एनसीसीको अधिवेशनलाई लिएर यति धेरै हल्ला किन ?
निश्चल काउचा
आउदो २८ तारिखमा हुन् गइरहेको एनसीसीको अधिवेशनलाई लिएर कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अनेक टिका टिप्पणी गरेको सुनिन्छ | कसैले मर्सको कारण देखाउदै अधिवेशन रोक्नु पर्छ भन्दै छन् | कसैले २८ तारिखमा नै हुनु पर्छ भन्दै छन् |
एउटा संस्थाको अधिवेशन हुन् लाग्दा किन यति ठुलो हल्ला मच्चाउनु पर्यो | हामी कोरिया काम गर्न आएका हौ भन्ने पक्ष पनि भुल्नु हुदैन | संस्था खोलेर एक जुट भएर कसैलाई गाह्रो – साह्रो पर्दा सहयोग गर्नु पक्कै पनि राम्रो काम हो तर कुनै पनि संस्था खोल्नुको उदेश्य के हो ? समाजसेवा गर्ने उदेश्य हो कि राजनीति गर्ने अखडा बनाउने उदेश्य हो | हामी प्रष्ट हुन् जरुरी छ | हामी नेपालीहरु कुनै पनि कुरामा चाहिने भन्दा बदि चासो दिने गर्छौ | एनसीसी अधिवेशनको हकमा पनि त्यहि भएको हो |
यहाँ कस्तो प्रवृति देखिदै छ भने विभिन्न संघ संस्थाले गर्ने कार्यक्रममा अतिथिको रुपमा छातीमा ब्याच टासेर बस्न पाए ठुलो मान्छे भएको अनुभव गर्दै डिच्च हास्न पाए पुग्यो | भुकम्प पिडितको नाममा कोरियामा रहेका दर्जनौ संघ सस्थाले पैसा उठाएको देखियो तर धेरै संघ संस्थाले कति पैसा उठाए र को मार्फत भुकम्प पिडितलाइ दिए भन्ने कुरा अहिलेसम्म सुन्न र देख्न पाईएको छैन | सहयोग उठाए पछि कति उठ्यो र कहाँ वितरण गरियो भनेर सार्वजनिक गर्नु पर्छ कि पर्दैन ?
कोरियामा एनसीसीको ईतिहास पुरानो रहेको कुरा नौलो रहेन | दुतावास कोरिया नआउदासम्म एनसीसीले नै दुतावासको काम गर्थ्यो | दुतावास आए पछि एनसीसी ओझेल पर्दै गयो | २००७ मा ईपिएस प्रणाली लागु भए पछि कोरिया आउने नेपालीको संख्या ह्वात्तै बदयो | नेपालीको संख्यासंगै विभिन्न संघ संस्थाहरु खोलिदै गए |
एनसीसीले आफुलाई सम्पूर्ण संघ संस्थाको आफुलाई छाता ठान्दै आईरहेको छ | सलनाल र चुसकमा हुने कार्यक्रमको बाडफाड पनि गर्दै आएको छ तर पछिल्ला वर्षका सलनाल र चुसकमा एनसीसीले छनौट गरेर संस्थाले बाहेक अर्को संस्थाले पनि जुदाउदै कार्यक्रम हुने गरेको छ | अझ केही संघ संस्थाहरुले हामीले एनसीसीलाइ छाता मान्न तयार छैनौ भनेको सुन्दै पनि आएकै हो |
उसो त पछिल्लो चरणमा कोरिया आएर आत्महत्या गर्ने नेपालीको संख्या पनि बददो छ | के कारण बददै छ भनेर कुनै पनि संघ संस्थाले चासो देखाएको देखिएन | अहिले कोरिया २८ हजार भन्दा बदि ईपिएस मार्फत आएका मजदुरहरु छन् | कोरियामा खुलेको संघ संस्थाले मजदुरको हक हित लागि पनि काम गर्ने होकी आफ्नै दुनो सोझ्याउने मात्र काम गर्ने हो ?
एनसीसीको अधिवेशनलाई लिएर यति धेरै टिका टिप्पणी गर्नुको म कुनै तुक देख्दिन किनकी म कोरिया आएको ३ वर्ष भर्खर पुग्यो | गत राष्ट्रपतिको चुनाव हुदा म यहि काम गर्दै थिए | त्यति ठुलो राष्ट्रपतिको चुनाव हुदासम्म हामीसंग काम गर्ने कुनै पनि कोरियन एक अर्का बिच यसलाई भोट हाल्नु पर्छ त्यसलाई भोट हाल्नु पर्छ भनेको पनि सुनिएन | चुनावको दिन आयो चुपचाप भोट हाल्न गए | पार्क ग्युन ह्येले जितिन | न कुनै कोरियन खुशी भएको देखे न कुनैलाइ दु:खी भएको देखे | चुनाव सकियो सबैले उही रफ्तारमा काममा लागे |
हामी नेपालीको जहाँ गए पनि राजनीति गर्ने बानि चाहि नजाने नै हो त ? हामी १२/ १४ घण्टा दिन रात नभनी काम गर्छौ | काम गरेर बचेको समयमा बल्ल अरु काममा समय दिने हो | पक्कै पनि हामीहरु कुनै संघ संस्था लाग्नुको उदेश्य समाज सेवा गर्छु भनेर नै हो र हुनु पर्छ | यदि कोहि कसै राजनीति गर्ने उदेश्यका साथ संघ संस्थामा लागेका छन् भने हामीलाई त्यस्ता फोहोरी राजनीति गर्ने नेतृत्व चाहिएको छैन | कोरिया रहेका हामी २८ हजार मजदुरलाई हाम्रो हक अधिकारको पक्षमा लडने नेतृत्व चाहिएको छ |