बा को टोपी
भीम एस.तामाङ्ग (बाबु साईला)
सानै थिंए
टाउको पनि सानै थियो
रहरै त हो एकदिन
टाउको भन्दा साविक ठुलो
बाको टोपी लगाएं
आंखा र कान छोपिएर
नाकको डिलछेऊ टोपी आईपुग्दा
ह्वास्स गन्हायो
अनि कतै मिल्काईदिंए
किन किन मलाई त्यो गन्ध
फिटिक्कै मन परेको थिएन
आज धेरै पछाडि
यो उखरमाउलो गर्मीसंगै
कतै बिरानो देशमा
श्रम खेप्दै पसिना बगाईरहंदा
आफ्नै टोपीले पसिना पुछें
उहि गन्ध महशुस भो
अनि सम्झिंए बा को टोपी
अहो,त्यो टोपी भित्र
कति कथाहरु थिए होलान्
सन्तान हुर्काउनका लागि
शायद बा ले त्यो टोपीमै
रगत र पसिना बगाएर
कति हिऊद र बर्खा बिताए होलान्
ऊफ्
अहिले जब बुझ्ने भए
न त बा रहनु भो न बा को टोपी नै
रह्यो त केवल उहि धुमिलो याद
पसीनाको सुगन्ध बनेर..
(संसारका महान बा हरु प्रति समर्पित)