मेरो फाटेको जामा
कविता/
जब जब दसै नजिकिँदै गर्छ
तब मेरो बाल्यकालको दर्पण
नयन भरी नाच्न थाल्छ
जुन बेला गरिबीको चपेटाले
परालको छानो झुपडीको छाँया मुनि
अन्धकार साम्राज्य भित्र
सन्तानको भोकको प्यास मेटाउन
आमा माटोको भाडामा एक मुठी मकै
लिएर चुलानीर होमिनु हुन्थियो ।
आफै जलेर – आफै ठोसिएर
बाल्नु हुन्थियो आमा निभेको चुलो
म उफ्रिन्थे, नाच्थे, रमाउथे
देखेर संघारको दशै
देखेर आगनको दिपावली
तथापि,
लाग्थ्यो मेरो खुशी बिरुद्ध छ यो समय
कारण !
मेरो बाबाको पसिनाले रंगिएको
मेरो आमाको ममताले झल्किएको
मेरो नयाँ जामा क्षण भर मै
दु:खले बलेको अगेनाको झिल्का उठेर
प्वाल पारी दिन्थ्यो
जस्तै अनगिन्ती दु:ख र अभावको
प्वाल थिए हाम्रो भाग्यमा
त्यस्तै प्वालै प्वाल भए मेरो जामामा
भोलि पल्ट बिहानी घामको मिर्मिरे
भालेको सुरिलो भाका संगै
बाबा आमा मेरो ओठमा गुराँस फुलाउन
बजार जाने खास खुस गरे
तर मलाई जामाको प्वाल पुर्नु भन्दा
चिन्ता हाम्रो अभाव र दु:खको प्वाल पुर्नु थियो
त्यसैले मैले बाबा – आमालाई भने
नजानु मेरो ओठमा गुराँस फुलाउनु
हटिया -डबली
मैले बुझेको छु हाम्रो नियतिको अर्थ
बुझेको छु हाम्रो भाग्यको परिभाषा
तसर्थ बा- आमा भो नजानु बजार हटिया
जब पुरिन्न यो दु:ख र अभावको प्वाल
तब म फाटेकै जामा लाउछु
सधै ओठहरुमा गुराँस फुलाउछु
म अब फाटेकै जामामा दशै मनाउछु ।