छुसकमा रबिन एन्ड द न्यु रिभुलनसन र मन्त्र कोरियामा आउने
नेपालको चर्चित रक ब्यान्ड रबिन एन्ड द न्यु रेभुलेसन र दार्जिलिङको मन्त्र ब्यान्डले अक्टोबर ३ तारिखमा संगितिक साँझ गर्ने भएको छ । दक्षिण कोरियाको चाड छुसकको पहिलो दिन कार्यक्रम हुने आइतबार सउलमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था नेपकोरले जनाएको छ । ‘हामीले युवाहरुका लागि भनेर नै यो कार्यक्रम गर्न थालेका हौ । दुईवटा नेपाली ब्यान्डले एकै चोटी प्रस्तुति दिन लागिएको कोरियामा पहिलो चोटी हो ।’ नेपकोरका प्रवन्ध निर्देशक प्रदिप गुरुङले बताए । उनले कार्यक्रम निक्कै ब्यवस्थित र भब्य हुने पनि जनाए । नेपकोरले यस अघि बिभिन्न डान्सपार्टीको आयोजना गरि सकेको छ ।
भीआइपी र सामान्य गरि दुई प्रकारको टिकट हुने आयोजकले बताएको छ । सामान्य टिकटको मुल्य ३० हजार वन छ भने भिआइपी टिकटको लागि ५० हजार वन लाग्नेछ । कोरियाको बिभिन्न सहरमा रहेका नेपाली रेष्टुरेन्टमा टिकटहरु उपलब्ध छन् । गत बर्ष नेपथ्यले कार्यक्रम गरेकै केविएस एरिना हलमा सांगितीक साँझ हुनेछ । करिव चार हजार दर्शक क्षमता भएको हल राम्रो साउन्ड सिस्टम छ । दिउँसो तीन बजेबाट कार्यक्रम सुरु भएर रातको १० वजे समापन हुने आयोजकले जनाएका छन् ।