विकसित देशहरुमा सबै भन्दा बढि आत्महत्या गर्ने देश दक्षिण कोरिया
विकसित देशहरुमा दक्षिण कोरिया सबै भन्दा बढि आत्महत्या गर्ने देश हो । दक्षिण कोरियाले अबको पाँच बर्षमा आत्महत्या गर्नेको संख्या तुलानात्मक रुपमा कम गराउने उदेश्य लिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय लिएको हो ।
सन् २०१६ मा एक लाख कोरियन मध्ये झन्डै २६ जना मानिसले आत्महत्या गरेका थिए । यो संख्या यस बर्ष पनि खासै नघटेको अनुमान गरिएको छ । सरकारी लक्ष्य सन् २०२२ सम्म एक लाख कोरियन मध्ये आत्महत्या गर्नेको संख्या १७ जनामा झार्ने रहेको छ ।
विश्व धेरै विकसित देशमा आत्महत्या गर्नेहरुको संख्या घटि रहेको भए पनि दक्षिण कोरियामा भने सन् २००० देखि उल्लेखनिय रुपमा बृद्धि भएको छ । यति धेरै मानिसहरुले किन आफ्नै ज्यान लिइरहेका छन् भन्ने थाहा पाउनका लागि बिगत पाँच बर्षमा आत्महत्या गरेका झन्डै ७० हजार मानिसहरुका जीवनशैलीको वैज्ञानिक अध्ययन गर्ने जनाएको छ । त्यसबाट निस्कने निष्कर्षकै आधारमा सरकारले के कस्ता कामहरु गर्ने हुन् भन्ने निर्धारण गर्ने जनाएको छ ।