नार्गजुन गुम्बाको १० औ बार्षिकोत्सब विश्व शान्तिको कामना गर्दै पुजापाठ
सउलको नागार्जुन गुम्बाले बुद्धजयन्ती तथा गुम्बाको १० औँ बार्षिकोत्सब आइतबार मनाएको छ । कार्यक्रममा दक्षिण कोरियामा रहेका दर्जन बढि लामागुरुहरुले पुजापाठ गरेका थिए ।
‘यो पुजापाठ विश्व शान्तिको लागि हो । २५६२ औँ बुद्ध जयन्ती र हाम्रो गुम्बाको स्थापना भएको पनि १० बर्ष पुरा भयो । त्यसैले पनि यो कार्यक्रम विशेष भएको छ ।’ नार्गजुन गुम्बाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामाले भने । ‘हामीले गर्ने पुजापाठ विश्वका सबै जीवित प्राणीका कल्याणको लागि हो ।’ उनले थपे ।
कार्यक्रममा कोरियन प्राचिन बौद्ध परम्परामा आधारित थेफ्यङ मु र सोगो नृत्य पनि प्रस्तुत गरिएको थियो । यी नृत्यहरु विश्व शान्ति र संबृद्धिको कामना गर्दै देखाइने चलन छ ।
पुजापाठ कार्यक्रम दुद्जुम उर्गेन दाङगक छ्योईलिङ मोनाष्ट्रीका प्रमुख लामा खेन्पो तेन्जिन ल्हुन्डुप प्रमुख आथित्यमा सम्पन्न भएको थियो । उनले बुद्ध बचन र बौद्ध संस्कृतिका बारेमा प्रवचन दिएका थिए ।
कार्यक्रममा केही कोरियन र दक्षिण कोरियामा रहेका नेपालीको बाक्लो उपस्थिती थियो ।