बाउको चिठ्ठि आईपुग्यो कोरियामा
छोरा ठुले,
धेरै सम्झना अनि आर्शिवाद !
भगवानको कृपाले तलाई त्यहाँ सञ्चै होला भन्ने आशा गरेको छु । र यता हामीलाई पनि ठिकै छ । यो स्थानिय चुनाव आए पछाडि मलाई ग्यास्ट्रिक अलि बढेको छ । सायद यी नेताहरुको चिल्ला भाषण सुनेर हो कि भन्ने मेरो ठम्याई छ। छोरा, तर चिन्ता नगरेस् । बिस्तारै कम हुदैछ आजकल ।
यो ठुलो भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्, छोरा । बल भएका लाठेहरु त एकजना देखिदैन । तँ जस्तै धेरैजना परदेश पुगेका छन् । पहिला छोराहरु लाहुर जाने, दूईपैसा कमाउने चाडवाडमा आउने गर्थे । आजकल त्यो छैन । सकेसम्म परदेशमै हराउने । हैनभने १०,१५ वर्ष बसेर पाखुराको बल रित्तेपछि वृद्धाश्रममा बस्ने उमेराँ मात्र फर्किन थाले ।
तर छोरा, तँलाई मैले भनेको छु । अबको २ वर्षभित्र तँ गाउँमा जसरि आउनु पर्छ । २,४ अक्षर पढेका तिमीहरुमाथि यो गाँउले ठुलो आशा राखेको छ ।
गाउँ सुन्य छ । छोराहरु मात्र हैन । आजकल छोरीहरु पनि धेरै परदेशिन थालेकि छन् ।
डाँडाटोलका अन्तरेका ठुली छोरी दुई वर्ष साईपरस होकि के भन्ने देश गएर अस्ति भर्खर आईन् ।
विदेशी जस्ति भएर आकि छिन् । अस्ति पँधेरामा भेटेकि, “ओहो अन्कल, हाउ आर यु?” भनेर अंग्रेजीमा बोलिन् । चाईनेजो कति अर्काको भाषा नक्कल पार्न जानेकि, कति मोह भएको विदेशि भाषाको?? गाँउको शुद्ध पधेराको पानी अगाडि यो विशुद्ध भाषा नबोल नानी भनेर प्वाक्क भन्नै लागेको थिएँ । तर मुखैमा पुगेर पनि रोकें ।
छोरा ठुले, के भा हुन् आजकल हाम्रा देशाँ मान्छे! अस्ति नेपालको सुन्दरीहरु भनेर टिभिमा आथे । क देखि ज्ञ सम्म भन्न आएन ती नानिहरुलाई ।
टिभिमा कार्यक्रमहरु त्यस्तै छन् सब विदेशी भाषा मिसाएर बोल्छन् ।
अस्ति एसएलसि होकि एसिसिको नतिजा आउदा पनि त्यस्तै थियो । गाँउका विद्यार्थिहरु सबैले नेपालीमा कम लम्बर ल्याएछन् ।
त्यहि भएर स्कुलाँ गएर हेड मास्टरसंग सोधें । “नेपाली विधार्थिहरु नेपाली विषयमा किन कमजोर भए हेड सर?” भनेर ।
ती मास्टर अग्रेंजी धेरै पढ्या हुन् रे। सत्तरी प्रतिशत त अग्रेजीआँ उत्तर दियो मलाई, खुब घमण्ड गर्दा रछन् । आजकल अग्रे्रजी नजान्ने नबुझ्ने मान्छे हैनन् रे । नेपाली भाषा अक्षरको खासै महत्व छैन रे ।
मलाई साह्रै झोक चल्यो । अनि मैले पनि साफगरि भन्दिए। “अग्रेंजी भाषा सिक्नु, जान्नु, बुझ्नु राम्रो कुरा हो । तर अग्रेंजी भाषा फरर बोल्दैमा विद्वान हुदैन सर, हेर्नुस् चाईनिजो!
हामी नेपाली हौ, हामीलाई हाम्रो नेपाली भाषा, बोलि, नेपाली अक्षर एकदमै महत्वपुर्ण हुन्छ । यी अरुको नक्कल गरेर आफ्नो भाषा, अक्षर, मौलिकतालाई ओझेलमा पार्नु गलत हो।”
यति भनेपछि ती मास्टरले सुस्केरा काटे। “धन्यवाद जेठा दाइ, तपाईले मेरा आँखा खोलिदिनु भयो।” भनेर कालो चिया जस्तै पिलाए।
हेर ठुले! देशाँ सबै कुरा बिग्रि सकेका छन् ।
अस्तिको चुनावाँ जित्ने अध्यक्षसंग पनि मेरो ठाकठुक परिसक्या छ ।
गाँउको रोड पिच गर्ने भन्या छन् । उधोग खोल्ने रे । केटाहरुलाई रोजगारी दिने रे । यो बनाउछु भन्या छन् । त्यो बनाउछु भन्या छन् । थिर लागेको कुरा एउटै गर्या हैनन् ।
त्यसपछि मैले साफसाफ भनिदिए , “हेर्नुस् अध्यक्ष ज्यु तपाईले बनाउने कुरा बिस्तारै बनाउला । तर गाँउमा सबैभन्दा पहिला सकारात्मक चेतनाको खाँचो छ । परदेश हिडेका, शहर छिरेका सबलाई गाँउमा आउने मनस्थिति बनाउन जरुरि छ । १२, १५ वर्ष अगाडिसम्म यो गाँउका मान्छे कतै जान्न थिए । तल बेंशीका खेतमा लमटरन्न धान फल्थे । पारि पाखामा बडाबडाको मकैको घोका हुन्थे । प्रत्येक घरको करेसाबारिमा साग, खुर्सानी, लसुन, प्याज फल्थे । घरै बिच्छे गाई दुहुना हुन्थे । बाख्राका पाठाहरु हुन्थे । लेकको बारिमा वर्षेनी आलु जोरतोरले रोप्थे, गहुँ रोप्थे । त्यसैले मान्छेहरु रोजगार थिए । मिठै खान्थे, एकजोर राम्रै लगाउथे । छोराछोरी पढाकै थिए । खै त अहिले??
बेंशीका खेतहरु २,३ वर्षदेखि बाझै छन् । लेकका बारिहरु जङ्गल भईसके। गाँउमा कहिलेकाहि मासु खान पर्यो भनेर कुखुरा खोजे भने भेटिन्न । चाईनिज पाकेटमा आउने पिठोको दूध चिया पिउछन् । आलु, प्याज, गोलभेडा, लसुन सब बजाराँ किन्न जान्छन् ।
छोराछोरीले विदेशाँ कमाएर दुई पैसा पठाउछन् गाँउमा, अनि गाँउकाले सबै पठाउछन् शहराँ । ती शहरकाहरुले सबै पठाउछन् विदेशाँ । अनि भन्नुस् त विदेशमा दुःख गरेर कमा पैसा आखिर विदेशाँ नै पठाउने भएसि के काम लाग्यो विदेशमा दस नङ्ग्रा खियाएर कमाएर पठाएको पैसा । यसरी सधै विदेशीको काम गर्ने अनि विदेशी संगै किनेर खाने, भएपछि हाम्रो देशको आर्थिक वृद्धिदर कसरी बढ्छ । अनि कसरी हुन्छ देशको विकास??
त्यसैले अध्यक्ष ज्यु, हरेक नागरिकलाई आफ्नो गाँउघर फर्किने वातवरण सिर्जना गर्न एकदम जरुरि छ । ग्रामिण भेगका जग्गा खेतबारिमा बालिनालि उब्जनी गर्न प्रोत्साहन ल्याउन जरुरी छ । आधुनिक कृषि उत्पादन, व्यवसायिक पशुपालनको लागि दृढ पहलकदमी गर्न जरुरि छ ।
मल विउविजन वितरण, कृषि विज्ञहरुको परिचालन, सहुलियत कृषि ऋण नीति, बजार व्यवस्थापन, कोल्डस्टोरको परिवन्ध जस्ता अति आवश्यक कुराहरुको अविलम्व व्यवस्था गराई गाँउगाँउबाट कृषि क्रान्तिको सुरुवात गर्न जरुरि छ ।
हरेक युवालाई गाँउ फर्क अभियानै चलाएर । गाँउका युवा पुस्तालाई गाँउघरमा फर्काउन जरुरि छ ।अहिले मुख्य चुनौति यहि हो । यसरी काम गर्न सके मात्र गाउँ विकास सम्भव छ।” भनेर झ्याप्पै भनेपछि उनले टाउको हल्लाए । “एकदम सहि कुरा गर्नुभयो जेठा दाइ । मैले तपाईको सबै कुरालाई बुँदागत रुपमा टिपेको छु यो विषयमा बृहद छलफल गर्छु।” भनेर गएका छन् ।
अनि ठुले तेरो त्यो भाईलाई पनि बेलाबखत सम्झाउने गर । त्यो एउटा थोत्रा भटभटे किन्या छन् । दिनदिनै कता कता दौंडन्छन् । अस्तिन एकपटक खै त्यो थोत्रो भटभटेले कतातिर कुखुरा किचेछन् । र ईलाका प्रहरी चौकिले भटभटे समाएछन् । खै कुनचाहिँ हुन् माओवादिका नेता हुन् रे । ती नेताले बल्ल बल्ल पावर लगाएर, कुखुराको पैसा तिरेर बाईक छुटाएछन् ।
त्यसपछि जहिले “काम लाग्ने भन्या माओवादि रहेछ” भन्दै भटभटेमा माओवादिका झण्डा हालेर हिड्या थिए।
खै फेरि चुनावताका कुनचाँहि हो कङ्ग्रेसका नेताले प्रोजेक्टतिर जागिर खुवाईदिन्छु भन्यो रे भनेर । त्यसपछि पुरै भटभटेमा रुखको झण्डा राखेर “नेपाली कङ्ग्रेसको विकल्प छैन।” भनेर कुदि हिडे ।
बानी व्यवहार हेर्दा ठ्याक्कै माओवादि जस्ता छन् ठुले तेरा भाइ । घरमा पुराना कागजपत्र, कपडाहरु देख्नै हुन्न । सब च्यातेर फाल्छन् । कुरा सुने घाम पार्टिका अध्यक्ष नै होला जस्ता छन् । संसारमा कसैले नजानेका कुरा जान्या छन् ।
फेरि सौख हर्यो भने ठ्याक्कै रुख पार्टिका अध्यक्ष जस्ता छन् । विदेशी रक्सी पिउन पर्ने । विदेशी कुकुर पाल्नै पर्ने । विदेशी गीत सुन्न पर्ने । गाउँ थर्किने गरि घरमा भारतीय गाना बजाउछन् । भारतीयहरुको गुनगान गाउछन् ।
अस्तिन एकपटक साफसंग झपड दिए । “गोरु आफ्नो स्वार्थ ज जस्ले पूरा गरिदियो उसैको पछि दौडेर हुन्छ? चुनावको बेला आफ्नो स्वार्थ अनुसारको नेता छान्ने अनि चिया पसलमा, चोकमा बसेर देश नेताले विगार्यो भन्ने तिमिहरु हैन । नेता छान्दा आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर देश, समाज, समुदायको हित सम्झेर छान्नु पर्छ । अनि मात्र देशले निकास पाँउछ । नत्र सधै नेतालाई गालि गरेर मात्र हुनेवाला केही छैन । विचार गरेर हिडेस् ।”
भनेर भन्दिएपछि चाईनेजो आजकल खासै झण्डासण्डा बोक्न छाड्या छन् । पढाइ लेखाइमा ध्यान नभएपनि दिमाग ठिक छ त्यस्को । तँ जस्तै विदेश चाहिँ जान्न भन्छन् ठुले । त्यहि भएर खुशि लाग्छ ।
अनि ठुले, गाँउका मान्छे पनि रुष्ट छन् तँसंग । खै तैले पुरै कुलमानको पक्षमा लेखेको समाचार कता कताबाट पाएछन् । गाँउका मान्छेहरु हाम्रो बत्ति खोसेर काठमाडौका मान्छेलाई दिए भनेर कुलमान देखि रिसाएका छन् ।
हुन पनि गाँउमा आजकल बत्ति हप्तामा दुईतीन पटक जाने गरेको छ ।
मैले सम्झाउन त सम्झाएको छु ।
“गाँउमा एकदुई दिन बत्ति नहुँदा केही फरक पर्दैन । देशको राजधानी जस्तो ठाँउमा लोडसेटिङ मुक्त हुनु राम्रो कुरा हो । ठुला कलकारखाना, व्यवसाय, उधोगधन्दा उतै चल्छन् । सबै कुरा राजधानी केन्द्रित छन् । देशको मुटु उज्यालो भयो भने बिस्तारै सबैतिर उज्यालो हुनेछन् ।” भनेर भन्ने गरेको छु ।
लेख्नु त धेरै थियो तर तंसग पढ्ने समय नहोला । अर्का मुलुकाँ भने जस्तो सजिलो हुन्न भन्छन् । आफ्नो ज्यानको ख्याल गरेस् । चिठ्ठि पढेर मनन गरेपछि जवाफि चिठ्ठि लेख्न नबिर्सनु । गाँउको बारेमा सोच्न नछाडेस् ।
उहि तेरो बाउ।।
जेठा।।