कोरियन भाषा परिक्षा पास गर्नेहरु फागुनदेखि कोरिया जाने
काठमाडौं, गत जेठ २७ र २८ गते भएको कोरियन भाषा परिक्षा पास गरेर बसेका कामदारहरु फागुनदेखि कोरिया जान पाउने भएका छन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँचसय कोटा तोके पनि परिक्षामा १२ हजार एकसय आठ जना उतिर्ण भएका थिए । जसमा कृषितर्फ छहजार दुईसय र सेवा क्षेत्रमा चार हजार जान पाउने छन् ।
गत चैत्र ९देखि १८ गतेसमम अनलाइन मार्फत् ७५ हजार पाँच सय ८० ले दरखास्त दिएका थिए । उनीहरुको रोजगारी आवेदन फाराम तिहारपछि मात्र संकलन गरिने इपिएस शाखाले जनाएको छ । रोजगारी आवेदन फारम बुझाए पछि मात्र कोरियन रोजगारदाताले आफु अनुकूल कामदार बोलाउने छन् । अघिल्लो बर्षको तुलनामा यो वर्ष कोरियाले कामदारको माग तीन गुणा पुर्याएको हो ।
सन् २००८ देखि वैदेसिक रोजगार प्रणाली (इपियस)मार्फत दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपालबाट कामदार लैजान थालेपछि कोरिया जान खोज्ने युवाहरुको लाम नै लाग्ने गरेको छ । सन् २००८ यता ४८ हजार चारसय ८८ नेपाली युवाहरु इपियसमार्फत कोरिया गएको शाखाले जनाएको छ ।