भत्किएको गाउँ
कविता/
भत्किएको गाउँको
दुःख टाल्ने
ढलेका सपना
र,
लडेका आशा उचाल्ने
तिमी समाजसेवी हुन सत्तैनौ साइला !
किन कि,
समाजसेवी त
रु.पाँचहजार अङ्कित प्रमाण–पत्रमा पो भेटेको छु !
त्यसै समाजसेवी भनेँ
त्यसपछि,
निःशब्द छु ।
तर,
पहाडको वैशाखी बनेर
तिमी उभिईरहेको बेला
बतासले बच्चाहरुलाई
झ्याउरे गाईरहेका थिए !
आहाल ढिकमा पिपलको पातले
मेरो शब्द–शब्दमा हिर्काईरहेका थिए !
तसर्थ,
मलाई सुन्न सकेनौ !
ठीकै भो साइला !
लज्जित हुनबाट बचेँ !
किन कि,
जब गाउँबाट सहर पसेँ !
वरिष्ठ समाजसेवी
रु.पाँचहजार अङ्कित प्रमाण–पत्रमा भेटेको हुँ !
त्यसैले,
तिमी समाजसेवी हुन सक्तैनौ साइला !
त्यो अपाङ्ग, बुढो, अशक्त र अकिञ्चन,
भत्किएको गाउँको
साक्षात भगवाण हौ !…