दक्षिण कोरियामा चित्रकार एलविक्रम राईको एकल चित्रकला प्रदर्शनी शुरु
आइतबारदेखि बर्ड एण्ड नेचर चित्रकला प्रदर्शनीको शुरु भएको छ । दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा भैरहेको यो प्रदर्शनी आगामी जुलाई १५ सम्म जारी रहनेछ ।
चित्रकार एलविक्रम राईद्धारा तयार पारिएको चरा र प्रकृतिसंग सम्बन्धित ३१ वटा र अन्य ९ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । ललितकला मञ्च कोरियाको आयोजना रहेको प्रदर्शनीमा कोरियामा रहेका कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । ललितकला मञ्च कोरियाको अध्यक्ष उमेश लिम्बुको सभापतित्व र किराँत राई यायोख्खा कोरियाको अध्यक्ष बालकृष्ण राई प्रमुख अतिथी रहेका थिए । साथै कार्यक्रममा उदयपुर सैवा समाजका एम.के. चाम्लिङ, एनआरएन कोरियाका संस्थापक अध्यक्ष के पी सिटौला तथा एनआरएन आईसीसी प्रतिनिधि विनोद कुँवर पनि उपस्थित थिए ।
कार्यक्रममा चित्रकार राईले केही चित्र बनाएका थिए । प्रदर्शनीको उद्घाटन सत्रमा छंदेरी गु्रपको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो । चित्रकार राईको कोरियामा दोस्रो एकल चित्रकला प्रदर्शनी हो । यसअघि सन २०१५ मा पनि थ्री इन वान एकल सोलो चित्रकला प्रदर्शनी गरेको थियो । उदयपुर कटारी निवास चित्रकार ईपीएसमार्फत रोजगारको लागि ४ वर्ष अघि कोरिया आएका थिए । प्रदर्शनीलाई किराँत राई यायोख्खा कोरियाले प्रायोजन र उदयपुर सेवा समाज कोरियाले सहप्रयोजन गरेको थियो ।