कालमासको रुख
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।
शताब्दीको उचाई काखमा
धोद्रे रुखको टोड्कामा
एउटा विचारको टुसा
यसरी पलायो कि,
पछि आएर कालान्तरमा
कालमासको झ्याङ बन्यो !
कसै–कसैले नचिनेर
यसलाई भटमास भने
कालोमास पनि भने
मस्याङ, मुङ्ग, बदाम, बोडी
अनेक–अनेक नै भने
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।
रुखको टोड्कामा
यस्तो अनौठो अनाज,
फलहरु देखिए
एङ्गेल्सको ऐसेलु
स्टार्लिनको स्ट्रावेरी
लेनिनको लौका
माओको मकै
रुखभरि फलिरहेछ !
यि सबै–सबै राता रङ्गका थिए
त्यसको सुदूर हारमा
चाउएन लाइको चाउचाउको रुख थियो
चेको चेरी लहरा छुट्टै मनमोहक थियो
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।
एकदिन यसको चर्चा
विश्वभरी पुग्यो
सर्वहारा वर्गको
किसान, मजदूरको
सर्वप्रिय रुख बन्यो ।
नेपालमा पनि पुग्यो
नेपालमा रुख पुग्न सकेन
तर,
रुखको फोटोकपी पुग्यो
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।
नेपालमा,
रुखको फोटोकपी
कसै, कसैले लौका हो भने,
कसै, कसैले मकै हो भने,
कसै, कसैले स्ट्रावेरी हो भनेकाछन्,
कसै, कसैले केही पनि होइन भनेकाछन्,
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।
यो के हो ?
कसैलाई के थाहा ?
कसैलाई के थाहा भएन ?
रुखको हाँगा–हाँगा
जरा–जरा, पात–पात
विहानै घाम जन्मेर पनि
समय समात्न दौडिरहेछ
बेमतलबीहरु
दिनहुँ
एकापस लडिरहेछन्
फुटिरहेछन्
टुक्रिरहेछन्
बस् !
एकै ठाउँ अनेकौं फल पाइने
यो कालमासको रुख हो ।