सोनाम ल्होछारको बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
तामाङ संघ दक्षिण कोरियाले २८५४ खि ल्हो कुकुर वर्गको सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ । संघले सो अबसरमा गर्ने वृहत सांस्कृतिक कार्यक्रम तयारी पनि लगभग पुरा भएको जनाएको छ ।
कार्यक्रमका लागि नेपालबाट कोरिया आउने कलाकार र कार्यक्रम स्थल समेत छनोट गरेको छ । नेपालबाट गायिका बबिता पाख्रीन, म्हेन्दोला माया गायक हेम वाईवा, ध्रुव तामाङ, असुसेन लामा,डान्सर निशा लामा आउने भएका छन् । कोरियामै रहेका गायक बाबुलाल मोक्तान, अमन थिङ र युनिक दोङ भावश्वी बोम्जनको पनि प्रस्तुति रहने संघका महासचिव मेघप्रसाद वाइवाले बताए । ‘कार्यक्रमको तयारी लगभग सकियो । हामी उत्साहित छौ ।’ उनले भने ।
कार्यक्रम सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ मा सउलको एडब्लु कन्भेन्सन सेन्टरमा हुनेछ । ‘यो हल दक्षिण कोरियाकै राम्रो हल मध्येको एक हो । हामीले कोरियामा रहेका सबै नेपालीको सहभागिता हुने बिस्वासका साथ स्तरिय ठाउँ छानेका छौ ।’ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक उइना सिं वाइवाले आशा ब्यक्त गरे ।