आदिबासी जनजाति महासंघ बुसानको दीपावली साँझ सम्पन्न, सागरले तताए दर्शक

आदिबासी जनजाति महासंघ बुसान शाखाले मंगलबार गरेको दीपावली साँझ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आएका र कोरियामै रहेका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो ।
दिउँसो दुई बजेबाट बुसानको मिन्जु ख्वङवन हलमा सुरु भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती थियो । कार्यक्रको सुरुमा कोरियामै रहेका गायक बाबु मोक्तानले तामाङ लोक सेलो गाएर दर्शक नचाएका थिए । त्यस्तै कोरियामै रहेका दिलिप थापा र मगरसंघ बेलायतबाट आएका सबिता रानामगर र पबित्रा थापामगरले कौडा नाच प्रस्तुत गरेका थिए ।
नेपालबाट आएका राजेश पुमा राई र ताराप्रकाश लिम्बूले आफ्ना हिट गीतहरुले दर्शकलाई नचाएका थिए । नायिका तथा मोडल एलिसा राईले ठमेल बजार, काले दाइ जस्ता गीतमा नाच प्रस्तुत गरेको थियो । त्यस्तै गायिका मेलिना राईले कुटुमा कुटु, कम्मरैमा पटुकी जस्ता आफ्नो चर्चित गीतहरुले दर्शक नचाएकी थिइन । नेपाल आइडलका प्रतियोगी सागर आलेको क्रेज कार्यक्रम भरि नै देखियो । उनले नारायण गोपाल देखि कालीप्रसाद बास्कोटासम्मका जुन गीत गए पनि दर्शकले मनोरञ्जन लिए । उनले हो नीर जहिल्यै रिसाउने, कान्छिलाई घुमाउने काठमाडौ सहर, सालैज्यू जस्ता गीत गाउँदा दर्शकले ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे ।
‘हामीले सोचेको भन्दा पनि बढि साथीभाइको सहयोग पायौ । कार्यक्रम एकदम सफल भएको छ । यसले हामीलाई हौस्याएको छ ।’ आयोजक आदिबासी जनजाति महासंघ बुसान शाखाका सचिव दोस्तिहाङ राईले भने । ‘हामीले गर्न खोजेको राम्रो काममा सहयोग भएको छ ।’ उनले थपे । कार्यक्रम सफल भएकोमा महासचिब सुरेश सिंह साम्बाहाम्फे पनि खुशी थिए । ‘हामीले सकेको प्रयास गर्यौ । सबैले साथ दिनु भयो । हामी आभारी छौ ।’ उनले भने ।
तीन घन्टा भन्दा बढि चलेको कार्यक्रमको अत्यमा सबै कलाकार र सहयोगी मिडियाहरुलाई सम्मान गरिएको थियो ।