चर्चा कमाउन कोरियामा कमाएको पैसा खर्च
खल्ति रितो हुँदा मनमा भएको शोख भए पनि मनमै रहन्छ । अलि कति खल्ति गरम भए पछिका कुरा अर्कै भैहाल्यो ।
दक्षिण कोरियामा काम गरेर अलि अलि खल्ति गरम भएका मान्छेका कुरा हुन् । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर भन्दिन । यो तिम्रै कथा हो । मलाई पनि वालमतलब ।
गायक भएका छन् । मेरो नयाँ गीत लाईक गर्दिनु रे । बिहान बिहानै आर्लराम बज्नु पहिले म्यासेन्जरको टिङटिङ घन्टि बज्छ । साथीको गीत सुन्दिनु पर्यो । यसो बजायो । गीत सुनेर आफैलाई लाज लागेर पानी पानी हुन्छु । धत स्वर । गायककै धज्जी उडाउने । तनाब हुन्छ । स्वरमा न दम छ न शब्दमा । बिहान बिहान दिन खराब हुन्छ भनेर देखाएको जस्तो । मर्निङ शोज द डे भन्छन् अंग्रेजहरु । गीत गाउन पैसाले मात्रै पुग्दैन । स्वर राम्रो हुनु पर्छ । साथीको स्वर बाँदरलाई गाली गर्दा पनि बाँदरले तेरो भन्दा त मेरै स्वर राम्रो भन्ला जस्तो छ । के गर्नु अब लाईक नै गर्दिनु रे । अझ कस्तो छ सल्लाह सुझाब दिनु रे । अझ बढेर शेयर गर्दिनु रे । थुक्क लाज नभएको ।
मनले त भन्छ अर्को पटक नयाँ गीत भनेर पठाइस भने तेरो दाँत गन्दिन्छु । तेरो र मेरो पानी बाराबार । त्यसो भनि हाल्दिन साथी हो जे भए पनि हुन्छ ठीकै छ मेहनत गर । मनको रिस थामेर भन्नु पर्यो ।
कुनै दिन थियो । गीत गाउन रेडियो नेपालमा स्वर परिक्षण गर्नु पथ्र्यो । स्वर राम्रो भएका मात्रै पास हुन्थे । गीत गाउँथे । सुन्नेलाई कम्तिमा लाज लाग्ने दिन थिएन । आजभोली पैसा अलि कति भयो । गायक । कम्तिमा अलि कति स्वर भएको मेहनत गरेर गाउने पो गायक । पैसाले गायकी किन्न सकिन्छ र ?
युट्युव फ्रिमा छदैछ । पैसा पनि कमाएकै छ । चर्चित हुन पर्यो । के गर्नु ? सजिलो काम गीतको मोडल बन्नु । नेपालमा चलेका गायक गायिकालाई हजुरको गीतमा हामी फ्रिमा म्युजिक भिडियो बनाइ दिन्छौ भन्यो । बिचरा गायक गायिका कसरी गीतको भिडियो बनाउनु भनेर बसेको बेलामा फ्रिमा भने पछि हुन्छ भन्नै पर्यो । त्यो पनि बिदेशमा ।
म्युजिक भिडियो बनेको हेर्यो । न त क्यामरा वर्क राम्रो छ न मोडल । हास्न खोजेको हो कि रुन खोजेको । अनुहारको भाब सुरु देखि गीत नसकेसम्म जस्ताको तस्तै छ । खुशीमा पनि दुःख पनि । कसैले बन्दुक देखाएर गीतमा अभिनय गर्न लाए जस्तो । डराको डराकै छ । क्यामरालाई नै बन्दुक सम्झेको हो कि ? अनुहारमा दम छैन । हेर्दै पैसा खर्च गरेर बनेको मुर्गा मोडल जस्तो ।
मुर्गा मोडल बन्न केही चाहिदैन । भने जस्तो पैसा खर्च गरे पुग्छ । कति भन्छ पैसा दियो मोडल बन्यो । उचाई भन्दा ठूलो पेट भए पनि नो टेन्सन । होचा पुड्का भए प्नि नो टेन्सन् । पैसा भए मोडल पक्का । गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तो । साथी भन्छ यो पहिलो प्रयास हो त्यति राम्रो भएन । तैपनि अर्कोमा म राम्रो गर्ने ट्राई गर्छु । यत्रो बेईज्जेत भैसक्यो अझै अर्को ।
चलचित्र, गीतसंगीतको दुनियाँ बाहिरबाट हेर्दा रंगीन देखिन्छ । एक दुई जनाले चर्चा पनि पाएकै छन् । आफु पनि त्यस्तो बन्छु भनेर पैसा खर्च गर्नेहरु धेरै छन् । आफैसँग प्रतिभा भएर खर्च नभएकाको त ठीकै हो दुईचार पैसा खर्च गरेर आफ्नो प्रतिभा देखाउनु । एक अनाको पनि प्रतिभा नभएकोले पैसाकै भरमा चर्चित हुन्छु भन्नेलाई के भन्नु ? भीरमा लड्नेलाई काँध कस्ले हाल्न सक्छ र ?
कोरियामा संघसंस्था खोल्न केही चाहिदैन । साहित्यका संघसंस्था पनि टोलटोलका छन् । एउटाले नेपालको एउटा क्षेत्रलाई आधार बनाएर नाम राख्यो भने अर्कोले पुरै नेपाललाई झन अर्कोले त विश्वलाई नै । हैट साहित्यका सामान्य कुरा थाहा नभकाले पनि एकल कबिता कन्सर्ट गरेका छन् । कन्सर्ट गर्नेले नै सोजु किनेर दस पन्ध्र जना दर्शक स्रोता जम्मा गरेका छन् । ती थोरै कबिता सुन्न आका हुन् र फ्रिमा सोजु पिउन पो आका त । त्यसैले साथीको कविता त्यस्तै हो सोजुमा ध्यान छ । एकै छिनमा सोजुले समात्दै गए पछि कहिल्यै कुनै कविताको साइनो नभएकाको पनि दिमागमा कविता फुरि हाल्छ । एकै छिनमा एकल कविता सन्सर्टमा कवि नै कवि । अनि कस्को कुरा कस्ले सुन्ने ?
पैसा खर्चेर पत्रकार, गीतकार, संगीतकार,कलाकार बन्नेहरु पनि छन् । समाजसेवी त भैहाल्ने नै भयो । अरु पनि धेरै होलान् कोरियामा । आफुले जाने बुझेको क्षेत्रमा खर्च गरेर केही गर्छु भन्नु त ठीकै हो । जान्दै नजानेको, हुँदै नहुने क्षेत्रमा गरेको लगानी बालुवामा पानी त हो । बुझेको राम्रै हो । यति सम्म पढेको भए तैले चाहि लेखेर के नापिस भन्ने छुट छ । यति चाहि भनि हालौ म पैसा खर्चिएर नत पत्रकार भएको हुँ न लेखक ।