बाकसको मान्छे
सेप्टेमवर ६ को विहानै नचिनेको नम्बरबाट फोन आयो ।
‘बिद्या जी होइन?’
‘हजुर, को बोल्नु भको ?’
‘म ओमप्रकाश । थारुकल्याणकारी सभा (थाकस)को बरिष्ठ सल्लाहकार । भाइलाई एउटा दुखद् घटना थाहा भयो होला ।’
’काहाँ कसलाइ के भयो दाइ’ ? पहिलो चोटी कुरा गरिरहेको मान्छे । दुखद घटना भन्छ । म अतालिएर सोधेँ । मनमा डर पलायो ।
‘अस्ति कैलालीको प्रमोद चौधरीको छुङछङनाम्दो कम्पनीको आफ्नै कोठामा सुतिरहेको अबस्थामा मृत्युु भयो नि !’ उनले घटना सुनाए ।
‘हजुर समाचार पढ्याथे ।’ मैले भने ।
‘विदेशमा केही कमाउछु र परिवारलाई सुखले पल्छु भनेर आयो तर आज मृत्युलाई अंगाले । अब हामीले मृतक परिवारलाई केही आर्थिक संकलन गरेर सहयोग गर्नु पर्छ । थारु कल्याणकारी सभाले पनि यसमा सहयोग गर्नु पर्छ ।’ उनले थारु कल्याणकारी सभाका कुरा जोडे ।
‘मेैले चिनेको सबै साथीहरुलाई भनि सकेको छु तपाई पनि आफ्नोे कम्पनी र चिनेको साथिभाइलाई अभियनमा संगलग्न गराउनुस ।’ फोनमा उनले थपे ।
मैले सक्ने सहयोग तत्कालै भनिदिएँ । साथीभाइलाई पनि भन्छु भने । उनी त्यतिमै रोकिएनन् । ‘दक्षिण कोरियाभरि छरिएर रहेको थारुहरुको लागि थाकस दक्षिण कोरिया संगठित छ । संस्थाको उदेश्य परदेशमा भैपरि आउने समस्यामा सहयोग गर्नु हो । हामी मिलेरै त हो केही गर्न सकिने । होइन भाइ ?’
कोरियामा मात्र होइन हामीले नेपालमा पनि क्यानसर रोग लागेकालाई सहयोग गरेका छौ । दुबै मृगौलाले काम नगरेर उपचार खर्च गर्न नसक्नेलाई सहयोग गरेका छौ । दैबिप्रकोपका पिडितहरुलाई आर्थिक सहयोग गरेका उदाहरण पनि दिए ।
मैले काममा जानको लागि कुरा टुङग्याउनु खोजेँ । तर उनको कुरा सकिएकै थिएन ।
‘आउने छुसकमा सबैको एकै चोटि छुट्टि हुन्छ सबै थारु साथीहरु भेटौ । सुख दुःखका गफ गरौला । अनि संगै खाना खाउँला । थाकसका भाबि योजनामा छलफल गरौला ।’ यति लामो कुरा भए पछि उनले फोन राखे ।
…………………………………………..
ओमप्रकाशसँग कुरा भएको दुई दिन पछि । चिनेकै साथीको नम्बरबाट फोन आयो ।
‘बिद्या जी’ अतालिएको आवाज आयो ।
‘हजुर के भयो किन अतालिनु भाको ?’ भनेर सोधे ।
‘हाम्रो पर्साका थाकसका बरिष्ट सल्लाहकारको सडक दुरघट्नामा परि भखरै बित्नु भयो ।’
‘हजुर कोहो रे ?’
‘ओमप्रकाश ।’
अघि साथीले केके भने । राम्ररी बुझिन र सुनिन पनि । दुई दिन अघि अर्कोलाई सहयोग गरौ । भन्ने मान्छे अहिले आफै मरे भन्दा कसरी पत्याउने । अस्ति मात्रै त सामाजमा कसरी सहयोग गर्न सकिन्छ भनेर योजना बनाउँदै गरेको मान्छे । यस्तो पनि हुन्छ ? म आफैलाई विस्वास फोनका कुरा विस्वासै लाग्दैनन् । मृतक प्रमोदको लागि आर्थिक संकलन अभियान चलाउँ, छुसकमा भेटौ, संगै खाना खाँउ भनेको कुरा फेरी मनमा ताजा भो ।
जिन्दगी दुई दिनको त्यस्सै भनिएको होइन जस्तो लाग्यो । यी सबै कुरा मैले के भन्नु ?
शनिबारको ड्युटि सकेर बेलुकी साइकलमा नजिकैको मार्टमा गएका रे । पछाडिबाट गाडीले ठक्कर दियो रे । गम्भीर घाइते भएका उनलाई तत्काल स्थानिय हस्पताल लागियो रे । निको हुने छाँट नदेखेपछि हेलिकप्टरबाट सुवनको आजुमेडिकल कलेजमा ल्याएको रे । आजु पुर्याएको केही समय पछि मृत घोषणा गरियो रे । साथीले के के भन्यो मैले थप सुनिन ।
…………………………………………
सेप्टेम्बर १५ बेलुकी ७ बजे तिर फोन आयो । नेपालबाट रहेछ ।
‘तपाईंहरु सबैलाई धेरै धन्यबाद । दाइकोे लास आज नेपाल आइपुग्यो । लास पठाउनु सहयोग गर्नु हुने सबैलाई धन्यबाद । दुखद घडीमा सबैले सहयोग गर्नु भो । हामी आभारी छौ ।’ मृतकका भाइको फोन रहेछ ।
‘तँपाई अहिले कता ?’ मैले सोध्न मन नलागि नलागि सोधेँ ।
‘हामी पशुपतिको आर्यघाटमा छौ दाइको अन्तिम संस्कार हुँदै छ । भतिजी सुकि सकेको गलावाट एकहोरो बाबा बाबा भनिरहेकी छे । भतिजाको आँसु रितिएको छ । भाउजु घरि बेहोस हुन्छिन घरि होस खुल्छ । हाम्रो ताल यस्तै छ । कमाउन गएको दाइ बाकसमा फर्किए पछि कता खुशी हुन्छ र ? ‘फोनमा पैसा सकिएछ जस्तो छ । कुरा पुरा नहुँदै काटिन्छ ।