लुगा, पार्टी र भाषण
मिन्जाई राई
कविता/
आखिर के दिन चाहन्छन् नेताहरु हामीलाई ?
– उपदेश
– भाषण
– सपना
वा भर्खरै वाक्य फुट्दै गरेको
केटाकेटीहरुको आवाज,
म निस्शब्द भए भगवान् !
पार लगाइदेऊ ।
“लाइफ इज नट अ ड्रेस रिहर्सल ”
अर्थात्, “जीवन लुगा लगाउने पूर्वाभ्यास होइन ” !
वाह ! क्या बात छ त्यो महावाणी बोल्ने ओठ,
लाग्छ ऊ – नेता होइन बुद्ध हो ।
लाग्छ ऊ – प्रचण्ड होइन मार्क्स हो ।
र त टासीदिन्छन् हाम्रो कान-कानमा
केहि थान अमरवाणीहरु
र त सुनाइ हिड्छन् हाम्रो आखा-आखामा
केहि थान डाइलगहरु
वैतरणी तरेर काठ्माण्डौ झरेजस्तै
हाम्रो आस्था भत्काएर
कुनै लाइभ साँगीतिक प्रोग्राममा
नतर्कीले लुगा फेरेभन्दा,
उम्दा –
मिलिक्कै फेरिदिन्छन् पार्टी
भनू- हुन्छन् गतिशील नेताजी !
अब त अवाक्क भैयो ठूल्दाजु !
र मन लागेकोछ भन्न –
तिम्रो कार्ल मार्क्स तिमी आफै जतन गरेर राख,
मेरो बुद्द मेरै आत्माभित्र विराजमान छ,
तिमीले चिनाएको मार्क्स मेरो होइन रहेछ –
बल्ल थाहा पाए
रिसानी माफ पाऊ !
मेरो बुद्द त्यो हो –
जो तिम्रो व्यबस्था बिरुद्द बोल्न भित्रैदेखि धकेल्छ ।
मेरो मार्क्स त्यो हो –
जो वृद्द – भत्ता थापेर तिमीलाई बारम्बार,
आखा चिम्लेर हरेक निर्वाचनमा
स्वस्तिक छाप गर्व साथ धस्काइ रहेछन्
बिचरा लाहा- छाप बाजेहरू !
तर म यो युगको युवा,
नठान्नू –
– ट्यापे
– झ्यापे
– वीराकाजी
– बमकाजीहरु
यो त तिमीहरुकै ब्राण्डेड लोकल उत्पादन हो,
जुन तिमीहरुकै एरियामा खपत हुन्छ
दशैँको भेडा- बाख्रा र बोकाहरुजस्तै
र यो विन्दुमा आइपुगेर –
तिमी पनि पदको बोका भैसक्यो दाजै
बिडम्बना मलाई विदेश लखेट्यौ ।
हिजो तिम्रो ढलेको शीर उठाएर
सस्कार निभाए,
बोल्न सकिन केहि
अब त अत्ति भो दाजै !
साँझले मिर्मिरे टेक्यो
दिउसै रात नपार
जून तारा नझार
सपनामै त हामीलाई पनि बोल्न आउछ
तिम्रो जस्तै मिठा – मिठा बातहरु
दुध, चिनी र चियाका स्वादहरू
रातो- रातो आखा पारेर
तातो- तातो खुन उमालेर
सोध्न मन लाग्यो –
यहा सपनामा उडिहिड्ने ल्वाठहरु
र तिमीहरुमा के फरक छ ?
उदयपुर , हाल दक्षिण कोरिया