म विद्रोही कमलु सदा
मेरो प्यारो तिलाठी, कोइलाडी
मेरो स्वर्ग मुसहर वस्ती
त्यहाँ,
विभेदको बाढी उहिल्यै आएको हो
र, सबै खेत बगायो
जमीन छैन ।
अभावको आँधी उहिल्यै आएको हो
र, महल उडायो
घर छैन ।
फुदन सदाको साहसले
सिञ्चिएकोे एउटा झुपडी
दुःखका दस दुलोभित्र
मुसा लुकामारी खेल्थे
त्यसरी,
मुसाले पनि हेप्थे
मान्छेले त हेप्थे–हेप्थे !
बत्तासले पनि हेप्थे
घामले पनि हेप्थे
वादलले पनि हेप्थे
वर्षातले पनि हेप्थे ।
शोषकको साम्राज्य थियो
त्यसैले,
झुपडीभित्र गएको हो गरीबीको पहिरो
र त,
जम्थ्यो अगेनामा आँशुको आहाल
डुब्थे खुशीहरु
चर्किन्थे भरोशाका भित्ताहरु
भत्किन्थे आशाका पर्खालहरु
किचिन्थे कलिला मुलायम मुटुहरु
हृदयका दैलो बन्द थिए
थिए प्रकाशको किरण बन्द
हावाको पनि आवत–जावत बन्द थिए
मान्छे त मान्छे भैहाले
बत्तासले पनि ढोका उघार्दैन’थे ।
पानी पिएर होइन
मृत्यू पिएर विद्रोह गरेँ
मुक्तिको ढोका उघारेँ ।
म डुबेर सागरमा
पानीको साम्राज्य बनाएँ ।
मैले छोएको पानी नचल्ने ?
म कसैको घरभित्र छिर्न नहुने ?
महासागर भएर
प्रत्येकको घरभित्र छिरेको छु ।
अगेनो र कुल छोएको छु
समानता ल्याएको छु ।
मेरो पार्थिव शरिर
सद्गद्को लागि
नदेउ मलाई जमीन
यहाँ जमीन कसैको छैन ।
सबै रित्तो छ
सबै भूमिहीन छ ।
नत्र,
ए जमीन हुनेहरु
स्वर्गमा जमीन लिएर आउ
ए सम्पति हुनेहरु
स्वर्गमा सम्पति लिएर आउ
दुःखको दल–दलमा भासिएर
म जस्तै आँशु पिएर नआउ !
म जस्तै,
पानीको मृत्यू
पानीको चित्ता
पानीको दागबत्ती
पानीको चिहान, पानीको जमीनमाथि तैरिएर
पानीको महासमर–यात्रा कसैले गर्न नपरोस्
पानीले कुल छोएर समानता दिएको छु
विभेद सहेर कसैले म जस्तै मर्न नपरोस् ।
यही छ,
महासागरको स्वर्गबाट
म कमलु सदाको सन्देश !
नत्र,
चेतनाको ढोका खोलेर हेर्नू
विभेदको पर्दा च्यातिएर
समानता आईसकेको छ ।
त्यो वस्तीको घाम र बत्तास हेर्नू
निर्मल, चञ्चल उस्तैगरी छाईसकेको छ ।
(बाढी प्रकोपमा परेर तराईको मुसहर दलित वस्तीमा मृत्यू भएका भूमिहीन कमलु सदाको सम्झनामा लेखिएको कविता । )