उत्तर कोरियाले फेरी गर्यो क्षेप्यास्त्र प्रहार
दक्षिण कोरियाली समाचारसंस्था योनहापले उत्तर कोरियाले बुधबार राति एउटा नाम नखुलेको व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
गएको झण्डै अढाइ महिना यता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पुर्वतिर गएको जनाइएको छ ।
उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यस अघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भैसकेको छैन ।
उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहाद्वीपीय व्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । विश्लेषकहरुका अनुसार प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेटने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको छ ।
यसअघि गत एप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङ विरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।