एसियाका महिला समस्याको पहिचान गरी समाधान गर्न प्रयासरत छु
जुनु गुरूङ
मार्च आठलाई विश्वभरीका महिलाहरुले नारी दिबसका रुपमा मनाउँछन् । ब्यस्तताको बाबजुद पनि दक्षिण कोरियाका नेपाली महिला दिदीबहिनीहरुले पनि यो दिवस मनाउँदै आएका छन् । यो कार्य हामी महिलाहरुको साझा संस्था उमन फर उमनले आफ्नो स्थापना काल देखि सुरु गरेको हो । यो बर्ष आउने आईतबार मार्च ११ मा सबैको फुर्सतको समयलाई मिलाएर यो दिवस मनाउने तयारीमा छौ ।
यसरी हामीले महिला दिबस मनाउदै गर्दा नेपालको कर्णालीका गाउँमा बस्ने महिला देखि सहर बजार हुँदै इन्डिया र खाडी मुलुकमा बस्ने दिदीबहिनीका सुखदुख सम्झनु पर्छ । नेपालको कर्णालीका महिला एउटा सिटामोल खान नपाएर आफ्नो अमुल्य जीवन गुमाइ रहेका छन् । त्यस्तै छ सुदुर पश्चिममा छाउपडीका दुःख ।
तराईमा कमैयाको जीवन जिउँदै गरेका दिदी बहिनीका दुःखका पहाड पनि कम छैनन् । कतै बोक्सी निहँुमा दिसापिसाब खुउँदै गाउँ निकाला गर्ने कतै ज्यानै गुमाउने पनि महिलाहरु नै छन् । महिनावारी हुदा परिवारबाट टाढा राख्ने, पतिलाई सौभाग्य ठानेर सधै पुज्नु पर्ने चलन पनि दिदी बहिनीको दैनिकीका रुपमा चलि आएकै छ ।
कति ठाउँमा कलिलै उमेरमा बिवहा गरेर उमेरै नपुगी बच्चा जन्माएर ज्यान गुमाउने महिलाहरुको संख्या पनि ठूलो छ । यस्ता समस्या स्वदेशका भए, बिभिन्न प्रलोभनमा परि बिदेसमा पुगेका दिदी बहिनीका आफ्नै कथा छन । जापान, कोरिया र अन्य खाडी मुलुकहरूमा भाषा, संस्कृति र जीवनशैली नमिले पनि बिहे गरेर आउँदा पिडित बनेका घटनाहरुका समाचार पनि दिन दिनै सुनिने गरेकै हुन ।
महिलाहरू पढेलेखेका भएपनि पुरानो संस्कारमै हुर्किएको कारण फराकिलो सोचमा कमी हुनु, बिदेशमा कमाएर परिवारको आर्थिक अबस्था सुधार गर्न हिडेका महिलाहरू लैङ्गिक हिंसामा लाग्ने, बिधवाले सेतो लुगा लाउनु पर्ने, दाइजो ल्याउन नसक्दा घर निकाला हुनु पर्ने, छोरी भएको थाहा पाए पछि गर्भ तुहाउने चलन आजसम्म जस्ताको तस्तै छ । हुन त शैक्षिक र सामाजिक क्षेत्रमा मात्र हैन राजनैतिक क्षेत्रमा महिलाहरूको संख्यात्मक बृद्धि भए पनि नेतृत्व तहमा पुग्ने महिला औलामा गन्न सकिन्छ । तर जबसम्म घर देखि नै छोरा छोरीको भेदभाब अन्त्य हुदैन तबसम्म देशले बिकासको फड्को मार्न सक्दैन ।
अहिले सरकारले सामाजिक र राजनैतिक क्षेत्रमा केही महिला आरक्षणको पनि ब्यबस्था गरेको छ । त्यसको लागि महिलालाइ ससक्त बनाउदै उनीहरुको गुणस्तर बढाउने कार्यक्रम ल्याउन सके झन राम्रो हुन्थ्यो । बिकसित देसमा महिला रानी, राष्ट्रपति, प्रधानमन्त्री भएका अनेक उदाहरण छन । हाम्रो पनि केही पदमा महिलाहरु पुगे पनि समग्रमा नेपालको महिलाहरुको अबस्था सुधार भैसकेको भन्ने अबस्था छैन ।
अरु देश मा जस्तै कोरियामा पनि नेपाली दिदी बहिनी आइपुगेका छन । बिद्यार्थी, व्यापार ब्यबसाय भन्दा धेरै कामदारको रुपमा यहाँ छन् । केही दिदी बहिनी कोरियन बुहारी बनेर पनि कोरियामा छन् । यसरी कोरियामा रहेका दिदी बहिनीका समस्या अनेक छन् । कहिले कम्पनीका कहिले कोरियन श्रीमानका । यस्ता समस्यामा परेका दिदी बहिनीका लागि नै हामीले उमन फर उमेन भन्ने संस्था खोलेका छौ । जहाँ दुःख परेका दिदी बहिनी आएर सेल्टर बस्न सक्छन् ।
मैले यस संस्थामा अध्यक्ष भएर कोरियामा दुःख परेका दिदी बहिनीलाई थोरै भए पनि सरसहयोग गरेको छु । केही दिदी बहिनीलाई उद्दार गरेको छु । यस्ता कामको कदर स्वरुप कोरियान सरकारले “मानार्थ सिटिजन”बाट सम्मान पनि गर्यो । म अहिले एनआरएन आईसिसिको महिला उपसंयोजक तथा एसिया क्षेत्रको महिला प्रमुख छु । एसियाका महिलाहरूको समस्याको बारेमा बुझ्ने, छलफल गर्ने र समाधान निकाल्न हामी प्रयास गरिरहेका छौ । एसिया स्तरको नेतृत्वमा बसेर काम गर्दा एसिया भरीका महिला हिंसा मुक्त समाज होस भन्ने चाहान्छु । मैले जाने र बुझेसम्म विश्वलाई नै महिला हिंसा मुक्त समाज बनाउन आफ्नो तर्फबाट लागि पर्ने छु । महिला हक हित र अधिकारको लागि महिलाहरुको एकता अझ मजबुत बनाउन लम्की रहनेछु । विश्व भरि रहेका दिदी बिहनीलाई अन्तराष्ट्रिय महिला दिवसको शुभकामना ।
(लेखक एनआरएन आईसिसिको महिला उपसंयोजक तथा उमन फर उमन दक्षिण कोरियाका संरक्षक हुन् । )