सम्झना
कम्पनीको कामबाट लखतरन भएर निस्कने बेला
निलो आकाशमा पिलिक्क पिलिक्क लाइट बाल्दै
हवाइजाहज उडेको देख्छु
म सम्झन्छु मेरो गाउँ
जहाँ छ मेरो संसार ।
मैया छे माया बोकेर बसेकी
आमा छे भञ्ज्याङ तिर आँखा लाउँदै बसेकी
बा छन् बुढेकालको साहरा फर्केला कहिले भन्दै बसेका
हो त्यही संसार सम्झन्छु
एक दिन म पनि यस्तै विमान चढ्ने छु
यो कम्पनी र कम्पनीका साहुहरु सबै तल हुने छन् भुईँमा
म अकाशबाट फन्को मार्दै
मनमनै ढुङ्गा मन्छाएर फाल्नेछु यता तिर
अनि जानेछु मेरो संसारमा ।
रातको खाने ब्रेकमा आकाशमा जुन तारा देख्छु
मेरो गाउँमा पनि टल्कने र झुल्कने तिनै हुन्
मनमा खुशी लाग्छ
यस्तै जुन लागेको बेला
बा अगेनाको छेउमा तातो पानीमा तोङ्वा तन्काउँदै होलान्
आमा मर्ने लागेको आगोलाई मन नलागी नगाली फुक्दै होली
मैया ?
अँ साँच्ची के गर्दै होली ?
जुनेली रातमा
आकाशबाट झर्दै गरेको तारालाई देखाउँदै
जीवन भर कहिल्यै नछुटिने कसम खाँदै
र सपनाका कुरा गर्दा गर्दै भाले बास्थ्यो
यस्तै कुरा सम्झेर आँशु झार्दै छे कि ?
हिउँदको चिस्यानको सिरेटोले
कम्पनीको बाक्लो लुगा छेडेर मुटु छुन्छ
यस्तै सिरेटो आउँथ्यो हाम्रो हिमाल तिरबाट
पहिल्यै किनेको जाकेट च्यातिए पछि
मैयाले जतनले उस्तै रंगको धागोले सिलाइ दिन्थी
नयाँ धागोको धर्सो देखिन्थ्यो पुरानो जाकेटमा
घप्लक्क लाएपछि छुदैनथ्यो हिमाली जाडोले पनि ।
आकाशमा उडेको हवाइजहाज र
जुन तारा देखे पछि म मेरो गाउँ सम्झन्छु ।