मन
गोकुल थोकर
यो दुनियाँ हो साथी दुनियाँ
तिखा काँडा भन्दा
बढि तिखा बचनहरु छन
बेलाबेलामा घोचिरहन्छन्
घोचाईका घाउले पाक्छ यो मन
समाल्न गाह्रो छ ।
मसँग भएको मनलाई
थोरै कुराले पोल्छ
धेरै सम्झनाले सताउँछ
केही नभएको जस्तो देखिए पनि
अनेक भैरहन्छ अनेक ।
छरपस्ट छरिएका
चाङ छन् यादहरुका
मिलाएर सम्माल्ने पनि फर्मुला छैन
पुराना यादहरुलाई
नयाँ नयाँले छोप्दै जान्छ ।
कहिले कहिले पुराना यादहरुले
च्वास्स च्वास्स बिझाइन्छ
दुखि रहन्छ
यस्तो मन बोकेर
कति हिड्नु साथी ?
जमना किनबेचको छ
पैसा हुनेहरुले
किन्न अनेक सक्छन्
म पनि कमाउँदै छु
अलि धनि भए पछि
सम्झदा पीडा होइन
आनन्द मात्रै आउने
दुःख होइन सुखैसुख मात्र फिल्टर गर्ने
दुनियाँका तिखा बचनले घाउ नबनाउने
मन किन्न चाहन्छु
कतै छ त्यस्तो मन ?