कोरियामा महिला कामदारको अवस्था
मञ्जु गुरुङ
सोल,
नेपालमा तालिम सहित व्युटी पार्लर चलाएर बसेका मासिक ३५ हजार कमाई गरिरहेका महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउदै छिन् । कैची र कपाल मुसार्ने सुकिला हातहरु अहिले सागको फेद नाप्न तल्लिन छन् । तर उनको अहिले मासिक कमाई भने रु. एक लाखभन्दा बढी हुन्छ ।
इपिएस मार्फत कोरिया आउने भिषा लागेपछि राम्रै चलेको पार्लर बेचेर कोरिया आए उनी । ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टीकको फिनेल हाउसभित्र पसिनाले आखा विजाउदा, टुक्रुक्क बसेर खुट्टा सार्दै, निहुरिएर कुप्री पर्दै साग टिप्दा , “किन आएछु नि कोरिया ”भन्ने भावना मनमा उब्जीन्छ । तर बैंक खातामा तलब देखेपछि त्यो मनमा मलहम लागे झै हुन्छ । यसो गर्ने उसो गर्ने भन्ने योजना बुन्नतिर लाग्छ मन, यस्तै अनुभुति सुनाउछिन उनी ।
सागबारीमा भन्दा अलिक सजिलो हुने सुनेपछि काम परिवर्तन गरी च्याउ हाउसमा पुग्दा चिसोले पिनास र टन्सीलको शिकार हुनुपरेको अर्को महिलाको अनुभव छ । थरी थरीको च्याउ खेतीगरिने कोरियामा समस्या पनि थरी थरीकै छन् उनीहरुको । कही दिनभरी एकहोरो च्याउका जरा काटेका– काटै गर्दा नाडी सुन्निएर हैरान । कही च्याउले भरिएका बक्सा उचाल्ने र राख्ने गर्दा–गर्दै पाखुरा सुन्निएर हैरान । कतै सिन्का जस्ता त कतै छाता जस्ता च्याउ टिप्नलाई पनि त्यतिकै सकस, भाचिएला की भन्ने डर अनि छिटो छिटो गर्नुपर्ने अडर सुनाउछीन महिलाहरु ।
सुन्दा सजिलो लाग्छ टमाटर टिप्ने । तर ५ फिटभन्दा अग्ला थागं्रामा फलेका टमाटरलाई टिप्न सानो मोटरको प्रयोग गर्नुपर्ने हुन्छ । यसो दाया वाया फर्किदा सानो सुरिलो अग्लो मोटर पल्टिनेपो होकी डर छ अर्की महिलालाई । नेपालमा प्रयोग विहिन सिलमको पात टिप्ने काम छ कोरियामा । झट्ट सुन्दा अनौठो लागेपनि नेपालबाट यही कामको लागि साहुले भिषा लगाइदिएको हुुन्छ । पात टिप्दा बोट लाछिनु भएन, भाचिनु भएन, अनि पातको साइज अनुसार मिलाएर प्याकिङ गर्नुपर्छ । दिनभरीमा साहुले भने अनुसारको प्याकिङ नपुगे अप्रिय कामदार ठहरिन्छ ।
कांक्रा र फर्सी बरीमा काम गर्ने प्रमिलाको अनुभव फरक छ । साहु साहुनी अत्यन्तै मायालु र तलब पनि भनेजति पाए पनि कांक्रा र फर्सीको झुसले एलर्जी भएर छालामै समस्या देखिएपछि काम छाडेर निस्कनु परेको तितो अनुभव छ उनीसंग । फाफ्रिका अर्थात भेडे खुर्सानीमा कामगर्र्दा दिनभरी बोटलाई माथि उठाउदै डोरीले कस्दा औलाहरु सुनिएर महिना नपुगी काम छाड्नु परेको सुनाउछिन अर्की महिला ।
महिलाले गर्ने धैरै जसो काम
कृषी भिषामा कोरिया आएका महिलाहरुले गर्ने कामहरु मध्ये केही उदाहरणहरु हुन माथिका । विषेश गरी कृषी भिषामा आएका महिलाहरु खेतबारीमा खेती गरिने हरिया तरकारी ,फलफुल, जडीबुट्टी तथा कुखुरा , बंगुर र गाई फार्ममा काम गर्ने गर्छन् । कोरियनहरुले खाने ( विषेश गरी मासुलाई पोको पारेर काचै खाने सागहरु ) धेरै प्रकारका सागको खेती गर्छन् । धेरै जसो सागको खेती जमिनमै गरे पनि मिनारी नामक साग भने पानिमा गरिन्छ । पानीमा काट्ने काम पुरुषले गरेपनि त्यसको प्याकिङ गर्ने काम महिलाहरुले गर्ने गर्छन् । कोरियनहरुले हरियो सागपात धेरै खाने भएकाले खेतीपनि धेरै गरिन्छ । त्यस्तै गरी स्ट्रबेरी, स्याउ जस्ता फलफुल खेतीमा काम गर्ने महिलाहरुको संख्या पनि धेरै छन् ।
उत्पादन क्षेत्रमा काम गर्ने महिलाहरु प्लाष्टिक, फलाम र सिसा, काष्ठ उद्योग, छापाखाना , खाद्यान्न र विभन्न सामग्री उत्पादनलगायत कम्पनीमा काम र्गछन् । दिन रात प्लास्टीकको धुलो , फलाम र विभिन्न केमिकलसंग खेल्नु उनीहरुको दैनिकी बन्छ ।
काममा जोखिम र असर
कोरियामा धेरै प्रकारका च्याउको खेतीगरिने भएकाले धेरै नेपाली महिलाहरुले कामगर्ने थलो च्याउ खेती पनि एक हो । साह ुअनुसारको आफ्नै नियम हुन्छ । छोटो समयमै च्याउ बढ्ने र त्यही बेला नटिपे विग्रने भएकाले पनि साझ विहान रात केही नभनी काम गर्नुपर्ने हुन्छ । कतै तातो र चिसो तापक्रम र विभिन्न औषधीको प्रयोग गरिने र निहुरिएर कामगर्नु पर्ने भएकाले विषेश गरी ढाड दुख्ने, टाउको दुख्ने जस्ता विभिन्न स्वस्थ्य समस्या देखिने गर्छ । बंगुर फर्ममा काम गर्ने कल्पनाको बंगुरको खुट्टाले लागेर खुट्टा नै घाइते भएपछि लामो समय अस्पतालमा बस्नु परेको थियो ।
त्यस्तै उत्पादनमूलक क्षेत्रमा काम गर्न आउने महिलाहरु पनि त्यतिकै जोखिम मोलेर काम गरिरहेका हुन्छन् । धेरै जसो महिलाहरु पाट पुर्जा बनाउने कम्पनीमा काम गर्न रुचाउछन् । खाद्यान्न कम्पनीमा काम गर्दा तातो पानिमा खुट्टा डुबेर औषधी गर्नु परेको अुनभव मायाको छ । कोरिया आएको चार महिनामा मै कुखुराको मासु सम्बन्धी कम्पनीमा मेसिनमा चेपिएर गोर्खाकी र्सिजना पन्थीको ज्यानगायो ।
उत्पादन क्षेत्रमा काम गर्ने महिलाहरु धेरै जसो मेसिनसंग ताल मेल मिलाएर काम गर्नुृपर्ने हुन्छ । छिटो र सतर्क भएर काम गर्नु यो क्षेत्रको मुख्य चुनौती हो । फलामको धुलो र विभिन्न कडा केमिकलसंग काम गर्नु अर्को जोखिम हो । त्यसैगरी लगातार १२ घण्टा अनिवार्य जस्तै हो भने १६ घण्टासम्म कामगर्नु पर्ने हुन्छ । अझ दैनिक र साप्ताहिक दिनमा र रातमा कामगर्नु पर्दा स्वस्थ्यमा पर्ने असर अर्को जोखिम हुन् ।
त्यसैगरी जहाज बनाउने कम्पनीमा तलब बढी पाउने लोभले केही महिलाहरु खोजी खोजी जाने गर्छन् । मासिक तलब नै अरु ठाउ“मा भन्दा केही बढी हुन्छ भने एक वर्ष काम गरेपछि मासिक ६ लाखवन (रु.६० हजार जति ) बोनसको रुपमा थपदिने भएकाले पनि महिलाहरु बढी आकर्षित हुने गर्छन । तर काम भने अत्यन्तै जोखिम हुने गर्छ । किनकी त्या“हा गरिने काम पानीजहाजमा रंग लगाउने हो । टन्टलापुर घाममा अग्लो ठूलो जाहजमाथि बसेर कडा केमिकल रहित रंग लागउनु दैनिक काम हो ।
शरिरमा सुरक्षित कपडा र मुखमा बाक्लो मास्क लगाए पनि केमिकलको गन्धले विभिन्न रोगको शिकार बनाउछ । सन्तान बनाउने शक्तीमा कमी गराउछ । त्यतिमात्र हैन एक वर्षसम्म लगातार काम गरेपछि मानसिक समस्या देखिएका केही महिला विचैमा नेपाल फर्केको संगै कामगर्ने अमृता बताउछिन् । अमृता भन्छिन विवाह नगरेका युवतिहरुले यहा“ काम गर्नै हुदैन उनको सन्तान बनाउने क्षमता पुरै हराउछ ।
समस्या
कृषी क्षेत्रका धेरै जसो कामदारलाई साहुले सम्झौतापत्रमा उल्लेख गरे अनुसराको काम नदिने । समयमा तलब नदिने, ओभर टाइमको पैसा नदिने , काम शुरु गर्दा भनिए अुनसरको छुट्टी नदिने, यदीकाम छैन भने अरुको बारीमा काम गर्न लगाउने जस्ता गुनासाहरु आउने गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको भनाइ रहेको छ । महिला कामदारहरु यौन हिंसाको शिकार पनि हुने गरेको राई थप्छन् । कोरियामा प्रवासी मजदुरहरु बारे गत वर्ष गरिएको एक अध्ययनले कृषी क्षेत्रमा समयमा तलब नदिने समस्या ८४ प्रतिशत देखिएको छ । त्यसैगरी सम्झौताको उल्लघन गरी जबरजस्ती काम लगाउनेमा ५८ प्रतिशत देखिएको छ ।
नेपालीहरुको बैदेशिक रोजगारीको एक मुख्यआकर्षण गन्तब्य बनेको दक्षिण कोरियामा हालसम्म करिब ३ हजार नेपाली महिलाहरु काम गरिरहेका श्रम सहचारी डिल्लीराम बास्तोलाको अनुमान छ । कृषी भिषामा आएका धेरै जासो महिलाहरु दुर्गम क्षेत्रमा कृषी र पशुपालनमा काम गर्ने भएकाले साहुबाट रुखो र अभद्र व्यवहार हुने गुनासाहरु आउने गरेको उनले थपे । नेपालमा आफ्ना सन्तान र पारिवारीक आर्थिक अवस्थालाई सुधार्न दक्षिण कोरियामा महिलाहरु यस्तै कडा परीश्रम गर्न बाध्य छन् । विभिन्न मानसिक तनाब र दुख सहेरै भए पनि महिलाहरु कोरियामा आफ्ना सपनाहरु पुरा गर्न तल्लिन छन् ।