मजदुर
ढुङ्गा जस्तै मन भएको साहु
मान्छेलाई होइन मेसिनलाई माया गर्ने हाकिम
र पनि ऊ आफ्नो संसारमा मस्त छ ।
आउँदै सुक्दै गरेको पसिनाका डोबहरु
मेसिन सफा गर्दा गर्दा मैलिएका लुगाहरु
निरन्तर बितिरहने समयको चिन्ह देखाइ रहन्छ
चाउरिएको निधार र फुल्दै गरेको कपाल ।
न उसले संसार जित्ने ठूला किताबका ‘थ्योरी’हरु पढ्यो
न संसारमा भएका भिन्न भिन्न बादहरु
न उसले कहिल्यै पढ्यो रंगीन शब्दमा लेखिएका मजदुरका उपन्यासहरु
न यी सबै नगरेकोमा गुनासो नै छ ।
गर्मीले धपक्कै बलेको बेलामा पसिनाले भिज्दा पनि
जाडोमा आफ्नै परेलामा हिउँ जमेको बेलामा पनि
पसिना पुछ्ने समय छैन परेलामा जमेका हिउ पुछ्ने समय छैन
किनभने हात चलाउनु छ जसरी चल्छ मेसिनको ‘स्पिड’ ।
पानी रसाउने छाप्रोमा बसेर पनि आलिसान महल बनाइ रहन्छ
खाली पेटमै भए पनि दिन भरि खाना बनाउन सक्छ
आफ्नो हातमा ठेला उठाएरै भए पनि चिल्ला सडक बनाउन सक्छ ।
ताली कहिल्यै नखाए पनि दुनियाँका गाली खानु पर्छ
किनभने ऊ मजदुर हो ।