मैले देखेको द.कोरिया
कतिपय अवस्था बाध्यात्मक हुन्छन् कतिपय रहरमा कतिपय मिश्रित । मेरो सन्दर्भमा मिश्रित अवस्था हो विदेशिनु । हरेक कुराको दुईवटा पाटाहरु हुन्छन राम्रा र नराम्रा, तर म यहाँ राम्रो कुरो पहिले पस्किन्छु।
छोटो समयमा पनि विभिन्न वाधा अडचन झेल्दै आफ्नो संस्कृति जिवित राख्दै आर्थिक छलाङ मारेको देश हो द. कोरिया। यहाँको सार्वजनिक यातायात गज्जबै छ, गाडिमा प्रवेश गर्यो ड्राईभरले आफुभन्दा पहिले नै अभिवादन टक्र्याउँछ। युवायुवतीको जमात गाडिमा चढछन उनिहरु पछि कोई वृद्ध वृद्दा गाडिमा चढेभने सिट खाली गर्दिन्छन र उभिन्छन। सम्झिन्छु, आफ्नो देश जहाँ २५/२६ वर्षकि युवती चुईगम पटकाउँदै आउँछिन र अशक्त वुढाबालाई महिला सिटको जानकारी गराउँदै उभ्याएर आफु आनन्दले बस्छिन। यहाँको पसलहरुमा गयो भने निकै समय लगाएर सामान छान्यो मजाले हेर्यो चित्त बुझेन र नकिनी फर्कियो साहुले मीठो मुस्कानसहित अभिवादन गर्छ र फेरि आउन भन्छ ।
निकै अचम्म लाग्छ । देश सम्झिन्छु मेरो समय बर्बाद गरिस भन्दै मुख छाडिसक्थ्यो होला। एउटा ठाउँमा आफू समानको कोरियन युवकसँग आफ्नै गल्तिले ठोकिन्छु तर पहिले नै उ झुक्दै माफ माग्छ, अचम्म लाग्छ । देश सम्झिन्छु सायद मैले कुटाई भेटिसक्थे होला। चोर र डाका लाग्ने सम्भावना कति पनी छैन किनकी यिनीहरुमा त्यो सोच नै छैन । देश सम्झिन्छु दशै तिहारमा चोरी र लुटपाट। सबैभन्दा ठूलो कुरो यिनिहरु मिहिनेती इमानदारी र मिजासिलो जो कोहि विदेशीलाई पनि उनिहरुकै नागरिक सरह व्यवहार गर्छन । अचम्म लाग्छ देश सम्झिन्छु त्यो पानीपुरीवाला ईन्डियन भैयालाई गर्ने दुर्ववहार।
यहाँको रेस्टुरेन्टमा जान्छु देख्छु एक्लै कपाकप कोहि पनि खाईराख्या हुँदैन कम्तिमा पनि दुईजना हुन्छन हुन्छन, भन्छन (혼자 먹으면 맛 없어요) एक्लै खाँदा स्वादिलो हुँदैन। बिरामी भएर हस्पिटल गयो नर्स र डक्टरले गर्ने व्यवहारले नै आधी रोग निको बनाउँछ, देश सम्झिन्छु केही वर्ष अघि त्यो तिलगंगा हस्पिटलमा एउटा नर्सले दुर्गम गाउँबाट उपचार गर्न आएकी महिलामाथी गरेको अभद्र व्यवहार।
कतिपय अवस्थामा नकारात्मक कुराहरु पनि होलान तर ती विभिन्न परिस्थितिबाट सिर्जना हुन्छन र ति समस्याका समाधानहरु पनि साथसाथै छन। हाम्रो देशले सिक्नुपर्ने संस्कार र सभ्यताको कुरा मात्र हो। जब घर परिवार र समाज नै सभ्य र सालिन हुन्न भने देशको नेतृत्व गर्ने मान्छेपनी राम्रो हुँदै हुन्न। हामीसँग नियम कानुन नभएका हैनन सबै छन छैन त केवल ईमान्दारीता असल संस्कार र सभ्यता। यो देशलाई कोदो र मकै सहयोग गर्ने हाम्रो देश, उनिहरु अहिले गाडी र हवाईजहाज बनाउँछन हामी कोदो र मकैमात्र उमारेर बसिरह्यौ। सबैभन्दा पहिला सबै ईमान्दारी नै हुनुपर्ने देख्छु म यसो भो भने मात्र देशले असल नेतृत्व पाउँछ नत्र हामी पछिका धेरै पिढिले दुख पाउँछ।