मुगुवा सपना
गाउँमा छँदा रेलका कथा धेरै सुनिएकै हो । छुकछुक छुकछुक गरेर हिड्छ रे । लामो न लामो । टाउको एक कोष पर पुग्दा बल्ल पुच्छर आउँछ रे । एउटै रेलमा धनि मान्छे चढ्न राम्रो ठाउँ गरिब चढ्ने अलि नराम्रो हुन्छ रे । खाने बस्ने सुत्ने सबै हुने अरु त अरु ट्वाइलेट पनि त्यही हुने रे । वा सुन्दै कति रमाइलो । कस्तो हुँदो होला ? हेर्ने मन भए पनि कहाँ पाउनु ?
घाँस काट्दा एउटा किरा हुन्थ्यो । शरीर लामो अनि खुट्टै खुट्ट भएको । किरा जब हिड्थ्यो खुट्टाको ताल यस्तो हुन्थ्यो कि अगाडि भागको खुट्टा चल्दै पछिल्लो भाग सम्म पुग्थ्यो । एक खालको रिदम उत्पन्न भएकै लाग्थ्यो । किराको नाम थाहा थिएन । मलाई लाग्थ्यो रेल यस्तै हुन्छ । जीउ भरि खुट्टै खुट्टा अर्थात चक्का । किराले झै अघिल्तिर चक्का चले पछि पछिल्तरको पनि चल्छ । किराको झै रिदममा खरर । किरा जस्तो रेलमा मान्छे चढ्दा हुन् । अनि गुड्दो हो छुकछुके रेल ।
कति कक्षामा हुँदा हो नेपालमा पनि रेल भएको कुरा पढियो । जनकपुरबाट भारतको जयनगरसम्म जान्छ रे । मलाई लाग्थ्यो तराईका मान्छे भाग्यमानी । तिनकै ठाउँमा रेल चल्ने, तिनकैमा आँप, केरा फल्ने । ती मान्छेहरु रेल माथि चढ्दा हुन् आँप खाँदा हुन् उपरखुट्टि लगाएर । हामी गाउँबाट शहर जानु परे गाडीको छतमा बसेर उसिनेको आलु पलेटीकसेर बसेर खाइन्थ्यो ।
…………………………..
दक्षिण कोरिया आए पछि धेरै कुरा देखियो । भोगियो । कोरियन जीवनशैलीका अचम्म लाग्ने तौर तरिका देखिए । सिलामको पात पनि खाइयो । किरा फट्याङ्ग्रा पनि खाइयो । कुनै मिठा जस्ता थिए । कुनै कोरियनले त कपाकप खाएका छन् भनेर पनि खाइयो । सबै भन्दा मनको कुरा कथामा सुनिएको किताबमा पढिएको रेल चढियो ।
छल्लानाम्दो नाजुबाट योङसान जानु पर्ने । नाजु स्टेशनमा रेलको बारेमा सोधियो । कुन रेलमा जाने ? छिटो हतार छ भने धेरै पैसा तिर्ने छिटो जाने । केटीएक्स भन्ने रेल छ । ठीकै पैसा तिरे ठीकै समयमा पुगिने रेल पनि छ आइटिएक्स । सबै भन्दा सस्तो बिस्तारै जाने रेल छ मुगुवा । अब छिटो गएर के गर्नु छ र ? यही मुगुवा चढ्नु पर्यो ।
सबै भन्दा सस्तो टिकट काटियो । जता पनि पैसाकै कमाल । नेपाल हुँदा त एउटै रेलमा दुई थरिका पैसाका कुरा सुनिएको । यता त रेलै थरि थरिका छन् ।
नजिकबाट देखे पनि चढिएको थिएन । रेल चढ्न जाने अन्डरग्राउन्ड बाटो छ । अन्डरग्राउन्ड छिर्नु पहिले तंपाईले टिकट काटेर मात्रै यता आउनु भयो भन्नेमा हामी ढुक्क छौ भन्ने अंगेजी र कोरियनमा लेखिएको वाक्य छन् । दुई मिनेटको बाटोमा राम्रा राम्रा नाजु शहरका गुनगान लेखिएका पोस्टर र फोटाहरु छन् ।
नाजु चर्चित नासपातीको लागि रे । पुरै शहरको लोगो नासपातीको छ । धान पनि फल्छ रे । उनीहरु नाजुलाई ल्यान्ड आफ राइस पनि भन्छन् । आफ्नो काम भने गन्हाउने माछा होङको कम्पनीमा छ ।
पहाड छेडेर बनाइएको रेलको बाटो छ । गाउँमै हुदा सुनेको रेल सम्मो ठाउँमा मात्र गुड्छ भनेको सत्य रहेछ क्यारे । रेल कुरेको कुरेकै छौ । कोरियनमा रेल आउँदै गरेको एनाउन्स भो । मनमा डर र उत्साह आए जस्तो भो । प्लेन चढ्ने बेला जस्तो ।
नभन्दै फुत्त पहाडको फेदबाट रेल निक्लियो । मेरो कल्पनाको किरा रेल । किराको झै धेरै खुट्टा चाहि देखिएन । टिकट अनुसारको डिब्बामा भएको सिटमा मान्छेहरु चढे । म पनि चढेँ । मुगुवा रेलको बाहिर रुपमा राम्रो छैन । भित्र सिटहरु राम्रै छन् ।
मान्छे खासै धेरै छैनन् । आधा भन्दा बढि सिट खाली छ । टिकटमा लेखिएकै सिटमा गएर बसेको छु । मनमा रमाइलो लागेको जस्तो छ । रेल चल्यो । मन पनि चल्यो । सक्ला सक्ला फाँट देखिए । खेती सिकानी गर्न बनाइएका प्लास्टिकका टनेलहरु देखिए । थरि थरि नामका कम्पनीहरु, अग्ला घरहरु फेरि पहाड छिचोल्दै बनेका सुरुङहरु । आउँदै जाँदै गरि रहे ।
……………………
म बौद्ध देखि स्वयाम्भु जान ठीक्क परेको रहेछु । आठ बजे र पाँच मिनेटमा रेल आउँदै छ रे । म स्टेशनको पुग्न लागेको रहेछु । त्यो स्टेशन त ठ्याक्कै नाजुको स्टेशन जस्तो । अरे कता पुगेछु जस्तो लाग्दो रहेछ । टिकट काट्ने सबै नेपाली भए पछि भने मलाई नेपाल नै लाग्ने रहेछ । टिकट काट्नेले रेल आइपुग्ने समय भैसक्यो । छिटो जानुस भन्ने रहेछ । स्टेशनको गेटमा पुग्दा नपुग्दै रेल छुट्ने रहेछ ।
जिन्दगीमा के कुराको ठेगान हुन्छ र ? हिजो कोरियामा नआउँदा रेलकै सपना देख्ने म अहिले रेलमै सपना देखि रहेको छु ।