चौधरीलाई आयोगले प्रमाणपत्र नदिएकोप्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आपत्ति
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थारु समाजका अगुवा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी र जालसाजी गर्न खोजेको प्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले घोर भत्षणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गत मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट ३४ हजार ३४१ मत ल्याइ चौधरी प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएका छन् ।
टिकापुर हत्याकाण्डका मुख्य आरोपी ठानिएका रेशमलाल चौधरी अपराधी हुन वा होइनन् यो निर्वाचन आयोगको काम होइन, यो अदालतको काम हो र अदालतले प्रमाणित नगरेसम्म कसैलाई अपराधी भन्ने अधिकार छैन भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सदियौं वर्षदेखि विभेदमा पारिएका तराइका भूमिपूत्र थारुलाई अझपनि मूलधारमा नेतृत्व गर्न नेख्न नसक्ने विभेदकारी व्यवहार प्रष्ट भल्किन्छ ।’
सभासद चौधरीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिन हिचकिचाहट गरेकोप्रति ध्यानाकर्षण गर्दै थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले निर्वाचन आयोगले जनताको कदर गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नु सुझाप दिएको छ । यदि आयोग लाचारी भइ आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यो भने यसबाट उत्पन्न भएको असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वंय निर्वाचन आयोग हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।