ट्रिपल डिग्री होल्डर नेपाली बेलायतमा रोधीघर चलाउदै
फडिन्द्र भट्टराई
लन्डन – गोरखाका गणेश गुरुङले बेलायत आउनु पूर्व नै नेपालबाटै एमबिए र कानुनमा एल एलबी सिध्याएका हुन्। सन् २००६ को बेलायत आगमनपछि लिड्स युनिभर्सिटीबाट एमएससीसमेत गरिसकेका उनी बेलायतमा बिगत पाँच वर्षदेखी नेपाली रोधीघर रेस्टुरेण्ट सञ्चालन गर्दै आएका छन्। गुरुङले नेपालीहरुको बाक्लो वस्ती रहेको लन्डन नजिकैको शहर अल्डर्शटमा आफ्ना साथीहरूको सहयोगमा निरमाया रोधीघर सफल सञ्चालनमा ल्याएका छन्। स्टेजको लाईट बल्नासाथ भाद्गाउँले कालो टोपी र स्टकोटमा सजिएका एक अधबैसे कलाकारले ‘नमस्ते म गणेश गुरुङ’ भन्दै ग्राहकहरुलाई स्वागत गरे। गाउने र चलाउनेको नाम त जुधे छनि भन्दा सञ्चालक गणेशले त्यसलाई संयोगको मात्र भएको बताए। ‘उहाँको घर पनि गोर्खा नै हो, राम्रो गाउनुहुन्छ’, भन्दै गर्दा नेपाली गुन्यो चोलीमा पहेलो पोते लर्काएका दुई महिलाहरू पनि स्टेजमै झुल्किए। उहाँहरू महिला कलाकार दुर्गा परियार, नीता पुन भनेर परिचय दिनासाथ गीत सुरू भईहाल्यो,‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, ….।’ एक पछी अर्को दोहोरी र लोक गीत गाउने क्रममै कलाकर कै रूपमा गायक बद्रि केसी पनि प्रस्तुति सँगै झुल्की राखे | ‘म आफै पनि सानैदेखि गाउने बजाउनेमा रूचि राख्ने मान्छे परेँ’, तपाईँ यतिका पढेको मान्छेलाई यो रोधीघर तर्फ किन लाग्नु भयो भन्ने जिज्ञासा भुईमा खस्न नपाउँदै उनी आफैंले कुराको पोको खोल्न थाले।
लिड्स युनिभर्सिटिको पढाइ सकेपछि केहि समय सम्बन्धित फिल्डको काम पनि गरे, तर यस्तो रोधीघरको परिकल्पना भने मनमा पहिलै बसिसकेको थियो, बिदेशमा रहेको अर्को नेपाली पुस्ता माझ नेपाली संस्कृतिको जगेर्नाको साथ साथै व्यावसायिकता पनि हुने त्यसैले हेर्नुहोस् …’ उनले थप्दै गए। ‘एउटा म्यानेजमेन्ट कन्सल्टेन्सीसँग पनि आवद्द छु, तर आफ्नै टाईम म्यानेजमेन्ट गर्न हम्मे हम्मे छ’, रेस्टुरेण्टका अलावा आफ्नै म्यानेजमेन्ट कन्सल्टेन्सी कम्पनीसमेत चलाउँदै आएका गुरुङसँग हामी गफगाफ मै थियौ। ‘कुनैपनि कामलाई सानो र ठूलोको दर्जामा राखेर हेरिनु हुँदैन, मान्छेले त्यसबाट दिन सक्ने आउटकमलाई हेर्नुपर्छ, खास गरेर नेपालमा त्यस्तो प्रवृति अलि बढी छ’, नेपालमा सडक विभागको रातिमा सडक सफा गर्नेदेखि नर्वेजियन एम्बेसीमा प्रोजेक्ट कोअर्डीनेटरसम्मको कामको अनुभव बटुलेका गुरुङ कामकै सवालमा भन्छन्।
नेपाली लाहुरेको बाहुल्यता रहेको क्षेत्रमा रहेको निरमाया रोधीघरले नयाँ र पुरानो पुस्ताको दुवै खाले ग्राहकको औधि माया पाएको छ। नेपाल बाहिर हरेक साँझ नेपाली कलाकारहरुले दैनिक प्रस्तुति दिने रोधीघरको रूपमा स्थापित यो एउटा मात्र नेपाली रेस्टुरेन्ट हो। नेपालबाट बेलायत कार्यक्रम लिएर आउने चर्चित कलाकारहरुले पनि निरमायाका ग्राहकको लागि आफ्नो कला पस्किने गर्छन | नेपालवाट कलाकार ल्याउन पाउने बिशेष लाइसेन्स मार्फत आधा दर्जनभन्दा बढी कलाकारहरू वर्क परमिटमा ल्याइसकेको बताउँछन् रेस्टुरेण्टका सञ्चालक गणेश गुरुङ।
गीत संगीतको साथसाथै मःमः, साँधेको भटमास, सुकुटी, छोईला सेकुवा जस्ता टिपिकल नेपाली स्न्याक्ससहित दाल भात तरकारीका दर्जनौ परिकार ग्राहक सामु पस्किनु पनि निरमाया रोधीघरको एउटा मूल बिशेषता ठान्छन् यसका पारखीहरू। ‘स्टेजमा हुने एकपछि अर्को प्रस्तुतिसँगै ग्राहकहरु अलि अलि तात्तिदै पनि जान्छन्, पारिवारिक वातावरणको बिचमा दिईने मनोरञ्जनको कुशल व्यस्थापन समग्रमा यसको चुनौती हो’ कतै नेपालमा जस्तो रेस्टुरेन्टमा झैँ झगडा त हुँदैन भन्ने सवालमा गुरुङ भन्छन, ‘अहिलेसम्म त्यस्तो ठूलो समस्या केहि परेको छैन।’ साँझ ढल्किदै जाँदा स्टेजमा छरिता गीतहरुले प्राथमिकता पाइरहेका थिए। स्टेज अगाडि नाच्नको लागि खालि राखिएको ठाउँमा नाच्नेहरुको भीड बढ्दै थियो। कम्मर मर्काउनेहरुमा भर्खरका ठिटा ठिटीदेखी उमेरले नेटो काटेकै होकी जस्तो देखिनेहरु मनलाई बैसालु बनाउँदै गरेको देखियो ग्राहकको अनुरोधमै धेरैजसो नेपाली लोक गीत, अनि केहि आधुनिक र हिन्दी गीतहरु कलाकारबाट अन्त्यसम्मै गुन्जिरहे।
गीत-संगीतको गुन्जनसँगै गुरुङसँग गफिदै गर्दा हामी उनको सामाजिक योगदानको पाटो फुकाउँदै थियौं। समुदायको सेवामा सामाजिक रूपमासमेत राम्ररी सक्रिय रहेका गुरुङ वृद्ध गोर्खाहरूलाई अंग्रेजी पढाउनेदेखी बिभिन्न अवेरनेस प्रोग्राममा स्वयम् सेवा गर्ने गरेको बताउँछन्। रेस्टुरेण्टमै भूकम्प पीडितको लागि दानपात्रसमेत राखेका उनले गोर्खाको आफूले पढेको स्कुलको भूकम्प पछिको पुनर्स्थापनार्थ व्यक्तिगत रूपमा दुई लाख पचास हजार सहयोग गरेका छन्। च्यारिटेबल प्रोग्रामको लागि रेस्टुरेन्टमा पनि बिशेष छुटको व्यवस्था भएको बताउँने गुरुङ बाहिर गरिने सबैजसो प्रोग्रामको एउटा हिस्सा च्यारिटीलाई छुट्टयाउने बताउँछन्।
यसका अलावा नेपालबाट कलाकारहरू ल्याएर बिभिन्न कल्चरल प्रोग्रामहरुको आयोजना समेत गुरुङले गर्दै आएका छन्। च्यारिटेबल प्रोग्रामको लागि रेस्टुरेन्टमा पनि बिशेष छुटको व्यवस्था भएको बताउने गुरुङ बाहिर गरिने सबैजसो प्रोग्रामको एउटा हिस्सा च्यारिटीलाई छुट्टयाउछन्।
बेलायतमै बिरेन खडका,जीवन अधिकारीको समन्वयमा बिजिजे ग्रुप मार्फत नेपालमा भूकम्प आउनुपूर्व अन्जु पन्त लगायतका थुप्रै कलाकारहरु बोलाएर बेलायतका बिभिन्न शहरहरुमा कार्यक्रमहरु तय भई सकेका थिए। ‘कलाकारहरु आएपछि नेपालमा त्यस्तो विपद पर्यो, कार्यक्रम क्यान्सेल गर्नुभन्दा त्यसको आम्दानी भूकम्प पीडितलाई जाने गरी कार्यक्रम गरियो’, पछिल्लो अनुभव उनी सुनाउँछन्। यसबाट करिब साढे चार लाख रूपैया भूकम्प पीडितलाई हस्तान्तरण भैसकेको छ।
रेस्टुरेण्टमा मात्रै २७ जना नेपालीलाई रोजगारी दिएका गुरुङ सफलताको श्रेय भने परीवार र आफन्तलाई दिन्छन्। एउटा साधारण परिवारको चार भाई मध्येको जेठो सन्तानको रूपमा जन्मिएका उनका धेरै स्ट्रगलका कथा पनि छन्। सानोमै क्यान्सर पीडित बुवालाई गुमाएका गुरुङको थाप्लोमा जिम्मेवारीको बोझ कसरी बढ्यो निप्ट्याइयो भन्ने बताउँदा भने उनी निकै भावुक देखिए। दुर्गम गाउँका दुई गाविस काटेर एकतर्फी दुई घण्टा हिँडेर स्कुल पढेको कुरा उनको स्मरणबाट कहिल्लै नहराउने गरी गाञ्जिएको छ। स्कुलमा पटक पटक निदाउँदा पनि सरहरूले यो टाढाबाट आउँछ थाकेर हो भनेर सजाय नदिने गरेको प्रसंग रोचक रुपमा सुनाउँछन् उनी।
पल्टनमा भर्ती हुन नसकेर पढाईमा फर्किएका उनलाई लाहुरे हुनुको सट्टा पढाइ गर्न सक्नुमा भने गर्व नै लाग्छ। नेपालको सबै पढाई सकेर पनि लाहुरेको भन्दा थोरै तलव भन्ने गाउँलेहरुको तत्कालिन वाक्यांश भने उनलाई अझै पनि बिझाइ नै रहन्छ। रेस्टुरेण्टमा कलाकार नहुँदा ग्राहकको मनोरञ्जनका लागि आफै पनि गाउन बजाउन पछि नपर्ने गुरुङ बोलिचालीमा पनि उत्तिकै फरासिला छन्। नेपालको गोर्खा थोप्राक घर हुने गुरुङका आमा र भाईहरु नेपालमै छन् भने बेलायतमा उनी एक छोरी र श्रीमती को साथमा बस्छन्।