दोङदेमुनको माया मार्टले गर्यो लमजुङ एफसीको जर्सी प्रायोजन
दक्षिण कोरियामा रहेको लमजुङ जिल्लाको फुटबल क्लब लमजुङ एफसीको जर्सी माया मार्टले प्रायोजन गरेको छ । शनिबार माया मार्टमै एक कार्यक्रम आयोजना गरि लमजुङ एफसीले सो कुराको जानकारी गराएको हो ।
हवाई टिकेट, खाद्य सामाग्री र लत्ताकपडाहरुको ब्यबसाय गर्दै आएको मार्टले दक्षिण कोरियाको ब्यस्त समयबाट खेल क्षेत्रमा प्रतिबद्ध लमजुङ एफसीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएको छ । ‘पछिल्लो समय नेपालीहरु रोजगारीको लागि कोरिया आउने क्रमसँगै खेलकुद क्षेत्रमा नेपालीहरुको स्वतस्फूर्त र उल्लासमय सहभागिता भएको देख्दा खुशी लागेको छ । हामी पनि यो शुभकार्यमा सहभागी बनेका छौ । यो एक खालको गर्ब गर्ने पक्ष हो ।’ मार्टका संचालक भीम गुरुङले भने ।
दक्षिण कोरियामा माया मार्टले झै अन्य व्यावसायी, समाजसेवीले फुटबल क्लबहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गरि रहेकोले दक्षिण कोरियामा रहेका नेपालीबीच फुटबल लोकप्रिय भएको लमजुङ एफसिका खेल संयोजक जित गुरुङको अनुभब छ ।’ यस्ता सहयोगले खेलाडीहरुमा थप हौसला र उर्जा मिल्छ । दक्षिण कोरियाको फुटबल क्षेत्रमा रचनात्मक सन्देश पनि गएको छ । यसबाट हामी उत्साहित छौ ।’ उनले भने ।
लमजुङ एफसीले दक्षिण कोरियाको नेपालीहरुबीच चर्चित राजदुत कप तीन पटक जितेको छ भने अन्य प्रतियोगिताहरुमा पनि सहभागिता जनाएको छ । कार्यक्रममा लमजुङ एफसीका म्यानेजर कृष्ण गुरुङ, क्याप्टेन रमेश गुरुङ लगाएत खेलाडीहरु उपस्थित थिए ।