इपिएस भिषामा आउनेहरुको लागि सोचेको जस्तो छैन कोरिया
दक्षिण कोरिया एसियामा मात्र नभई विश्वमा विकशित नमुना देश हो । केही वर्ष अघिसम्म युद्धको मारमा परेर अत्यन्तै गरिबी मुलुक थियो । युद्धले गर्दा खानेकुरा केही थिएन । धेरै दुख र पिँडाहरु सहदै कतिपय कोरियनहरु काम गर्न अन्तै मुलुक गए र अहिले आएर यत्रो कम समयमा विकशित मुलुकका रुपमा चिनिएर एक ज्वलन्त उदाहरण बनेको छ । जसबाट नेपालीहरुले धेरै कुरा सिक्न सक्छन् । अहिले दक्षिण कोरिया विकाशको गतिमा भएको हुनाले र यहाँको जिडिपि दर पनि बढी भएको हुनाले संसारको प्राय जसो धेरै देशबाट मान्छेहरु आउँछन् र धेरै जसो यतै बस्न रुचाउँछन् । किनभने यहाँ युरोप, अमेरिका जस्तै हरेक चिजको सुख सुविधा छ । त्यहि भएर कोरियाको भिषा प्रणालीमा पनि अरु मुलुकको भन्दा अलि झन्झटिलो छ ।
हामी नेपालीहरुको कुरा गर्दा सन् २००७ बाट इपिएस सुरु हुनु अघि नै विभिन्न मेनपावरबाट काम गर्न कोरिया आएका भेटिन्छन् । र इपिएस लागू भएपछि धेरै नेपालीहरु कोरिया आएका छन् । विभिन्न भिषाको माध्यमबाट नेपाली मात्र नभई अन्य मुलुकका युवाहरु पनि कामको सिलसिलामा कोरिया भित्रिरहेका छन् । तर, लाखौं लाख कमाइ हुने कोरिया इपिएस भिषामा आउनेहरुको लागि भने सोचेको जस्तो छैन । नेपालमा हुँदा हामी सोच्छौं कि कमाइ लाख हुने भएपछि जस्तोसुकै काम पनि कसो गर्न नसकौंला र ? तर भन्न र गर्नमा धेरै फरक हुन्छ त्यो कोरिया आएर काम गरेपछि मात्र थाहा हुन्छ वास्तविकता के हो भनेर । हामी नेपालीहरुमा कडा काम गर्ने बानी नै छैन भन्दा पनि हुन्छ । सरकारी काम कहिले जाला घाम भनेर काममा आलटाल गर्दै समय बिताउने बानी परेको हामी नेपाली नेपालमा हुँदा कुनै फ्याक्ट्री कारखानामा खटेर काम गर्ने बानी नपरेर पनि होला कोरियामा काम गर्न हुने । त्यहि माथि एकहप्ता दिउँसो एक हप्ता रातको काम गर्नु पर्ने भएकोले पनि समयको तालमेल मिल्दैन । समय र अनुशासनमा हिड्नुपर्ने, काम ठग्न नपाइने, दिनको १२देखि १८ घण्टासम्म पनि एकोहोरो काममा जोतिनुपर्ने, त्यहिमाथि पालीपाली अर्थात् छिटोछिटो भन्ने कोरियनको दवाव, भाषाको समस्या, कोरियन जीवनशैली, सभ्यता, संस्कृति र खानपान नमिल्नु, रातदिन कोरियनको रुखो र गालीपूर्ण व्यवहार र कामबाट थाकेको शरीर त्यहिमाथि घरपरिवारबाट तनावले गर्दा धेरै जसो युवाहरु डिप्रेसनको शिकार बनेका हुन्छन् । कोरिया बसौं काम गर्न गाह्रो घर फकौं घरपरिवार, नातागोता, आफन्त र साथीभाईहरुले के भन्लान् भन्ने डर अनि अन्तिममा रोज्ने गर्छन् आत्महत्याको बाटो ।
आत्महत्या गर्नु नै समस्याको समाधान भने होइन । आफु त मरेर जान्छ बाँच्ने परिवारलाई जिन्दगीभरीको पिँडा । कुनै दुर्घटना वा केही भवितब्य परेर ज्यान गुमाउदा त के नै भन्न सकिन्छ र बल्लतल्ल पाएको मानव जिवनलाई जानीजानी आत्महत्या गर्नु ठुलो कायरता हो । आत्महत्या कायरतको पहिचान हो । बरु सक्नुहुन्न भने कोरिया छाडेर यहाँबाट युरोप(फ्रान्स, पोर्टुगल, पोल्याण्ड) पनि जान सकिन्छ । युरोप जान नसकेपनि आफ्नो देश फर्किनुस् । जिन्दगी संघर्ष हो उचारचढाव, दुख पिँडा बिनाको जिन्दगी के जिन्दगी । त्यसैले दुख कष्ठमा रमाउने प्रयास गर्नुुस् । बरु काम गर्न दुख गर्न सक्नुहुन्न आफ्नो देश फर्किनुस् । आफ्नो परिवारसँग बसेर हाँसी खुशी आनन्दको जिवन बिताउनुस् कसैको पर्वाह नगर्नुस् । तपाइलाई कसैले केही भन्दैन ।
कोरियामा कम्पनी अनुसार काम, दाम र सेवा सुविधाहरु पाइन्छन.। हुनत यहाँको सरकारले नै हरेक वर्ष ज्याला दर तोकि दिएको हुन्छ । तर पनि कुनै कुनै कम्पनीहरुले समयमा तलब नदिनु, कम्ती दिनु, प्रवासी मजदूरहरुलाई कोरियनलाई भन्दा कम्ती दिनु, मतभेद गर्नु, दुव्यवहार गर्नु यहाँको मुख्य समस्या हो त्यहि भएर कतिपय प्रवासी मजदूरहरु सहन नसकेर इलिगल पनि भइदिन्छन् र भको पनि छन् । तर सबै कम्पनी त्यस्तो छैन । राम्रा कम्पनी पनि छन् । खराब पनि छन् कस्तो कम्पनीमा परिन्छ कस्तो साहु पर्छ त्यो आफ्नो भाग्यको कुरा पनि हो ।
सबैभन्दा बढी समस्या कृषिमा देखिन्छ । कृषिमा काम गर्नेहरु कतिपय अति नै दुर्गम गाउँमा पुग्छन् । कामदारलाई विदाको सुविधा त्यति हुन्न । काम धेरै तलब कम, भिनिल हाउसभित्रको बसाइ, गर्मीमा पाकिदै जाडोमा कक्रिदै पनि काम गर्नुपर्छ । कतिपयले कहिलेकाँही शहर देख्न, साथीभाई भेट्न पनि पाउदैनन् । पहाडको फेदि, जंगलको बिचमा एकोहोरो काममा जोतिदाको पिँडा भोग्नेलाई मात्र थाहा हुन्छ । कृषिमा काम गर्नेको धेरै समस्या भएकै कारण कतिपय मुलुकहरुले कृषिमा काम गर्न आफ्ना नागरिकहरुलाई पठाउन नै बन्द गरेका छन् । तर नेपालले भने त्यही कृषि कोटा पनि अझ बढाउन पाए खुशी मान्छन् ।
इपिएसको नराम्रो पक्षलाई सुधार्नको लागि प्रवासी मजदूर संगठन(एमटियु) र केसिटियु मिलेर यस विरुद्ध निरन्तर आवाज उठाउदै आइरहेका छन् । र, हामीहरु पनि बसै प्रवासी मजदूरहरु मिलेर एक जुट भएर यसरी आवाज उठायो भने इपिएसको नराम्रो पक्षहरु सुधार गर्न सकिन्छ र इपिएसबाट डब्लूपिएस लागू गर्न सकिन्छ ।
अन्त्यमा तपाइहरु जो काम गर्न कोरिया आउदै हुनुहुन्छ सक्नुहुन्छ भने नेपालमा केही सिप सिकेर आउनुभए झन राम्रो नभए पनि शारीरिक र मानसिक रुपमा बलियो भएर आउनुहोस् । कोरियाको सुन्दरता टिभिमा हेरेर आहा भनेर त्यस्तै सपना बुनेर नआउनुस् । श्रम गर्न जाने हो जस्तोसुकै गाह्रो काम पनि गर्न सक्छु भन्ने मनस्थिति बनाएर आउनुस् । जे सुसै जस्तो सुकै काम पनि गर्न सक्छु भनेर आउनु भयो भने कोरिया बसाई राम्रो हुनेछ ।
भोजपूर
हाल, बुसान, दक्षिण कोरिया