सोल,
स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरिया र स्याङ्जा परिवार कोरियाको संयुक्त पहलमा गत मे १२ तारिखमा कोरियामा कामको शिलशिलामा औद्योगिक दुर्घटनामा परेर निधन भएका स्व. तेज बहादुर गुरुङ र स्व. छविलाल चौधरीको परिवारलाई राहत तथा सन्तवना स्वरुप संकलन गरिएको आर्थिक सहयोग छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।
कैलाली घर भएका छविलाल चौधरीको परिवारलाई अघिल्लो साता पोखराको नमस्ते कोरियन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी संकलित रकमको करिब २१% ( ने.रु. १००,०००) उहाँको सहोदर दाईहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । पुर्ववत दुवै समाजको निर्णय अनुसार नेपाली दाजुभाई र एकै कम्पनीमा संगै दुर्घटनामा परेको भएकोले मानवीयताको हिसाबले उहाँको नाममा २०% छुट्याउने निर्णय अनुसार उक्त रकम प्रदान गरिएको स्याङ्जा परिवारका सचिव बोम्जन गुरुङले जानकारी दिए ।
त्यसैगरी स्याङ्जा बिरुवा गाउँपालिका ७ मिर्दी ( साविक मनकामना १) का स्व. तेज बहादुर गुरुङ्को घरमै पुगेर उहाँको बाबाआमाको हातमा जुलाई २४ तारिखमा दुवै संस्थाका प्रतिनिधिहरुले आर्थिक हस्तान्तरण गरेका छन । स्याङ्जा भिरकोट आर्थर तमु समाजका उपाध्यक्ष सन माया गुरुङ , स्याङ्जा परिवारका अध्यक्ष राजु भण्डारी , सचिव बोम्जन गुरुङको उपस्थितिमा आफन्त र छरछिमेकीहरुको रहोबरमा ने.रु. ३,७४,६०० सहयोग सामुहिक हस्तान्तरण गरिएको थियो ।
स्व. तेज बहादुर गुरुङ र स्व. छविलाल चौधरीको परिवारलाई राहत तथा सन्तवना स्वरुप संकलन गरिएको सहयोग कोषमा स्वस्फूर्त तन,मनले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुमा दुवै संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।