कोरियामा जे देखियो
७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ ।
नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचका कृषि फारमको एकतर्फी अवलोकन गरियो । दक्षिण कोरियाको स्वायत्त प्रदेश जेजु टापुमा पाँच दिनका लागि आयोजना गरिएको एसिया प्रशान्त स्तरको कार्यशालामा भाग लिन त्यहाँ पुगिएको थियो ।
बाँकी पाँच दिन राजधानी सोल र सानो सहर जन्जुुमा बिताइयो । पाँचै दिनको तालिम तथा कार्यशाला २४ वर्षे युुवती मिन्हीले सञ्चालन र व्यवस्थापन गरिन् । सबै देशका सहभागीका प्रस्तावबारे उनलाई पूरै सम्झना थियो । सबै प्रतिस्पर्धीका प्रस्ताव अध्ययन गरेर पत्रव्यवहार गर्ने र छनोटका लागि पेस गर्ने कार्य उनले एक्लै गरेकी रहिछन् । उनी नवनियुक्त कार्यक्रम अधिकृत हुन् । उनलाई पुराना अभिलेखहरूको अध्ययन गर्न र नयाँ कार्यक्रम तयार गर्न अत्यधिक कार्य चाप परेको थियो ।
उनले भनिन्, “म राति १२ बजेभन्दा पहिले नसुतेको र बिहान ४ बजेभन्दा पछि नउठेको धेरै हप्ता भयो ।” तालिम चलिरहेका दिन उनको व्यस्तता अझ बढ्यो । उनलाई साथ दिने एक १८ वर्षीय किशोर किम थिए । अप्रत्यक्ष र आंशिक कार्यका लागि सहयोग गर्ने मात्र अन्य कर्मचारी थिए । एक जना अधिकृतबाटै आर्थिक, प्रशासनिक र तालिम सञ्चालनको सम्पूर्ण काम भएको थियो । विदेशबाट आउने सहभागी एक दिन ढिलासमेत आइपुुगे, तर आयोजकका तर्फबाट पूर्वनिर्धारित समयतालिकामा कुनै दिन एक सेकेन्ड पनि ढिलो भएन ।
नेपालमा १ बजेतिर, सवा २ बजेतिर भन्ने सुनिन्छ । त्यहाँ त १ बजेर ४ मिनेट, २ बजेर साढे ६ मिनेट भनेको सुनियो । भनिएको समयमा काम सुरु र सम्पन्न गर्ने त्यहाँको विशेषता रहेछ । हरेक दिन फरक ठाउँ, फरक रेस्टुराँ र फरक मेनु तर निर्धारित समयमा सहभागी त्यहाँ पुुग्नुु र टेबुलमा खाना तयार भइसक्नुुले त्यहाँ समयलाई उच्च महत्व दिइने रहेछ भन्ने प्रस्ट भयो । तालिम सञ्चालन, भोजन व्यवस्थापन, खर्च भुक्तानी, साइट भिजिटलगायत सबै कार्य एक्लै सम्पादन गर्ने कर्मचारीको अनुहार सधैं स्फूर्त देखिन्थ्यो । उनले आफू अति नै थकित भएको कार्यशाला सकिएपछि बल्ल हँसिलो अनुहारले खुलाइन् । जस्तो मुडमा रहेका सहभागीलाई पनि तालिम अवधिभर उत्साहित र फुर्तिलो राखिराख्न उनले आफूभित्रको थकानलाई लुकाएर कृत्रिम ताजगीपन देखाएकी रहिछन् र उनी त्यसमा पूर्ण सफल भइन् ।
बजेट अपुुगका कारण एक जना अधिकृतलाई सबै काम लगाइएको त पक्कै होइन होला । त्यति चापमा काम गर्दा कहीं–कतै सानातिना त्रुटि कमजोरी हुनुपर्ने हो । तर, त्यहाँ त्यस्तो केही भेटिएन । नेपालमा कामलाई निम्न स्तर भनेर वर्गीकरण गरिन्छ र त्यो काम कार्यालय सहयोगी (पियन) बाट गराइन्छ । त्यहाँ कार्यक्रम अधिकृतले नै सबै प्रकृतिका काम गरिन् । कामलाई सानो–ठूलो नभन्ने, समयको पूरै सदुपयोग गर्ने र चुनौतीपूर्ण कामलाई अँगाल्ने उनको चरित्र थियो । सहर घुम्दा सडक किनारमा प्लेकार्ड लिएर जुलुस गरेको देखियो । कारण सोध्दा ५० डेसिबलभन्दा ठूलो आवाजमा बोलेमा प्रहरीले लैजाँदो रहेछ, नाराबाजी गर्दा आवाज ठूलो भइहाल्छ कि भनेर अक्षरको प्रयोग गरिने रहेछ । सडक मिचिए पनि प्रहरीले कारबाही गरिहाल्ने रहेछ ।
जेजुमा प्रमुख पदमा पुरुषभन्दा महिला नै बढी छन् । कारण ऐतिहासिक र कारुणिक रहेछ । कुनै कालमा माछा मार्न गएका गाउँ–सहरका धेरै पुरुष समुद्रबाट फर्केनन् । सन्तान पाल्ने र घर–व्यवहार चलाउने जिम्मेवारीले महिलालाई साहसी बन्न प्रेरणा दिएको र बाध्यसमेत बनाएको रहेछ । जेजुको तीन विशेषता नारी, हावा र ढुुंगालाई मानिन्छ ।
मनसुनमा हावा पनि सँगै चल्ने हुुँदा त्यहाँ छाताभन्दा बढी प्लास्टिकको प्रयोग हुने रहेछ । त्यहाँ पनि ढुंगालाई भगवान् मानिन्छ । स्टोन पार्क त्यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो । कुनै कालमा मानव जातिलाई राक्षसबाट बचाउने देवी माताका रूपमा विशेष ढुंगालाई मानिने रहेछ । नेपालमा ढुंगा पूजा गर्ने अन्धविश्वासका कारण देश पछि परेको तर्कलाई त्यहाँको अवस्थाले समर्थन गरेन । समुद्री किनारको एक विशेष ढुंगाको दर्शन गर्न दैनिक हजारौं चिनियाँ पर्यटक ओइरिएको पाइयो ।जेजुको प्रमुख आम्दानी पर्यटन हो । त्यहाँको टेन्जिरिन (सुन्तलाजस्तो फल) र त्यसका चकलेटलगायत परिकार निर्यात आम्दानीको मुख्य स्रोत हो । पर्यटकको भोजनमा टेन्जिरिन अनेक रूपमा अनिवार्यजस्तै समावेश हुन्छन् । त्यसैगरी परम्परागत रूपमा तयार गरिँदै आएको भात र खुर्सानीको बेसमा बनाइने अचार पनि विभिन्न देशमा निर्यात भई मनग्य आम्दानी हुँदो रहेछ ।
सबैभन्दा अग्लो पहाड २ सय मिटर मात्र छ । त्यो पहाड चढ्नु गर्वको विषय हुने रहेछ । नेपालमा तुलना गर्ने विषयवस्तु सुन्तला, लप्सीलगायत थरीथरी मौलिक अचार र सुनौला हिमाल हुन् । धेरै नेपाली महिला कोरियनसँग विवाह गरेर बसेका छन् । सन्तानले कोरियाको नागरिकता पाइसक्दासमेत आमाले नागरिकता पाएका छैनन् । त्यहाँ नागरिकता पाउन परीक्षा उत्तीर्ण हुनुपर्ने रहेछ । परीक्षामा त्यहाँको राष्ट्रियता, गौरव र इतिहाससँग सम्बन्धित जानकारी सोधिन्छ । तर, विदेशी नागरिकको हित र संस्कृति संरक्षणका लागि सरकारले बजेट खर्च गर्ने रहेछ । सम्बन्धित राष्ट्रका व्यक्तिहरूलाई नै पदमा नियुक्त गरेर त्यस्तो जिम्मेवारी दिन्छ । कोरियामा सार्वजनिक स्थलहरूमा हामीले सूचना पाउन अन्तिमसम्म कुर्नपर्ने रहेछ । सुरुमा कोरियन, त्यसपछि चाइनिज, अनि जापानिज र अन्तिममा मात्र अंग्रेजी भाषामा जानकारी दिइन्छ ।
त्यहाँ पर्यटकको संख्यालाई आधार मानेर भाषा प्रयोग गरिने रहेछ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक हुन्छन् । तर, यहाँ हिन्दीमा सूचना दिँदा कति उत्पात होला ? कोरियामा इतिहासकालीन युद्धस्थल, सामग्री, अभिलेख, राजाका दरबार र प्रयोग गरेका स्थानहरूलाई संरक्षण गरेर राखिएका छन् । नेपालमा जस्ता जाँतो र ढिकी छन् । प्राचीन संरक्षित स्थल, पहिरनहरू र प्रयोग गरिएका सरसमान हेर्न मात्र होइन, शुल्क तिरेर प्रयोग गरेर तस्बिर खिचाउन सकिन्छ । ऐतिहासिक स्थल र सामग्री आम्दानीका राम्रा स्रोत हुन् । विदेशीले कोरियामा स्थानीय सिमकार्ड नकिनी सम्पूर्ण रूपले संवाद गर्न सक्ने रहेछन् । त्यहाँ सबैजसो ठाउँमा फ्री वाइफाइ उपलब्ध छ । मोबाइल एपबाट जुनसुकै ठाउँमा उभिएर ट्याक्सी बोलाउन सकिन्छ । कल गर्नासाथ नजिक भएको ट्याक्सी आउँछ । यहाँ जस्तो बार्गेनिङ गर्नु पर्दैन, जहाँ गए पनि मिटरमा उठेको पैसा तिर्ने हो । ट्याक्सी खाली छ या छैन भनेर थाहा पाउन छतको बत्तीले संकेत गर्छ । खाली ट्याक्सी हात दिएर पनि रोक्न सकिन्छ ।
सार्वजनिक बसका रुटहरू र बस कहाँनिर आइपुुगे भनेर मोबाइल एपबाट जानकारी लिन सकिन्छ । त्यहाँ सिम डाटा अत्यन्तै सस्तो छ । मेसिनले रोपेका फसलहरू रहरलाग्दा देखिन्छन् । सबै खेतमा कृषि सडक र नहर पुुगेका छन् । खेतमा आवासीय घरहरू छैनन् । गुणस्तरीय बीउ, मल र पानीका कारण होला, अन्नबाली समान स्तरमा सप्रेको देखिन्छ । राजमार्गमा सवारी साधन घुम्न वा सहायक बाटो जानुपरे अरू सवारी साधनलाई कुनै बाधा नपुुग्ने व्यवस्था गरिएको छ । बीचबीचमा सब वेमार्फत घुम्ने व्यवस्था गरिएको छ । सुरक्षित सडक र ट्राफिक नियमको पालनाका कारण तीव्र गतिमा सवारी साधन चल्दा पनि दुर्घटना नहुँदा रहेछन् । सबै यातायातको अवस्था सिसिटिभीमार्फत केन्द्रबाट चौबीसै घण्टा मोनिटर गरिन्छ।