वृद्ध मेशिनको जिन्दगी
अनुहार खिया परेको
हात भाँचिएर झरेको
खुट्टा हिलोमा गाडिएको
आवाज घ्यार–घ्यार गरेको
एउटा वृद्ध मेशिन
अलि’लि चल्ने
अलि’लि नचल्ने
यस्तै हालतमा
समय समात्न दौडिरहेछ ।
मेसिनको टपतिर
टाउको टुप्पीतिर कपाल नभएझै
हरियो इनामेल उप्किएको छ ।
कम्मरमा चुँडिन लागेको
कन्भेयरको फिता
बेयरिङ खसेर
दाँत उछिट्टिएको छ ।
ख्यङ्गीदोको सोलनजिक
ख्यउलमा माइनस बीस डिग्रीको ठिही
यरममा अठत्तीस डिग्रीको गर्मी
हरेक फेरिदो ऋतुको
अनुपम उपहार लिएर
बहत्तर बर्षे वृद्ध मेशिन
कुरिरहेछ मृत्यूको आगमन
धकेलिरहेछ खुरुमाभरि
फोजाङ गरिएका खुशीमा
नौंदेखि छ बजेसम्म
बेचिएका दिनहरु !
आफ्नै छेउबाट जीवनसङ्गीनी
अरुको हात समाएर गइन् !
हुर्किएकी छोरी कुटुम्बको भइन् !
छोरा, बुहारीसँग कत्ता हो कत्ता
यो चर्किएको झ्यालबाट
उम्किएको बत्तासझैं बेपत्ता छ !
अहिलेसम्म अत्तोपत्तो छैन,
जसरी,
यो मेशिनमाथि बिस्टी झार्ने
सेतो बिदुल्गीको
कुनै बस्ने ठेगाना छैन ।
पैसा छ, सबथोक छ !
पैसा छैन, केही पनि छैन
माया छैन
मुस्कान छैन
खुशी छैन
आफन्त छैन
जीवनसङ्गीनी छैन
आफ्नै जिन्दगी छैन ।
वृद्ध मेशिन
दिनभरी उभिएर
फलामको फूल उमार्छ ।
फोजाङ गर्छ ।
जीवनको हरेक अन्तिम खुशीलाई
त्यसै–त्यसै खुरुमाभरि भर्छ ।
कत्ति दुख्दो हो हिलोमा गाडिएको खुट्टा
कत्तिखेर चुँडिने हो कम्मरको कन्भेयरको फित्ता
कत्तिखेर बेयरिङ खसेर
फेरि उछिट्टिने हो
मृत्यू पर्खिरहेको पहेलो दाँत !
लाग्छ,
रहरहरु घोलेर
साइदासँग पिइसके
जवानीमै धेरै जिन्दगी
काइदासँग जिइसके
अब, उसै–उसै
हान नदी भएर बग्ने
अन्तिम घाम पर्खनु छ
उधैउधो बगेर
उभैउभो फर्कनु छ ।
विश्वासको
कुन प्रमाण देखाउँ ?
आफुलाई
कसरी चिनाउँ ?
बिग्रिन लागेपछि
भत्किन लागेपछि
बुढो भएपछि
कसैले सफा नगर्ने
कसैले माया नगर्ने
स्क्रु ड्राइभरले पेटभरी घोची माग्ने
माङ्छीले निधारभरि ठोकी माग्ने
मृत्यू पर्खेर
हरेक दिन नौ–नौ घण्टा
उभिएको वृद्ध मेशिन !
म नै हुँ भनेर !
शब्दार्थः
ख्यङ्गीदो– कोरियाको एक अञ्चल
ख्यउल– जाडो मौसम
यरम– गर्मी मौसम
खुरुमा– सामान आसार्ने गाडा
फोजाङ– पोका, सील, प्याकेट
बिदुल्गी– परेवा
साइदा– जुस(स्प्राइट)
हान नदी– कोरियाको राजधानी भएर बग्ने ठुलो नदी
माङ्छी– घन, ह्यम्मर
(एक बहत्तर बर्षीय कोरियन वृद्ध मजदूरमाथि लेखिएको कविता)