मोयोकथाङको मजा
‘दिदी भोली मोयोकथाङ जाउँ है’, म कोरिया आएको त्यस्तै दुई तीन महिना पछि होला बहिनीले भनि । ‘मोयोकथाङ ?’ मैंले प्रश्न गरें । ‘अँ दिदी, मोयोकथाङ तातो पानीमा नुहाउने ठाउँ’, उनले सामान्य जानकारी दिइन् । तातोपानी भन्नासाथ मलाई तिब्बतको खासाबजार नपुग्दैको तातोपानीमा केहीबर्ष अघि घटेको घट्नाको याद आयो ।
आमाको हातखुट्टा र शरीर प्रायः झम्झमाइ राख्ने, बेलाबेलामा ठेउला उठ्ने विरामी थियो । जति औषधी उपचार, धामी झाँक्री गर्दा पनि रोग जस्ताको तस्तै । कहिलेकाँही आमा भन्थिन्, ‘जमिनबाट निस्केको तातोपानीमा डुब्न पाए अलि सञ्चो हुन्थ्यो कि ?’ मैंले आमाको इच्छा पुरा गर्न अफिसमा दुई दिनको बिदा मिलाएर आमालाई तातोपानी लिएर गएँ । हामीसँगैको यात्रामा नाता पर्ने बोजु र छेमा पनि हुनुहुन्थ्यो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भने झैं तातोपानीको यात्रासँगै खासा बजार पनि घुम्ने उदेश्यले हामी निस्कियौं ।
मितेरी पुल पार गर्दै तिब्बत र नेपालको सिमानामा बसेका चिनिया सैनिकलाई हाम्रो नागरिकता देखाएर हामी पारी बजारतिर छिर्यौं । केही किनमेल गरेर फर्किने बेला ब्याकबाट पर्स निकाल्न खोजें पर्स गायव, सातोले ठाउँ छाड्यो । फेरी एकफन्का बजार घुमें सामान किनेको पसलमा सोधपुछ गरें सबैले देखिन भने ।
मलाई पैसा भन्दा पनि आमा र मेरो नागरिकता हराएकोमा चिन्ता बढ्न थाल्यो । अब पारी कसरी फर्किने भन्ने पिरले सतायो । एकजना नेपाली प्रहरी देखिए उनलाई सबै बेलीबिस्तार लगाएँ । उनी ससस्त्रपट्टिका रहेछन् । ‘यहाँ धेरै चोरहरु हुन्छन् होस् पुराउनुपथ्र्यो तर अब चिन्ता नगर्नुस् म पारी गएर जसरी हुन्छ फर्किने कागज बनाएर ल्याउछु’, उनले त्यसो भनिरहँदा हेर्दै डर लाग्दा दुई जना पुरुष बाइकमा हाम्रो अगाडि आएर रोकिदै भने, ‘यो पर्स तपाइको हो ?’
मैंले पर्ख देख्नसाथ चिनिहालें । मनमा खुशीको सिमा रहेन । उनले भने, ‘यो पर्स तपाइको भए दशहजार दिनुस् लानुस् किनकी हामीले बाटोमा भेट्याएर इमान्दारिताकासाथ पर्सको मान्छे खोज्दै छौं’, राम्रो नेपाली बोल्न नसक्ने भुसतिघ्रेले भन्यो । ‘हँ दशहजार ?’ म तर्सें ।
‘हो दशहजार भेटेर फिर्ता दिएको चार्ज ।’ ऊ निर्धक्क मोलतोल गर्दै थियो । ‘तपाइहरुले हाम्रो सामान भेटेर फिर्ता दिनु आउदै हुनुहुन्छ यसको लागि धेरै धेरै धन्यवाद किनकी यो पर्सभित्र पैसा भन्दा पनि हाम्रो महत्वपुर्ण कागज, नागरिकता थियो । तर मेरो जति पनि पैसा थियो यहि पर्सभित्र थियो मसँग फाल्टो पैसा छैन म के दिउँ ?’ मेरो कुरा सुनेर ‘त्यसो भए यो पर्स पनि दिन्नौ’ भन्दै बाइक घुमाउन थाल्यो ।
मनमा झन डर पैदा भयो । मैंले फेरी बिन्ति गरें त्यो ठाउँमा झगडा गर्नु भन्दा राम्रो मुखले भन्नु नै उत्तम ठानेर । हामीसँगै बसेका पुलिसले पनि केही पैसा दिएर पर्स लिनुस् यी भोटेहरु डेन्जर हुन्छन् भनेर सम्झाउदै थिए । ‘पैसा नै छैन त म कहाँबाट दिउँ । भएको पैसा जति यहि पर्समा थियो । खै पर्स दिनुस यहाँ भएको पैसा सबै तपाइहरुलाई नै दिन्छु,’ मैंले हात बढाउदै भनें ।
‘अहँ पहिला पैसा दे अनिमात्र दिन्छु’ भन्दै पर्स उसले च्यापिरह्यो । मैंले पैसा नभएको जिकिर गरिरहें । उसले भन्यो, ‘लल भो पाँचहजार दे लैजा ।’ ‘नभएको पैसा कहाँबाट दिनु ? हामीसँग भएको पैसाले सामान यहि हो किनेको यहि सामान लानुस् अरु चाहिन्न हाम्रो नागरिकता मात्र झिकेर दिनुस् तपाइलाई के काम त्यसको ।’ म रिस र डरले काम्दै रुन थालें ।
‘ला लैजा तेरो पर्स’ भन्दै भुइमा फालेर उनीहरु हुँकिए गाली गर्दै । मैंले पर्स टिपेर हेरें नागरिकता, एटिएम कार्ड र पासपोर्ट साइजको फोटोमात्र थियो पर्सभित्र । छहजार पैसा र युएसबि(पेनड्राइभ) थिएन । तै नागरिकता पाइयो । त्यसैमा मन ढुक्क भयो ।
*****
प्रसंग तातोपानीमा नुहाउने अर्थात मोयोथाङकै । बहिनी र म मोयोकथाङ गयौं । काउन्टरमा पैसा तिरेर भित्र पसेपछि बहिनीले धमाधम कपडा खोल्दै लकरमा राखिन र चाबी लगाइन । मलाई अरुको अगाडि निर्वस्त्र हुन अप्ठेरो लागिरह्रयो । तावलले अगाडिको भाग ढाक्दै भित्र पसें । तातोपानीको बाफ उडिरहेको थियो । आइमाइहरु नांगै कोहि नुहाइरहेका थिए कोही तातोपानीमा डुबिरहेका थिए । मेरो अनुहार लाजले रातोपिरो भयो । सबैले मेरै शरीरलाई नियालीरहे झैं लाग्यो ।
‘मलाई पनि सुरुसुरुमा त लाज लाग्थ्यो तर अब त बानी भयो’, बहिनीले मेरो मनोदशा चिर्दै भनि ।
मोयोकथाङ अर्थात् सावना कोरियाको संस्कृति नै बनिसकेको छ । हरेक गल्ली, शहर वा बस्तीमा मोयोकथाङ व्यापार खुब फस्टाएको छ । कोरियामा मोयोकथाङको मजा नलिने सायदै होलान् । अझ जाडोयाममा त दिनहुँ मोयोकथाङ धाउनेहरु भेटिन्छन् । सामुहिक रुपमा महिला र पुरुषको छुट्टाछुट्टै रहेको मोयोकथाङ परिवारको लागि मात्र पनि छुट्टै पाइन्छ जसलाई खाजोकथाङ भनिन्छ । अर्को हुन्छ चिन्चिलभाङ जहाँ तातोपानीमा नुहाएर तातो कोठामा बस्ने, खाने, आराम गर्ने वा सुत्ने ठाउँ हो । कोरियनहरु जति नै व्यस्त भएपनि हप्तामा एकपटक मोयाकथाङ वा चिन्चिलभाङ पुगेकै हुन्छन् ।
मोयोकथाङमा धेरै मान्छे आउने भएकोले फराकिलो र सुविधायुक्त बनाइएको हुन्छ । नुहाइसकेपछि ससानो पोखरी जस्तो बनाइको तातोपानीमा आनन्दले डुब्न सकिन्छ । तातोपानीमा बस्दा थकाइ र तनाव मात्र कम हुन्नन् रुघाखोकी, छाला चिलाउने वा शरीर दुख्दा धेरै पनि उत्तिकै लाभदायक हुन्छ । तातो पानी र ठिक्कको तातो पानी भएको छुट्टाछुट्टै पोखरी हुन्छ । आफुलाई जुन ठिक लाग्छ त्यसैमा बस्दा हुन्छ तर अलि सानो मोयोकथाङमा भने एउटै मात्र हुने भएकोले धेरै तातो चाहिए तातो पानी खोल्ने बढी तातो भए चिसो पानी खोल्दा हुँन्छ ।
अधिकांश ठुलठुला मोयोकथाङमा भने धेरै तातो, कम तातो पानी भएको दुइटा पोखरी बनाइएको हुन्छ । त्यस्तै, तातोपानीबाट निस्केर चिसो पानीमा पस्नको लागि पनि धेरै चिसो र कम चिसो पानी भएको पोखरी हुन्छ । अनि त्यहिभित्र छुटै सावना वाफ लिने ठाउँ यो पनि कम तातो र धेरै तातो वाफ आउने ठाउँ हुन्छ । किनकी मोयोकथाङमा केटाकेटीदेखि बुढाबुढीसम्म जाने भएकोले सबैलाई हुने गरी बनाइएको हुन्छ । हरेक मोयोकथाङमा सानो चिन्चिलभाङ पनि हुन्छ जहाँ नुहाएर आराम गर्ने ठाउँ हो ।
ढाड माढेर मैलो निकाल्ने मेशिनदेखि छुट्टै पैसा तिरेर अनुहारको फेसियलदेखि बडीमसाज गर्ने व्यक्ति पनि त्यहि भित्र तैनाथ रहेका हुन्छन् । त्यस्तै आफुलाई पिउन मन लागेको सफ्ट ड्रिंक्सदेखि प्रयोग गर्ने स्याम्फु, सावन, तावल सबै उपलब्ध हुन्छन् ।
बहिनीसँगको पहिलो मोयोकथाङ अनुभवपछि अर्कोपटक श्रीमानसँग गएँ । तर श्रीमान पुरुषकोतिर लागे म महिलाको तिर । बल्लतल्ल कपडा खोलेर भित्र पसें । महिलाहरुले फेरी मलाइ नै क्वारक्वार्ती घुरिरहे झैं लाग्यो । द्धवापरयुगमा कृष्णजीले नाङगै नुहाइरहेका गोपिनीहरुको लुगा लुकाइदिदा एउटा हातले गोपिनीहरुले आफ्नो लाज ढाके झैं म पनि हातले छोपिदै एउटा कुनामा गएर नुहाएँ । तातोपानीमा एकछिन बसेर चिसो पानीमा डुबुल्की मारेर सोना बाफ लिएर निस्कें । दुई घण्टाको समय भएकोले बाहिर निकैबेर श्रीमानलाई पर्खिबसें ।
तेस्रो मोयोकथाङ अनुभव सासुसँग रह्यो । सासुले मेरो ढाड माडिदिदा मलाई मर्नु न बाँच्नु जतिकै अप्ठ्यारो लाग्यो । मैंले पनि सासुको ढाड माडिदिएर छिटै निस्कें छोरीलाई लिएर । सासु चारघण्टापछि मात्र घर आइन् । केहीदिनसम्म मोयोकथाङमा भेटिएका छिमेकीहरु बाटोमा भेट्दा सिधा नजरले हेर्न पनि लाज लाग्थ्यो । बिस्तारै मलाई पनि बानी पर्दै गयो । अहिले त हरेक शनिबार आमाछोरीको मायोकथाङ(सावना)जाने रुटिन नै भइसक्यो ।