रसियन-सोभियत कवि एभगेनी भन्छन :- “Poetry is like a bird, it ignores all frontiers.” उनका यी उद्गार अरुलाई कस्तो लाग्छ कुन्नि ? तर बुढाले मलाई नै ‘मेन्सन’ गरेर भन्या हुन जस्तो लाग्छ । नेपाली साहित्यमा खरोदरो उठिरहेको पहिचान साहित्यलाई प्रवासबाट मियो थामिरहेका साथीहरु सम्मिलित इतर साहित्य समाज कोरियालाई काँधमा बोकिरहेका दाजु पराजित पोमुको नीम्तो पाएपछि एक हप्ता अघि नै मन कम्पनिको साँघुरो घेराबन्दी तोडन आतुर थियो । उसो त हिजो आज कोरियामा प्रायः सबै कम्पनिले गर्मी विदा दिनुपर्ने समय हो । मेरो कम्पनीमा (संसारकै सबैभन्दा ठुलो पानीजहाज निर्माता (DSME) पनि १५ ने नाममात्रको विदा लागिसकेको थियो । निश्चित तालिकामा डेलिभरी गर्नुपर्ने जहाज प्राविधिक कारणले रोकिएपछि गर्मिविदामा पनि जहाजमा काम निरन्तर गर्नुपर्ने आदेश थियो चिक्जाङ(बरिष्ठ सुपरभाइजर) बाट । “पैसा कमाउन आएको किन विदा लिन्छस ओटी गर” फान्जाङ(सुपरभाईजर) चिम्से आँखा तरीरहन्थे ।
“यजा छिङगु(केटि साथी) भेट्न जाने?” सँगै काम गर्ने आजसी म माथि साउती गरीरहन्थ्यो । हो भनेर बूढोलाई इर्ष्यालु बनाईदिन्थे । बुढो चाउरिएको गाला मुसार्दै “मोज गर सेक्या” भनेर साइड लाग्थे । सँगै काम गर्ने किम यङ दोङ उमेरले ५० हाराहारीमा छन । र पनि बिहे गरेका छैनन । बूढोलाई मेरो केटि साथी छन भन्ने जवाफले भित्रैदेखि ईर्ष्यालु बनाउथ्यो । म आफ्नो विदा मिलाउन भ्याई नभ्याई थिए उता दाजु पराजित पोमु, कवि गणेश केरुङ र कवि सुरेश सिं सङवाहाङफे कम्तिमा दिनको दुई पटक जसरी पनि आउनुपर्छ भनेर धम्की दिन्थे । साह्रै जोड़बल गरेपछि दुई दिन अघि बल्ल तल्ल फानजाङबाट बोली फूत्क्यो । “इर्योइल हारुमान खाता वा सेक्कि थ्वी ए नुन नामोजी था छूल्गुन हेरा ।” ४० डिग्रिमा झुक्दै शिर निहुराएर ने ‘आल्गेसुम्निदा’ भन्न मैले कुनै हतार गरिन । तर नढाटि भन्नुपर्छ यजा छीङगु भेट्न जाने नभनेको भए मेरो विदा स्वीकृत हुँदैनथियो ।
एउटा तल्लो स्तरको मजदूरले कविता सुनाऊन जान्छु भनेर खोक्नु पूँजीवादि मानसिकताबाट ग्रसित कोरियनहरुले पत्याउन सक्ने गफ हुँदै होईन । शनिबारको ड्यूटी सकेर हतारीदै बत्तिए बुसानको हेउन्दे । दक्षिण कोरियाको हेउन्दे किनार विश्वमै गनिएको बीच हो । गर्मी मौसममा यो किनारमा जलक्रीडा गर्न विश्वभरका पर्यटक ओईरिन्छन । इतर साहित्य मेला ऊँही किनारमा हुँदै थियो । मन हो । उसै उसै बहिकीन्छ । किनारमा जलक्रीडामा रमाउने विकिनी युवतीहरुको मेला र साहित्यिक मेला दुवै सम्झदा खजे दो को खोयान बस टर्मिनलमा मिनेटको बस पर्खिन १५ वर्ष जस्तै लाग्यो । खजे दो कोरियाको दक्षिणी तटीय टापू हो । जँहा म रहन्छु ।
बुसान राजधानी सउल पछि कोरियाको दोस्रो ठुलो शहर हो । खजे र बुसान नजिकका भूगोलहरु हुन । वरीपरीबाट समुन्द्रले घेरीएको खजेलाई बुसानसँग जोड्न कोरियाले समुन्द्र मुनि सुरुङमार्ग बनाएको छ । ऊँही समुन्द्रमुनिको सुरुङमार्गबाट बत्तिदै सिङफ्यङ रेल स्टेशनमा ओर्लिएर कवि दाजु पराजित पोमुलाई पर्खिन थाले । पराजित दाजुले १५ मिनेटमा आउँछु भनेपनि करीब डेढ घण्टा कुराएर मात्र ‘हतारिदै’ आए । सामान्य औपचारिकता पछि दगुर्यौ एक नम्बर रेललाईनको प्लेटफर्म तर्फ । बुसान यकमा झरेर सउलबाट आउनुभएका प्रमुख अतिथि कवि मिलन कान्छा किराती, गीतकार उत्तम खजुम र कवि मातृका नेम्बाङलाई लिएर जानुपर्ने दायित्व थियो पराजित दाजुको । बुसान यकको रेलस्टेशनपछि यि तिनै जना थपिए हाम्रो यात्रामा । कुकुर कविताको बारेमा गफिदै गरेका हामी हाम्रो समूह भएकै डिब्बामा कवाडी सामान बटुल्ने आजसी सुरेगिको पोको घिसार्दै आए । रेलका सबै डिब्बाका शिट भरीभराउ भएकोले हामि उभिएरै यात्रामा थियौ ।
सोजु खाएर मुश्किलले खुट्टा टेकिरहेका तिनै आजसी फतफताउन थालेपछि हामी अर्को डिब्बातिर सर्यौ । हेउन्देको प्लेटफर्ममा हामी ओर्लदा रातको दश बजिसकेको थियो । सुश्मा राई, गणेश केरुङ, सुरेश सिं सङवाहाङफे, डम्बर सुब्बा र यल्जी विवश लगाययतका कवि मित्रहरु होटल बुक गरेर हामीलाई पर्खिईरहेका रहेछन । खाना खाएपछि इतर आवाज साहित्य समाजका जिम्मेवार पदाधिकारीहरु भोली विहानै देखि शुरू हुने कार्यक्रमको तयारी गर्नलाई हो या अरु नै छलफलका लागि अर्को कोठातिर लागे । बाँकी रह्यौ म, गणेश केरुङ, यल्जी विवश, मिलन कान्छा किराँति । नेपाली साहित्य, कविता र कविहरु माथि गफ जमिरहेको थियो । मिलन कान्छा किराती विश्वका दर्शन देखि लिएर नेपाली दर्शन र कविहरु अनि कविता बारे शब्दहरु तौलिएर बोल्थे । यिनी सँग यी विषयमा निस्सीम चेत र ज्ञान हुँदा हुँदै पनि लोभ गर्दै एकाध बहस गर्थे । गीतकार मित्र राई दोस्तिहाङ मलाई कुकुर कविता केहो? भनेर बेलाबखत सोधिरहन्थे । तर जवाफ दिनु अघि अर्को कोठामा पुगीसक्थे । अनुभूति साहित्यका प्रवर्तक कवि मित्र गणेश केरुङ नेपाली साहित्य, मुन्धुम र अन्य बैचारिक प्रवर्गहरु माथि लोभलाग्दो बहस गर्थे । ऊनि भोलीको इतर साहित्य मेलामा अनुभूति साहित्यिक आन्दोलनको घोषणा गर्ने तयारीका साथ आएका थिए । कवि यल्जी विवस कविता माथि लामो साधना गरेका कवि हुन । कविता लेखेरै बाँच्न सक्ने कवि हुन यिनी । यिनी कोरियाको सिफाल र सेक्की शब्दहरु सुन्न लायकको मान्छे होईनन । कुन रहरले यि शब्दहरु सुन्न हाङगुक धकेलीए कुन्नी ? नेपाली कविता र कविहरु माथि लोभलाग्दो प्रवचन दिने यल्जी विवश उसैपनि शब्दहरु तौलेर मात्र बोल्छन । यिन को प्रत्येक बोलीहरु मलाई कविता बोलिरहे झै लाग्छन । रमाइलो माहौल उसैपनि चलेकै थियो । हवाजाङशील(बाथरूम) जान्छु भनेर बाहिरिएका कवि यल्जी विवस हातभरी हाइट मेक्जुको जम्बो बोतल बोकेर भित्रीए । मिलन कान्छा किराती सात्विक रहेछन । बाहेक अरु हामि गणेश केरुङ र म उसै हतारोमा थियौ । दिनभर उर्लिएको प्रचण्ड गर्मी रूमानी साँझले सेलाउन सक्ने सामर्थ्य थिएन । साथीहरु ले मुश्किलले बुक गरेको रूमको एसि राम्रो हालतमा थिएन । एसिको आन्द्रा भुडी बाहिरै छरपस्ट थियो ।