षहरु । कुनै कुनै दिन फरक हुँदो हो नत्र उस्तै उस्तै हुन् ।
पुन: प्रकाशित