एक बारको जुनी
धार्मिक मन हुनेहरु यो जुनी पछि हुने दुःखसुखका अनेक पहाड हुन्छन् भन्छन् । कतै तताएको कराई, कतै आरामको जिन्दगी, कतै पुर्नजन्म । हुन्छ भन्ने विस्वास हो नमरी कस्ले देखेको छ र ? मरे पछि को फर्केको छ र ? यी भनाई सत्य असत्य भन्नलाई । जे होस धेरै समय देखि मान्छे यी र यस्तै कुरा मान्छन् भन्छन् पनि ।
ती मानिने कुरा भए । कुनै गुरुवा, लामा, धामी, झाँक्री, पादरीले भन्नै नपर्ने जस्लाई पनि थाहा भएको सामान्य कुरा भनेको जीवन एक बारको हो । यो संसार पछिका अरु काल्पानिक जुनीका कुरा सत्यअसत्य जे भए पनि यो जुनी शास्वत् सत्य हो । यसका लागि कुनै बाइबल, कुरान, महाभारत वा त्रिपिटक पढ्नै पर्दैन । त्यसका जीवनसारका कुरा जान्नै पर्दैन । जाने राम्रै होला ।
एक बारको जुनी रंगीन, इन्द्रणीमय रंगीन छ । सातै रंगको । यो जीवन भागाई हो । यी रंग कुनै पुरै देखिन्छन् खुल्ला आँखाले कुनै देखिदैनन् । यो जुनीको भोगाई पनि त्यस्तै छन् । कुनै देखिन्छन् कुनै देखिनन् । कतै दुःख छ कतै सुख छ । कोरियाको काम, कोरियनको गाली, नगद पैसाको आम्दानी, घर परिवारलाई सहज जीवन यी देखिने पाटा हुन् । नदेखिने मन भित्रका कुरा भए । यी काम गर्दाका दुःखका कुरा भए । अनुभबहरु भौतिक होइनन् । त्यसैले अरुले देख्ने कुरा आएन । यी नितान्त ब्यक्तिगत हुन् । यस्ता कुरा साथीभाइ आफन्तलाई भने थाहा हुन्छ । त्यो पनि भोग्नेले जसरी भोग्छ सुन्नेले त्यही मात्रा अनुभब त के गर्छ र ? शायद जीवन भोगाई यस्तै होला ।
अहिले दक्षिण कोरियामा एक बारको जुनीलाई आफैले सिध्याउनेहरु बढ्दैछन् । मनका पीडाको भारले भौतिक जीवनको भारलाई सिध्याउँदैछ । यसरी एक बारको जुनी सकाउनेहरुसँग संसारलाई मतलब नहुन सक्छ । मरेछ है । फेरि अर्को मरेछ । कुरामा कुरा हुने मात्रै हो । कोरियाका ‘कामदार पत्रकार’लाई न्युज ब्रेक गर्न हतार हुने होला । नेपाली राजदुताबासका कर्मचारीलाई फेरी अर्को लास नेपाल पठाउनु पर्ने ‘लफडा’ होला । साथीभाइलाई कमाउनु पर्ने बेलामा कता कताको दौडधुप लगाउँदा मरेर पनि दुःखै दियो भन्ने अनुभब होला । दुनियालाई बालमतलब । खुबै गरे आफ्नो गाउँटोलको भाइबर गु्रपमा न्युज शेयर गरेर त्यसका मुनी ‘रिपका रिप’ लेख्लान् । एउटा तेस्रो मुलुकको तेस्रो दर्जाको एउटा मजदुर दुनियाँका लागि को न को ? तर उसको परिवारलाई ऊ पुरै दुनियाँ हो, संसार हो । यो कुरा कसैले भनि रहनै पर्दैन । यति कुरा जान्न कुनै ग्रन्थ पढ्नै पर्दैन ।
ऊ जन्मदा हुनेखाने परिबारको रहेछ भने परिवारमा सानो सानो ‘गेटटुगेदर’ भएको हुँदो हो । घरमा खुशी छाएको हुँदो हो । आमाबा मख्ख भएका हुँदा हुन् । बा आमा तिर पुलुक्क हेर्दै ‘ठीक गरिस् हाम्रो जीवन चलाउने छोरो पाइस’ भनेर मुखैले नभने पनि ब्यावहार त्यस्तो गरेका हुँदा हुन् । आमा पनि सुत्केरी ज्यानमा छोरोको अनुहारमा आफ्नो भबिष्य देखेर मनमा धपक्क खुशी छाएको हुँदो हो । भेटेका आफन्तले बधाईका चाङ लगाएका हुँदा हुन् ।
हुँदा खाने परिबारको भए पनि अनुभब र खुशी उस्तै हुने हुन् । बाले सुत्केरी आमाको लागि हुनेखानेबाट केही नगद ऋण ल्याएका हुँदा हुन् । मनमा ऋण कसरी तिरौला भन्ने भए पनि हैट छोरो पो के पिर भन्दा हुन् । कमाउँछ तिर्छ भन्ने लाग्दो । आमा भरखर जन्मेको छोरोको अनुहार हेरेर प्रसब पीडा भुल्दिहुन् । कथा त्यही सकिदैन् ।
परिबार जस्तो भए पनि हुर्काउन, बढाउन, पढाउन कम्ता मेहनत गरेनन् होला । पाइला पाइलामा दुःख खेपेर हुर्काए होलान् । अहिले जस्तो फेसबुकमा छिन छिनमा सन्तानको फोटो अपलोड गर्ने जमना नभए पनि आमाको आँखामा हरेक दिनको तस्बिर खिचिएकै हुँदो हो । पहिलो दिन सालनाल सहित जन्मेको बेला देखि घर नछाडुन्जेलका पल पलका तस्बिर आमाको मनमा रेकर्ड भएकै हुँदो हो । यो मेरो आमालाई हुने तेरो नहुने हुदैनहोला । सबै आमा उस्तै हुन् ।
छिसिक्क ज्वरो आउँदा पनि परिबारको मनमा ज्वरो आएको हुँदो हो । हुनेखानेले डाक्टरलाई देखाए होलान् । हुँदा खानेले भुत लाग्यो भनेर धामिझाँक्री लाए होलान् । चार हातखुट्टा टेकेर बामेसर्दा बाआमाका लागि दुनियाँ चलायमान भएको हुँदो हो । ताते ताते गर्दै दुई पाइला हिड्दै भुँईमा लड्दा पीडा आमालाई पनि भएको हुँदो हो । अनुहार जस्तो परे पनि बाआमाका लागि दुनियाँको सबै भन्दा मिलेको अनुहार आफ्नै सन्तानको हुँदो हो ।
ऊ लक्का जवान भए पछि मायालु मन भेटाएको हुँदो हो । कतै धोकेबाज मन पनि भेटाएको हुँदो हो । कसैलाई त्यही मान्छे मायालु भैदिन्छ । कसैलाई त्यही मान्छे धोकेबाज । जीवन रित भनेकै त्यही त होला । मायालुसँग माया बढ्दै जाँदा संसार बसाउन दुबै एक भए होलान् । उसको लागि उनी, उनको लागि ऊ आधा आधा संसार भएको हुँदो हो । उनको लागि उसको परिबार भनेकै ऊ हो । अरु थप साइनो आफन्त उबाटै सुरु हुने हो । आमा पछि श्रीमती उसको लागि प्रथमिक्ता राखेको हुँदो हो । वा पहिलोमा श्रीमती आएको पनि हुन सक्छ ।
हो यस्तै साझा कथा छन् सबै परिवारका । आफ्नै जीवन सकाउनेको परिवार पनि कथा उस्तै हुन् । फरक त अहिले परेको होला । ऊ मरेर गयो । कसैले गोली दागेर होइन । कुनै दुर्घटना परेर होइन । कालगतिले त हुँदै होइन । धत् आफैले आफैलाई मारेर । कसरी चित्त बुझाउने आमाबाले ? जिन्दगीभरि साथ दिने कसम खाएर ल्याएकी प्रियसीले ?
आफ्नै परिवारको संसार सकाउन के ले उक्साउँदो हो ? कस्तो मन हुँदो हो जीवनभरि आफ्नैलाई रुवाउने ? लेख्नेहरुले डिप्रशन, कामका गाह्रो, कम्पनीको पेलाई, के लेखे के के लेख्ने ‘प्लान’ गरेर बसेका होलान् । त्यस्ता कुरा भाँडमा जाओस । को छ पीडा नहुने मान्छे ? को छ जिन्दगीमा कतै न कतै डिप्रेसन नहुने मान्छे ? को छ दुःख रहित मान्छे ? संसारमा एक जना छ ?
कम्पनीले लेटर नदिदैमा ज्यान फाल्नु पर्छ ? मर्नु भन्दा नेपाल गए भयो नि ! नोदोम्बो गए भयो । हुदै हुदैन भने ‘इल्लिगल’ बसे पनि हुन्छ । एउटा केटीले अर्कैसँग बिहेगरि भन्दैमा झुन्डिनु पर्छ ? अर्को पाइन्छ नी । जाबो कोरियनले गाली गर्दैमा, लामो टाइम काम गर्दैमा, निन्द्रा नलाग्दैमा आदि इत्यादी हुँदैमा ज्यान फाल्नु पर्दैन । यस्ता वाहियत कारणले ज्यान फाल्नेहरुका बारेमा साथी बाला राईले फेसबुकमा लेखेजस्तो यस्ता मान्छेहरु भुत र पिचास मात्रै हुन सक्छन् । जिउँदोमा केही गर्न नसक्ने मरे पछि अरुलाई तर्साउने !