इन्द्रेणी गीत
कविता,
बर्षौंदेखि तिम्रो इतिहासले–
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँयुगको फापरे व्हाई
यसको मतलब यो हैन कि–
मैले मादलको ताल बिगारें
मादललाई त
लाउँदै मायाको खरी
पागलप्रेमीले झैं
भिर्दै आएकै हुँ– दिलको कम्मरमा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की
हो मित्र,
बर्षौंदेखि तिम्रो इतिहासले
बिस्मृतिको बरण्डामा बाँधी राखेको
आखे म्हेम्हेको उही पुरानो टुङना बजाउँदै
गाएकै हुँ मैले
नयाँयुगको म्हेन्दोमाया
यसको मतलब यो हैन कि–
मैले सितारको धुन बिगारें
सितारलाई त
झनतन्काउँदै प्रणय तार
पागलप्रेमीले झैं
राख्दै आएकै हुँ– मनको देब्रे कुनामा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो वसन्त बन्दना
बरु कुनै समय,
सहगोत्री सहनाई र सारंगीलाई
मिल्काएर ढोकाबाहिरतिमीले
बनाइ दिएका थियौ अछुत
र, निदाएका थियौ लामो समय तिमी
घमण्डको राजपलङ
दुखाएर मुर्चुङगा, ढोल, डम्फु र बाँसुरीमन
जुनदिनदेखि तिमी निदायौ त्यसरी
त्यही दिनदेखि,
–कमजोर बनेको हो हाम्रो आँगनको चिरबिरलय
–सुश्क सुनिएको हो स्वाभिमानी सारंगी
–रुन थालेको हो सहगोत्री सहनाई
हो, त्यहीदिनदेखि नै
बज्न थालेको हो हाम्रो आँगनमा
आतंकको डरलाग्दो ड्रमसेट
सुनिन थालेको हो चारैतिरबाट
एकसरो एकसरो अहंमको आलाप
हो मित्र,
बर्षौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उहीप्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँयुगको विहानी गीत
तिमीले सदियौंदेखि गाउँदै आएको
एकसरो गीतमा
मात्र मैले,
चाहेको हुँ थप्न एउटा रंगीनलय
जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी
जसरी सप्तक–स्वरमा गुन्जिन्छ संगीत
त्यसरी नै गाउन चाहेको हुँ
मैले पनि समयको
एउटा इन्द्रेणी गीत
००००