दक्षिण कोरियामा कमाइ उत्पादमुलक क्षेत्रमा लागानी गर्नुस : कांग्रेस नेता प्रदीप पौडेल
नेपाली काग्रेसका युवा नेता प्रदीप पौडेलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन । दक्षिण कोरियाको राजधानी सउलमा आइतबार भएको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
पौडेलले जनतालाई सरकारले नागरिकता मात्र दिएर राज्यको दायित्व पुरा नहुने बताए । ‘ जनतालाई गुणस्तरीय शिक्षा, राम्रो उपचारको व्यवस्था पनि हुनु पर्छ । दक्षिण कोरियाको कामदारको जीवनशैली खाडीको भन्दा राम्रो भएको साथै नेपाली यहाँ आउँदा जिटुजी सम्झौता मार्फत आएकोले सजिलो छ । अब अरु देशमा पनि कोरियाकै शैलीमा विदेश पठाउनु पर्छ । यसरी आफ्नो कमाइ देशमा पठाउने नेपालीलाई मतदान गर्ने अधिकार दिनु पर्छ ।’ उनले भने ।
अर्का कांग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले अहिलेको सरकारले संविधानलाई एक पछि अर्को गर्दै मिच्दै गएको बताएका छन । उनले देश विकासमा निजी क्षेत्रलाई अगाडि ल्याउनु राम्रो भएको भन्दै कांग्रेसले सरकारी कम्पनीहरु बन्द नगरेको नभई देशले घाटा व्यहोरिरहेको कम्पनी निजीकरण गरेको प्रष्ट बताए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले राजनीतिमा लागेका युवाहरु मिलेर किन काम गर्न नसकेको भनि प्रतिप्रश्न गरे । अर्का वक्ता जन प्रगतिशिल मञ्च कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका समेत निभाउन नसकेको बताए । उनले प्रतिपक्षलाई राम्रो काममा सहयोग गर्न र नराम्रो काममा विरोध गर्न सुझाव दिए । कोरियाको प्रसंग झिक्दै मगरले यहाँको राजदुत राजनीतिक कार्यक्रममा नआउनु राम्रो नभएको बताए । राजदुतलाई कसैलाई काखा कसैलाई पाखा गर्न हुँदैन । राजनीतिक नियुक्तिमा राजदुत बन्न हुनेले राजनीतिक कार्यक्रममा भाग लिन किन नहुने ? उनले प्रश्न गरे ।
संघिय समाजबादी फोरमका उपाध्यक्ष धिरज(डिवि)गुरुङले जनजाती र मधेश आन्दोलनले उठाएका मागहरुलाई संघियता मार्फत स्थापित गरिएको बताए । संघियताले पिछडिएको वर्ग र उत्पीडनमा परेको व्यक्तिलाई न्याय दिनुपर्ने धारण राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्की, एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ, एनसीसी कोरियाका उपाध्यक्ष श्री श्रेष्ठ, जनजाती महासंघ कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकाली, एनआरएन एसिया प्यासिफिक महिला सह संयोजक जुनु गुरुङले आआफ्नो धारणा राखेका थिए ।