मरेको मन
जानै मन थिएन । साथीभाइ र घर परिवारको किचकिच खप्नै नसकेर उठ्ने बितिक्कै नयाँ बानेश्वरबाट पुरानो बानेश्वर हुँदै पशुपति तिर लागि । विहान विहानै मान्छेहरु मर्निङ वाकमा दौडिएका छन् । गृहणीहरु कोही तरकारी किन्न दौडिएका छन् कोही किनेर फर्किएका छन् । बानेश्वर चोकको तरकारी पसलमा मान्छेका भिड छन् । सवारी साधनको चाप पनि उस्तै छ तर काफियालाई ती मान्छेका हल्लाले छोएन । मोटर गाडीका हर्नले पनि छोएन ।
श्रवण महिनाको पशुपति मन्दिर । भीडभाड छ । आज काफियालाई मन्दिर परिसर पनि नौलो लागेकोे छ । मान्छेहरु सबै नयाँ झै । मन्दिरमा बजेको घन्टिको आवाज पनि नौलो लाग्यो । मन्दिर परिसरकै सानो पसलबाट पुजाको सामान किनिन् ।
मन्दिरबाट फर्किनेहरु युवायुवतीहरु पनि छन् । हातमा हात समाएर हिडिरहेका छन् । एउटी भरखरकी युवतीले आफ्नो प्रेमिसंग मोबाइलमा कुरा गर्दैछे । मानौ यो सबै संवाद काफियाकै लागि हो । नसम्झउँ भन्दा भन्दै मन न सम्झिन्छिन आफ्नो निर्दयी प्रेमी दिपलाई ।
प्रेममा राम्रै राम्रो हुन्न । झन धोकेबाजहरुको के कुरा गर्नु ? मन मान्दैन । यो अस्थिर मनलाई न्याय कताबाट पाउनु ? भगवानको पालामा नै शंकाको भरमा नारीलाई अग्नि परिक्षण गरिन्थ्यो रे अनि मान्छेको पालाका के कुरा गर्नु ? हाम्रै समाज हो पति निधन कै कारण भरखरकै खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरमै जिउँदै जल्नु पर्ने । कहाँ छ र नारीलाई न्याय ?
पोहोर सालको साउने ब्रतमा काफिया पनि अरु जस्तै खुसी थिइन । मन्दिर दर्शन गर्न जाँदा मनमा उत्साहथ्यो । जिन्दगीलाई जित्छु भन्ने विश्वासथ्यो । अहिले हातमै बोकेको पुजा समान, धूप बत्ती, भगवान, दर्शन, ब्रत सबै झुठो लाग्न थालेको छ । मान्छेलाई बाहेक प्रकृति र प्राकृतिक जीवहरुमा बिश्वास लाग्न थालेको छ ।
अघिल्लो साल तेलमा चोबेर बालेको मायाको दियो निर्दयी दिपले दिभाइ दिएको छ । निष्ठुरी बनेर अरु सँगै सायद यो बर्ष हात समतेर मन्दिर धाउँदै छ कि ? अरुले काफिया राम्रै देखे पनि उनी भने आफैमा पलपल मरेकी छे । हुन पनि त हो जिवित प्राणीले आफू बाच्न र बचाउनको लागि श्रम र संघर्ष गर्नु कुनै अनौठो कुरा त होइन जसले श्रम, संघर्स गर्छ त्यो गरे बापत सन्तुष्ट हुन्छ भने वास्तवमा नै ऊ खुशी हो । दुखी त त्यो हो जसको दिल टुटेको हुन्छ । चित्त दुखेको हुन्छ अब उसलाई भौतिक खुशीले अलिकति पनि छुन सक्दैन सिर्फ बाचेको हुन्छ । बाचिरहेको हुन्छ ।